वायुसेवा निगमका कार्यकारी अध्यक्षद्वारा राजीनामा, अस्ट्रेलिया जाँदै

माघ ५, काठमाडौं । नेपाल वायुसेवा निगममा प्रभावकारी काम गर्न नसकेपछि निगमका कार्यकारी अध्यक्ष मदन खरेलले पदबाट राजीनामा दिएका छन् । उनले आइतबार विहान पर्यटनमन्त्री योगेश भट्टराईसमक्ष राजीनामा बुझाए । 

खरेललाई प्रधानमन्त्री केपी शर्मा ओलीको जोडबलमा एक वर्ष अघि भदौं ३१ गते मन्त्रिपरिषद् बैठकबाट निगमको कार्यकारी अध्यक्षमा नियुक्त गरिएको थियो ।   

निगममा महाप्रवन्धक सुगतरत्न कंशाकार कार्यकारी भूमिका मै रहेका बेला खरेललाई निगम संहाल्न ल्याइएपनि उनले प्रभावकारी काम गर्न नसकेको आरोप थियो । त्यत्तिबेला निगम डुब्नुमा कंशाकारको प्रमुख भूमिका भनिएपनि खरेलको नियुक्तिले कंशाकारको कार्यकारी भूमिका खोसियो मात्रै उनी बाँकी रहेको ८ महिने कार्यकाल पुरा गरेर मात्र बाहिरिएका थिए । 

नियुक्ति गर्दा खरेललाई वायुसेवा निगमले भित्राएका दुई वाइडबडीसहित सबै जहाज पूर्ण क्षमतामा सञ्चालन गर्ने, व्यवसायिक योजना बनाएर त्यसको प्रभावकारी कार्यान्वयन गर्ने जिम्मेवारी दिइएको भएपनि उनले निगम भित्रको कर्मचारीतन्त्रको जडलाई चिर्न सकेनन् । खरेललाई निगम सुधारका लागि रणनीतिक साझेदार भित्र्याउन आधारभूत काम गर्नुपर्ने जिम्मेवारीसमेत थियो तर, उनी त्यसमा समेत असफल भए । 

खरेलले काम गर्न नसक्दा निगमलाई सुधार्ने अठोट लिएर आएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई पनि असहज भयो र, उनैले खरेललाई सरकारले दिएको लक्ष्यअनुसार काम गर्न, नसके पद छाड्न आग्रह गरे ।   

यसअघि २०७० साल जेठमा चार वर्षकालागि महाप्रवन्धक बनेका खरेल त्यत्तिबेला राम्रो काम गर्न नसकेरै राजीनामा दिएर गएका थिए । उनी आजै ड्रागन एयरबाट अस्ट्रेलिया जान लागेका छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *