मिसाइल प्रहारपछि इरान तल पर्यो : राष्ट्रपति ट्रम्प
पुष २४, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इराकस्थित अमेरिकी सैन्य आधार शिविरहरूमा मिसाइल प्रहार गरेपछि इरान तल परेको जस्तो देखिएको बताएका छन्।
ह्वाइट हाउसबाट टेलिभिजनमार्फत् सम्बोधन गर्दै ट्रम्पले इरानी आक्रमणमा अमेरिकी वा इराकी नागरिकहरूको मृत्यु नभएको र अमेरिकी सैन्य आधार शिविरहरूमा पनि खासै क्षति नभएको बताएका हुन्।
आफ्ना एकजना सैन्य जेनरलको हत्याको बदला लिन भन्दै इरानले बुधवार इराकस्थित अमेरिकी सैन्य आधार शिविरहरूमा क्षेप्यास्त्र प्रहार गरेको थियो।
इरानले इराकस्थित एर्बिल र अल असदमा रहेका त्यस्ता शिविरहरूमा क्षेप्यास्त्र प्रहार गरको बताइएको छ।
उक्त हमलालाई इरानका सर्वोच्च नेता आयातोल्लाह खामेनेईले अमेरिकाकी मुखमा हानिएको थप्पड भनेका थिए।
ट्रम्पले चाहिँ उक्त हमलाले इरान तल परेको र त्यो सबै सम्बन्धितहरूका लागि राम्रो भएको बताए।
यसैबीच अमेरिकी उपराष्ट्रपति माइक पेन्सले इरानी सैन्य जेनरल कासिम सुलेमानी मारिएपछि अब अमेरिकी नागरिकहरू सुरक्षित भएको बताएका छन्।
सीबीएस न्यूजसँगको एउटा अन्तर्वार्तामा उनले इरानले उसको मिलिसियालाई अमेरिकी लक्ष्य र उसका नागरिकमाथि हमला नगर्न भनेको गुप्तचरी सूचना अमेरिकाले पाएको थियो भनेका छन्।
त्यसको केही समयअघि अमेरिकी सेनाका प्रमुखले अहिले नै इरानले अमेरिकी स्वार्थमाथि थप हमला गर्छ कि गर्दैन भनेर बताउनु निकै हतार हुने बताएका थिए।
अमेरिकी सेनाका संयुक्त प्रमुख जेनरल मार्क मिलीले भनेका छन्बु, ‘बुधवार इरानले गरेको बलिस्टिक क्षेप्यास्त्र हमलाको उद्देश्य अमेरिकी नागरिकहरूलाई मार्नु, सैन्य उपकरणहरूमा क्षति पुर्याउनु र इराकस्थित अमेरिकी सैन्य आधार शिविरहरूमा नोक्सान गर्नु रहेको थियो।
तर अझै पनि व्यावसायिक गुप्तचरहरूले इरानको पूर्ण उद्देश्यबारे विश्लेषण गरिरहेको मिलीले बताए।
बीबीसीको सहयोगमा