दिलिप हत्या प्रकरणः एक क्रसर व्यवसायी पक्राउ

पुस २६, काठमाडौं । धनुषाको मिथिला नगरपालिका ५ श्रीपुरका २४ वर्षीय दिलिपकुमार महतो हत्या प्रकरणमा एक क्रसर व्यवसायी पक्राउ परेका छन् । 

घटनाको अनुसन्धानका लागि मिल्स एरियास्थित ससुराली घरबाट शनिबार बिहान क्रसर व्यवसायी विपिन महतोलाई नियन्त्रणमा लिइएको धनुषाका प्रहरी प्रमुख रमेश बस्नेतले जानकारी दिए ।    

धनुषाको मिथिला नगरपालिका–५ स्थित औरही खोलामा जथाभावी तरिकाले उत्खनन गरी बालुवा, गिट्टी झिक्ने अवैध कार्यलाई रोक्न खोज्दा शुक्रबार टिपरले किचेर दिलिपको हत्या गरिएको परिवारको आरोप थियो ।   

परिवारका सदस्यका अनुसार क्रसर व्यवसायी विपिन महतोले तीन दिन अगाडि दिलिपलाई हत्या गर्ने धम्की दिएका थिए । 

महतो शुक्रबार बिहान ४ बजे उत्खनन नगर्न आग्रह गर्दै खोलामा पुगेका थिए । त्यहीँ उनीमाथि ना७ख ६४१३ नम्बरको टिपरले आक्रमण गरेको र उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

भारतमा ईन्जिनियरिङ पढ्दै गरेका दिलिपले पहिलादेखि नै अवैध रुपमा हुँदै आएको खोला उत्खनननको विरोध गर्दै आएका थिए। सोही कारण क्रसर सञ्चालकले उनको नियोजित रुपमा हत्या गरेको स्थानीयले बताएका छन्। 

घटनाको विरोधमा हिजो शुक्रबार स्थानीयले मिथला नगरपालिकाको श्रीपुर स्थित रामलक्ष्मण चोकमा सडकमा टायर बालेर पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका थिए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *