आयात घट्दा राजस्व लक्ष्य नराम्ररी प्रभावित

माघ १, काठमाडौँ । बढी राजस्व असुल  हुने बस्तुकै आयात घट्दा सरकारको राजस्व लक्ष्य नराम्ररी प्रभावित भएको छ । 

लक्ष्यअनुरुप राजस्व उठ्न नसकेपछि अर्थमन्त्री स्वयंले सरकार आयातमुखी र राजस्वमुखी नभएको भन्दै निजी क्षेत्रको मनोबल बढाउने काममा प्रयत्नशील भएको अभिव्यक्ति दिन थालेका छन् । मन्त्रीकै निर्देशनमा अर्थ मन्त्रालय भने वैकल्पिक उपायको अवलम्बन गरेरै भए पनि राजस्व लक्ष्य भेटाउने कसरतमा जुटेको छ । 

मन्त्रालयका राजस्व महाशाखा प्रमुख धनीराम शर्माले लक्ष्य भेटिने गरी काम भइरहेको दाबी गरे । ‘आज ९मंगलबार० सबैभन्दा धेरै राजस्व असुली हुने भएकोले सबै तथ्यांक आइपुगेको छैन,’ उनले भने, ‘लक्ष्य भेटिनेमा हामी विश्वस्त छौं ।’ 

सरकारले यो अवधिमा ५ खर्ब ३७ अर्ब राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा मंगलबार साँझसम्म जम्मा ६ महिनामा ३ खर्ब ५० अर्ब रुपैयाँमात्र राजस्व संकलन गरेको छ । पुस मसान्तसम्मको राजस्व तथ्यांकले वर्षभरिको संकलनको तस्बिरसमेत देखाउने भएकाले समेत अर्थ मन्त्रालय राजस्व संकलनको लक्ष्य भेटाउने दबाबमा छ । 

महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकअनुसार सरकारले यो अवधिसम्म तीन वर्षयताकै न्यून अर्थात् ६ महिनामा जम्मा १३ प्रतिशतमात्र खर्च गरेको छ । विकास खर्चको कहालीलाग्दो अवस्था र भन्सार राजस्व न्यून हुँदा राजस्व असुली न्यून देखिएको विश्लेषकहरु बताउँछन् । 

यो समाचार आजको कारोबारमा छापिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *