सरकारले दिएको तीन हजारको चेक अग्नी पिडीतलाई भयो कागजको खोस्टा, न साट्न मिल्ने न च्यात्न

पुस २१, बारा । जीतपुरसिमरा उपमहानगरपालिका १८ का अग्नी पिडीत मोसाफिर साहले जिल्ला दैविक प्रकोप उद्दार समितिबाट तीन हजार रकमको चेक पाउँदा तीस हजार बढीको हैरानी पाएको बताएका छन् ।   

गत कार्तिक २९ गते दिउँसो खाना पकाउने क्रममा उनको फुसको घरमा आगलागि हुँदा घरमा रहको नगद लत्ताकपडा भाँडाबर्तन जलेर नष्ट भएको थियो ।   

घर आगलागीमा परि कर्जा तिर्न राखेको ४० हजार नगद सहित ३ लाख रुपैंया बराबरको लत्ताकपडा अन्नपात जलेर नष्ट भएपछि सडकमा आएका मोसाफिरलाई जिल्ला दैविप्रकोप उद्दार समितिले राहतका नाममा तीन हजारको सरकारी चेक दियो । तर, त्यो चेक उनले साट्न नसकेपछि अहिले खोस्टा सरह भएको छ । 

प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको उद्दार समितिले सहयोग गरेकोे रकमले उनलाई झन तनाव थपेको छ । 

दर्जनौं पटक जिल्ला धाएर पाएको ती हजारको चेक पनि एकाउन्ट पेइ चेक भएपनि मोसाफिर जस्ता दर्जनौं अग्नी पिडीतलाई सरकारले राहतका नाममा गिज्याएको भान भएको छ ।   

‘बल्लबल्ल पाएको चेक पनि साट्न पाइएन । यो चेक साट्न बैंकमा खाता खोल्नुपर्ने रहेछ, आगलागीमा नागरिकता समेत जलेर खरानी भइगयो, अब के गर्नु ?’ अँध्यारो मुख लगाउनै मोसाफिरले भने । 

गत पुस १ गतेको मितिमा काटिएको तीन हजार रकमको चेक पनि उनले पुस २० गते हिजो मात्रै पाए । तर त्यही चेक उनका लागि भालुको कन्पटी समाए जस्तो भएको छ । कुनै पनी बैंकमा खाता नभएका विपन्न साहले खातामा जम्मा गरेर मात्रै निकाल्न मिल्ने एकाउन्ट पेई चेक पाएको देखाए । 

चेक साट्न एकहजार रुपैंया जम्मा गरेर बैंकमा पहिला खाता खोल्नु पर्ने बैंकले बताएको छ । ‘खाता खोल्न नागरिता चाहिन्छ । तर नागरिता आगलागीमा जल्यो । प्रतिलिपी लिन पाएको छैन । कसरी खाता खोलेर सरकारको सहयोग पाएको महसुस गरौं’ साहले रुन्चे स्वरमा भने । 

आगलागीबाट घरै गुमेका शाहले सरकारले घरै बन्ने पैसा दिन्छकी भन्ने आशमा धेरै पल्ट जिल्ला धाए । तर, अन्तिममा जिल्ला धाउँदाको खर्च पनि नआएपछि अब कसरी घर बनाउने अन्यौलमा छन् । ‘मेरो परिश्रमको त कुरै छैन । ८० हजार कर्जा काडेर झुपडी हालेको छु । १० जनाको जहान छ । लाउन खान नै समस्या छ । यो जाडो आगो तापेरै कटाउन सके गरिबलाई हेर्ने भगवान त होलान नी’ साहले भने । 

बाराका प्रमुख जिल्ला अधिकारी फणिन्द्र पोखरेलले तीन हजारको चेक समेत अग्नी पिडीतले साट्न नपाउनु दुखःको कुरा भएको भन्दै भोलीबाटै समस्या समाधान गर्ने बताए । ‘यस पटक जे भयो आगामी दिनमा त्यसलाई सच्याईने छ ।’ दुई चार हजार रुपैंयाका लागि सर्वसाधारणलाई खाताको झण्झट भोलीबाटै अन्त्य गरिने प्रजिअ पोखरेलले बताएपनि विना झण्झट चेक साटिनेमा शाह शंकित छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *