मृत्युलाई जितेकी रोशनी भन्छिन्– मलाई दुख्दैन !

पुस २९, काठमाडौं । गएको कार्तिक १५ गतेका दिन बिहान ६५ वर्षीया रोइमति (रीमा) बइककी  नातिनी र बुहारी घाँस काट्न गएका थिए, वनतिर । घरधन्दा उनको भागमा ।   

नातिनी र बुहारी आउँदा तातै तिउन (तरकारी) खुवाउँछु भनेर बिहान १० बजेतिर खाना पकाएर साग टिप्न खेतमा पुगिन् । त्यहीबेलै छोरीको याद आयो । पोल्टामै थियो मोबाइल, फोन गरिन् ।   

नातिनीको अप्रेशन भयो ? कस्तो छ अहिले ?   

‘अप्रेशन गरेपनि केही हुँदैन रे ! खै के गर्ने, के गर्ने आमा !’   

कुमारी बइक घर्ती मगर (छोरी) ले अर्धश्वरमा रुँदै सुनाईन् । छोरीको काँपेको स्वर र रुवाईले रोइमतिको मन कुँडियो ! 

एक्ली छोरी । त्यो पनि बैंसमै यस्तो दुःख आइलाग्यो । कुमारीको जेठो ससुरा, जेठानी र मामा अस्पतालमा थिए, ढाडस दिन । माइतीमा बुवा, आमा, दाजु–भाउजु छन्, कोही आएनन् भन्दै छोरीले मन अमिलो पारी होली भन्ने लाग्यो रोइमतिलाई । मन यसैले खायो, कुटुकुटु । बेस्सरी रोइन् । त्यही  आँशुले काठमाडौंको बाटो तय गर्यो ।   

पकाउन त परै जाओस्, खाना समेत नखाई गाडी बुझ्न लगाइन् । यता नातिनीले कपडा पोको पारिदिइन् । नातिनीले पारेको पोको बोकेर कार्तिक १६ गते बिहान रोइमति काठमाडौंको टिचिङ अस्पताल आइपुगिन् ।   

राेशनीकी हजुरआमा: राेइमति 

नातिनी अस्पतालको बेडमा थिइन् । डाक्टरले बेलाबेला मात्रै भित्र जान दिन्थे । त्यही मौकामा झुलुक्क हेरिन् अनुहार । दुख्यो मात्रै भन्थिन् । कुन्नी के सोधिन् उनले, चर्को स्वरमा जवाफ दिइन् नातिनीले ।   

यता व्यथाले च्यापिसकेको रहेछ । ५ बजेतिर त बोल्ती नै बन्द भयो नातिनीको । जिब्रो पल्टाइसकिन् । उता छोरी पीरले कक्रक्क परिसकिन् ।   

घाउ नातिनीको, व्यथा छोरीको । मुटु भने रोइमतिको पोल्यो ।   

असह्य पीडाले आँखा भरिए । रसाए । पोखिए आँशु । र पनि सम्हालिइन् ।   

१७ गते अस्पतालमा अप्रेशनको कुरो चल्यो । सबै कानेखुशी गर्न थाले । कसैले अब बाँच्दैन भने । कसैले उपचार गरे बाँच्न सक्छ भने । डाक्टरले १ प्रतिशतको सम्भावना देखाइदियो । त्यति सुन्दा आशाको पालुवा पलायो, डढेलोले उजाडिएको मनमा ।   

कुमारी अलमलमा थिइन्, अप्रेशन गर्ने कि नगर्ने ? छोरी बाँच्ने पो हो कि होइन ! पैसा पनि त छैन ।   

दोधारै दोधारमा पीडाले रुझेको मनमा पोछा लगाउँदै कुमारीले सिग्नेचर गरिन् । हालत खराब थियो उनको । आफूलाई काबुमा राख्न सकिरहेकी थिइनन् । सानी छोरी बोकेर मामा माइजुको कोठामा हुत्तिइन् ।   

छोरी बिरामी छिन्, होश् आमाको छैन ! 

कुमारी बइक घर्तीमगर 

१०/१२ दिनसम्म यस्तै भो । आमालाई समेत चिनिनन् कुमारीले । साथमा भएकी कान्छी छोरीलाई बिरामी सम्झेर मालिस गरिदिन्थिन्, यहाँ दुख्यो, त्यहाँ दुख्यो भन्दै ।   

बागलुङकी रोइमति र ७० वर्षीय पेरमबहादुर बइककी कान्छी छोरी हुन् कुमारी । ३ छोराहरु छन् । एक्ली छोरी । रहरकी छोरी । परिवारको लाड प्यारमा हुर्किएकी थिइन् । जे गर, जहाँ जाऊ । रोकटोक थिएन कसैको । एसएलसी सम्मको पढाइ पुरा गरिन् ।   

एकदिन कान्छा बा कि छोरीको घर म्याग्दी पुगिन् । बरङ्जाको मंगलागाउँपालिका–३ मा थियो दिदीको घर । दिदीले एउटा गाउँकै केटासँग भगाइदिइन् कुमारीलाई । न केटोले केटी चिनेको थियो, न केटीले केटो चिनेकी थिइन् । तैपनि भगाइयो, भागिन् केही नसोची । २१ वर्षको उमेरमै वैवाहिक बन्धनमा बाँधिइन् कुमारी बइक । घर्ती मगर जोडियो नामको पछाडी ।   

…अनि छोरीको कन्यादान दिने बुवा आमाको सपना तुहियो !   

विवाह लगतै २०६८ सालको चैतमा कुमारीले छोरी जन्माइन् । नाम रोशनी जुर्यो । नाम जस्तै थिइन् रोशनी । चमकदार । तेजवान् । उज्याली । हँसिली । फरासिली । त्यसको ४ वर्षपछि २०७१ साल फागुनमा अर्कि छोरीको आगमन भयो । नाम रोशिका राखियो । अब दुई छोरीको स्याहार सुसारमै व्यस्त हुन थालिन् कुमारी ।   

सासु ससुरा थिएनन् घरमा । उनी भित्रिनु अगावै स्वर्गीय भइसकेका थिए । जेठाजु विदेश, जेठानी माइती । घरधन्दा उनैको थाप्लोमा थियो । 

श्रीमान् विदेशतिर बस्थे । छुट्टीमा आउँथे । जान्थे । 

समय आफ्नै गतिमा चलिरह्यो । जिन्दगी आफ्नै गतिमा ।   

छुट्टीमा घर आएका श्रीमान् अर्को पटक विदेश जाने सुरसारमा थिए । मेडिकल गरे । रिपोर्टमा ‘हेपाइटिस बी’ देखियो । काठमाडौंको वीर अस्पताल ल्याइयो । भर्ना गरियो ।   

चिकित्सकले भनेबमोजिम सबै गरियो । तर ०७२ को असोज २४ गते श्रीमान् स्वर्गीय भए । २६ वर्षको उमेरमै कुमारीको सिन्दुर पुछियो ।   

दुई छोरीको जिम्मेवारीको भार एक्लो काँधमा पर्यो । आमाको ममता त छँदै छ, बाबुको स्नेह पनि उनैले परिपूर्ति गर्नुपर्ने भयो । तर डगमगाइनन् कुमारी । तीनै छोरीलाई भविष्यको सहारा सम्झेर हुर्काइन्, बढाइन् ।   

जसोतसो जिन्दगी चलाउनु नै थियो । चलाइन् ।   

भाँच्चिएको खुशी तङ्ग्रिँदै पुनः बामे सर्दै थियो उनको जीवनमा तर हिँड्नै पाएन ! घाम र पानी सँगसँगै छिचोलिन् । इन्द्रेणी झुल्किन नपाउँदै बादल लाग्यो ।   

श्रीमान् बितेको ५ वर्षमात्रै भएको थियो । आलै थिए वियोगका घाउ । पुनः चिरिए ।   

त्यो दिन…,   

कुमारी दुई छोरीसहित माइतीमा थिइन् । घरको स्कुल टाढा भएका कारण छोरीको सहजताका लागि गएको साउनदेखि बागलुङ बसिन् । नजिकैको श्री पाण्डव वाणी सेकेण्डरी स्कूलमा भर्ना गरिदिइन् । 

भदौको महिना । परीक्षाको तयारी चलिरहँदा टाउको दुख्यो मात्रै भन्थिन् रोशनी । रुन्थिन् । गलकोटको एक अस्पतालमा स्वास्थ्य परिक्षण गराइन् छोरीको । डाक्टरले टाइफाइड भएको भन्दै औषधी लेखिदिए । ४ दिन अस्पताल राखियो, निको होला भन्दा झन् झन् व्यथाले च्याप्यो ।   

कुमारीको दिमाग रन्कियो । डाक्टरसँग झगडा गरिन्– ‘टाउको दुखेर अस्पताल ल्याएको । टाइफाइडको औषधी खाइराछ । किन निको हुँदैन ?’ 

‘औषधी ढिलो चढाएका कारण यस्तो भएको हो । अर्को औषधी दिन्छौँ ।’ 

तीन दिनको दिन बेलुकी अर्को औषधी दिए डाक्टरले । त्यसले झन् दुखाई बढ्यो रोशनीको ।   

व्यथा बल्झिएका कारण कुमारीले रोशनीलाई त्यहाँ राख्न सकिनन् । चौँथो दिनमा पोखराको फिस्टेल अस्पताल पुर्याइन् । ‘फिस्टेल अस्पतालमा सिटिस्क्यान गराएँ । डाक्टरले १० दिनसम्म खुवाउनु भन्दै पिनासको औषधी दिए । अनि गाउँमा लिएर गएँ’, कुमारीले भनिन् ।   

अलि निको भएजस्तो भयो । ८ वर्षीय रोशनीको कक्षा तीनको परीक्षा पनि सुरु भयो । दुई दिन परीक्षा दिइन् । त्यसपछि फेरि टाउको दुख्यो । कुमारीले पोखराको मनिपाल अस्पतालमा लिएर गइन् । त्यहाँ सिटिस्क्यान, एमआरआई गरियो ।   

रिपोर्टमा रोशनीको ब्रेनमा ट्युमर देखियो । क्यान्सर थर्ड स्टेजमा । कुमारीको होस् उड्यो ।   

बल्ल चंगा हुँदै थिइन्, ट्युमरको हुरीले चैट बनायो । सायद त्यति बलियो रैन’छ खुशीको धागो !   

मनिपाल अस्पतालले नियमित परिक्षणका लागि बोलाएको थियो तर माइतीले मानेनन्, काठमाडौंको टिचिङमा ल्याइयो । पालो पाउनै गाह्रो । कुराउँदा, कुराउँदा कार्तिक १३ गते बल्ल भर्ना गरियो । १५ गते शुक्रबार अप्रेशन गर्ने भनिएको थियो तर त्यो दिन शुक्रबार हाफ् छुट्टी भन्दै डाक्टरले टारिदिए ।   

शनिबार बेलुकीबाट त झन् च्याप्यो । बेहोस् भइन् रोशनी । बोल्नै छोडिन्  ।   

‘माया मारिसकेको थिएँ मैँले । अप्रेशन गरेपनि के नै होला र भन्ने भयो । फेरि डाक्टरहरुले ‘बाँच्न पनि सक्छ’ भन्ने कुरा गरे । त्यसपछि मैले सिग्नेचर गरी ५ वर्षीय रोशिकालाई लिएर मामा माइजुको कोठामा गएँ । अस्पताल बस्नै सकिनँ ।’ 

कुमारीले अप्रेशनका क्षण सुनाउँदै गर्दा आमा रोइमति भावुक भइन् । भावुकताले गला रोकियो । रोकिएका गला खोल्दै मलिन स्वरमा उनले थपिन्– ‘छोरीको होशै थिएन । मैँले त छोरी र नातिनी दुवैलाई माया मारिसकेकी थिएँ ।’ 

नमारुन् पनि कसरी, आमालाई नै चिन्दिन थिइन् कुमारी । मेरी आमा गाउँमा छिन् मात्रै भन्थिइन्, जबकी उनैकी आमाले सोधिरहेकी थिइन्– ‘नानी मलाई चिन्छेस्, म तेरो आमा !’   

रोइमति बेस्सरी रुन्थिन् । छोरीको जवाफले ।   

यता ८/९ दिन भइसक्यो, नातिनीको होश आएको थिएन । मरेको कि बाँचेको अत्तोपत्तो नाइँ । १७÷१८ दिनपछि अलि बोल्ने भइन् रोशनी । हात खुट्टा चलाउन थालिन्, भनेपछि कुमारीको होस् ठिक ठाउँमा आयो । चिनिन् आमालाई ।   

ज्वाईँ पनि छैनन् । नातिनीको हालत यस्तो छ । बिरामी छिन् । कसरी हुर्काउलिन् कुमारीले ? 

कसैले धेरै बाँच्दैन भन्छन् रे । कसैले बाँच्छ भन्छन् रे । मन धरमरमा छ रोइमतिको । छोरीको पीरले मन कुटुकुटु खान्छ । पोल्छ छाती भत्भती ।   

माइती लगेर राख्न पनि सक्दिनन्, अर्काको घर गएकी छोरी ! घरैमा पनि अर्काकी छोरी छन् । बचन लगाउलान् कि भन्ने पीर छ उनलाई । उनीहरुको भविष्य सम्झिएर रोइरहन्छिन् रोइमति । रातैभरी ।   

‘छोराछोरी सबैको ‘ब्यादान’ गरिदिएँ । व्यवहार उम्काएँ । अब फेरि नातिनातिनाको पीर !’ 

आँशु सँगसँगै बहकिन्छिन् रोइमति । के–के सोच्छिन्, सोच्छिन् ! 

अहिले भक्तपुर क्यान्सर अस्पतालमा छिन् उनी, छोरी र दुई नातिनीसँगै । थेरापीका लागि टिचिङले यहाँ  रेफर गरिदिएको हो । एक महिना भयो आएको, ५÷६ दिनपछि पुनः टिचिङ लैजानुपर्छ । १०/१२ लाख खर्च भइसक्यो । अलिअलि सहयोग पनि आइरहेको छ ।   

निकै ‘ट्यालेन्ट’ छिन् रोशनी । पढाइमा पहिलो, दोस्रो भइरहन्थिन् ।   

जोसँग पनि बोल्ने । मिजासिली छिन् । दुखाईसँगै बोलाई पनि अलि कम भएको छ अहिले । खाना बारेकी छिन् । मासु, चिल्लो, अमिलो, पिरो खाँदिनन् ।   

गफैगफमा खेल्दै गरेकी रोशनी टुप्लुक्क आइपुगिन् र भनिन्– ‘अहिले त सन्चो भइसक्यो, दुख्दैन !’   

चोट नातिनीको, दुखेको त रोइमतिलाई छ । भन्छिन्– ‘रोएर नहुने रहेछ । हुने कुरा भइहाल्दो रहेछ !’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *