कोरोना भाइरसः मृत्यु हुनेको संख्या ८१ पुग्यो
माघ १३, काठमाडौँ । चीनमा फैलिएको वुहान कोरोनोभाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ८१ पुगेको छ । सोमबार चिनियाँ अधिकारीहरुले दिएका जानकारी अनुसार चीनभरिमा जम्मा २७४४ जनामा संक्रमण फेला परेको छ ।
अहिलेसम्म झन्डै ३,००० जनामा उक्त भाइरसको सङ्क्रमण भएको पुष्टि भएको छ। चीनको सरकारी सञ्चारमाध्यमका अनुसार हुबेई प्रान्तमा ३०० सय जनाभन्दा धेरै मानिस सो भाइरसका कारण गम्भीर न्युमोनियाको सिकार भएका छन्।
अधिकारीहरूले उक्त प्रान्तमा ७६ जनाको मृत्यु भएको बताएका छन्। मृत्यु हुने अन्य चार व्यक्ति अरू स्थानका हुन्।
हुबेईको वुहानमा देखापरेको संक्रमणको गतिलाई रोक्न र सुस्त तुल्याउन पूरै क्षेत्रलाई ‘बन्द’ गरेका छन् । त्यहाँ जान र त्यहाँबाट बाहिर निस्कन निषेध गरिएको छ र त्यहाँका वासिन्दाहरुलाई घरभित्रै बस्न उर्दी नै जारी गरिएको छ । चीनका जनताका लागि सबैभन्दा दुर्भाग्यपूर्ण कुरा चाहिँ के भएको छ भने यो खतरनाक भाइरसको महामारी त्यो बेला देखापरेको छ, जुनबेला चिनियाँ जनताहरु नयाँ वर्ष मनाउने तयारी गरिरहेका थिए ।
सङ्क्रमणको केन्द्रमा रहेको उक्त प्रान्तको वुहानमा २,००० शय्याका दुईवटा अस्पतालको निर्माण हुँदैछ। स्वास्थ्यसेवाका पाँच लाख कर्मचारी उक्त भाइरसको रोकथाम, नियन्त्रण र उपचार गर्न परिचालित छन्। थप मास्क तथा सुरक्षित पोसाक बनाउन कारखानाहरूमा तीव्र गतिमा काम भइरहेको छ।
सरकारले कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न नयाँ वर्षको बिदा लम्ब्याउने घोषणा गरेको छ। जनवरी ३० सम्म रहेको चिनियाँ नयाँ वर्षको बिदा अब फेब्रुअरीको दोस्रो सातासम्म लम्ब्याइएको छ।
यसअघि अधिकारीहरूले सङ्क्रमण पहिलेभन्दा चाँडो फैलिरहेको चेतावनी दिएका थिए। लक्षण देखिनुअघि नै मानिसले यो सङ्क्रमण अरू मानिसमा सार्न सक्ने भएकाले यसलाई नियन्त्रण गर्न थप कठिन हुने बताइएको छ।