यसरी निभाइयाे दमकल छिर्न नसक्ने गल्लीभित्रकाे आगाे (१० तस्विर)

पुस २६, काठमाडौं । काठमाडौंबाट साइरन बजाउँदै आएका दमकल जनवहाल चोकमा रोकिए । त्यस चोकबाट करीब १०० मिटर भित्र अग्लो घरको चाैंथाे तलामा धुवाँ आइरहेको थियो ।   

अग्नि नियन्त्रकहरुले मांसगल्लीको मुखैमा छेउमा भएको फलामे पाइप (इनलेट) मा पाइप जोडे । त्यसपछि कुद्दै गएर अगाडि रहेको गल्लीमा भएको ड्राइराइजर (नियमित पानीको प्रेसर नभएको, दमकलको पानी राखेर प्रयोग गर्नुपर्ने ठाउँ) मा पाइप जोडे । यति गरेपछि दमकलमा भएको पानी १०० मिटर परको सानो चोकमा पुग्यो । उक्त पानीको प्रयोग गरेर उनीहरुले घरको चौथो तलामा लागेको आगो निभाए ।   

चौंथो तलामा आगोबाट घाइते भएका बिरामीलाई अग्नि नियन्त्रकहरुले उद्धार गरे । उद्धार गरिएका बिरामीलाई भुइँमा पुर्याएर प्राथमिक उपचार गरिएको थियो भने त्यसपछि स्टेचरमा राखेर चोकमा निकालियो । चोकमा एम्बुलेन्स तयार थिए । बिरामीलाई त्यही एम्बुलेन्समा राखेर थप उपचारका लागि अस्पताल पठाइएको थियो ।   

माथिका घटनाक्रम दमकल जान नसक्ने गल्लीमा सम्भावित आगलागी नियन्त्रणका लागि जडान गरिएका पाइप लाइनको परीक्षण हो । महानगरको वडा २५ मांस गल्ली केलटोलदेखि महाबौद्ध जाने गल्लीसम्म बिछ््याइएको ४ इञ्च फलामे पाइपबाट परीक्षण गरिएको हो । वडा २५ ले गरेको यो प्रयोगमा स्थानीयले बार्दली र छतबाट अवलोकन गरेका थिए । 

परीक्षणका क्रममा चोकबाट माथितिर पानी हानिएको थियो भने चाैंथो तलामै पाइप पुर्याएर पनि आगो नियन्त्रण गरिएको थियो ।करीब २०० मिटर लामो यस प्रणालीको बीचका ८ ठाउँमा ड्राइराइडर राखिएका छन् । आगलागीका समयमा आवश्यकताअनुसार उपयुक्त ड्राइराइडरमा आगो नियन्त्रणका समयमा प्रयोग हुने पाइप जोड्न सकिनेछ । 

  यो प्रणाली नेपाल रेडक्रस सोसाइटीको उत्थानशील नगर प्रबर्धन तथा सहभागिता कार्यक्रमको ५ लाख रुपैयाँ, वडा २५ को विपद् व्यवस्थापन तथा नागरिक सुरक्षा समितिबाट २ लाख रुपैयाँ, संघ संस्था र उपभोक्ताको २ लाख ४० हजार ६१२ रुपैयाँ गरी कुल ९ लाख ४० हजार ६१२ रुपैयाँमा केल मांसगल्ली उपभोक्ता समितिले जडान गरेको हो ।   

प्रयोग शुरुवात्मा महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले इनलेटको मुख खोलेका थिए । मेयर शाक्यसहित भित्रि वडाका वडाध्यक्षहरुले प्रयोगको अवलोकन गरेका थिए ।   

अग्नि नियन्त्रण पाइप लाइन प्रयोगको परीक्षणपछि आयोजना गरिएको कार्यक्रममा बोल्दै प्रमुख शाक्यले भने–‘विपद् क्षति न्युनीकरण र विपद् व्यवस्थापन महानगरको उच्च प्राथमिक काम हो । हामीले हरेक नगर सभामा यसका बारेमा गहन छालफल गर्छौं र आवश्यक नीति बनाउने गरेका छौं ।’ 

दमकल पुग्ने ठाउँ र दमकल पुग्न नसक्ने दुवै ठाउँको आगो नियन्त्रण गर्न छुट्टाछुट्टै नीति अन्तर्गत काम भइरहेको जानकारी दिँदै उनले थपे–‘हामीले दमकललाई नयाँसडकबाट विस्तार गरेर वडा ६ सम्म पुर्याएका छौं । अब केही दमकल खरिद गर्दैछौं भने बिरामीको बाटामा हुने मृत्युलाई घटाउन नेपाल एम्बुलेन्स सेवासँग सहकार्य गरेर आधुनिक एम्बुलेन्स सञ्चालन गरेका छौँ ।’ 

  

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *