प्रधानमन्त्री ओलीले केक काट्दैमा मुलुक काटिँदैन, चिन्ता नलिउँ

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार आफ्नो ६९ औं जन्म दिन भब्यताका साथ मनाए । प्रधानमन्त्री निवास बालुवाटारमा सरकारका मन्त्री र शुभचिन्तकहरु माझ शुभकामना आदानप्रदान गरे । साथै, आफ्नौ पुर्खौली थलो तेह्रथुमको आठाराई गएर आफ्ना बालसखा र जनतासँग खुसीयाली साटासाट गरे । केक काटे । साथमा केपी ओली फाउण्डेशन मार्फत आफ्नो जन्मथलोमा प्राविधिक शिक्षालयको समेत शिलान्यास गरे । 

प्रधानमन्त्री ओलीले बालुवाटार र पुरर्खौली थलो आठराईमा केक काट्दै गर्दा प्रशंसा गर्नेभन्दा आलोचना गर्नेहरु सक्रिय भए । सामाजिक सञ्जालमा हिजो अपरान्हदेखि नै प्रधानमन्त्री ओलीले पुर्खौली घरमा काटेको केकको नकारात्मक चर्चा मात्र भएको छ । सामाजिक सञ्जालमा भद्रभलाद्मीले गरेको कमेन्ट हेर्दा यस्तो लाग्छ प्रधानमन्त्रीले ठूलै अपराध गरे । खासगरी केकमा निर्माण गरिएको नेपालको नक्साका सन्दर्भमा आफुलाई बौद्धिक वर्गको पगरी गुथाउने स्वनाम बुद्धिजिवीको टिप्पणी हेर्दा उनीहरु अझै १९ औं शताब्दीमा विचरण गरिरहेको अनुभूत हुन्छ ।   

धेरैले प्रधानमन्त्री ओलीको राष्ट्रभक्तिलाई जोडेर ट्रोल बनाइरहेका छन् । ‘ओलीले देशको नक्सा बदले, लिपुलेक र कालापानी भारतले खाइसक्यो, प्रधानमन्त्रीले नक्सै काटेर केक खाए, ओलीको राजशी ठाँट’ यस्ता मिथ्या तर्कले ओलीको राष्ट्र प्रेमलाई कमजोर बनाउन खोज्नेहरुको कूतर्कले यो समाजलाई कता लग्दैछ ? प्रश्नहरु उठिरहेका छन् ।   

‘समाजलाई बदल्नु छ भने शुरुवात आफैंबाट गर्नुपर्छ’ विकासानन्दले भन्ने गरेका छन् । र आफुलाई बदल्ने सोच विकास भएन भने समाज बदल्ने चेत कहाँबाट आउँछ ? जसरी चुम्बकमा नकारात्मक र सकारात्मक दुवै शक्ति हुन्छ मानिस भित्रपनि सकारात्मक नराकात्मक दुवै चेत हुन्छ । हामीले सकारात्मक सोच्न थाल्यौं भने नकारात्मक भित्रपनि सकारात्मक पाउँछौं । नकारात्मक मात्रै सोच्यौं भने अमृतलाई पनि विष ठान्छौं । तसर्थ प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको नक्सा भएको केट काट्दैमा देश नै काटिएको, मुलुककै अस्मितामाथि धावा बोलेको अर्थ लगाएर ‘कोकोहोलो’ गर्नुको तूक छैन । 

 संसारका प्रायः देशहरुले आफ्ना देशका प्रमुखको जन्मदीनमा देशको नक्सा अंकित केक काटेका छन्, भाषण गरेका छन् । विश्वकै शक्तिशाली देश अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओवामा, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले समेत आफ्नो देशको नक्सा अंकित केक काटेका छन्, खाएका छन् खुवाएका छन् । तर, तिनलाई कसैले अमेरिका नै खाइस, भारत नै खुवाइस भनेका छैनन् । त्यसकारण कसैले आफ्नो जन्मदिनमा देशको नक्सा अंकित केक काट्दैमा महाभारत शुरु हुँदैन । विश्वयुद्ध हुँदैन । प्रधानमन्त्री ओलीको हकमा पनि त्यहि हो ।   

जन्मदिन सेलिब्रेट गर्नु, सकारात्मक सोच्नु, नयाँ कार्यको थालनी गर्नु, नयाँ ठाउँ जानु गलत हैन । प्रधानमन्त्रीले पनि हिजो त्यहि गरेका हुन् जुन आम नागरिकले आफ्नो जन्मदिनमा गर्न रुचाउँछन् । ओली आफ्नो पुर्खौली घर गए, स्थानीयहरुसँगै भलाकुसारी गरे, बालसखाहरुसँग सुख दुखःका कुरा गरे । विद्यार्थीलाई स्टेशनरी बाँडे, त्योभन्दा ठूलो कुरा आफ्नो जन्म स्थानकालागि प्राविधिक शिक्षालय शिलान्यास गरे । र, जनतालाई विकासका योजना सुनाए । प्रधानमन्त्रीले आफ्नो जन्मदिन जनतासँग मनाए यो भन्दा ठूलो सोच अरु के हुन सक्थ्यो । हामी आफ्नो जन्मदिनमा रातभर डिस्कोबारमा गएर लाखौं खर्च गर्न सक्छौं । स्वास्थ्यलाई विगार्न उद्यत हुन्छौं तर, एक मुठ्ठी अन्न नपाएर सडकमा छटपटिएका बेसहाराहरुलाई एक छाक अन्न खुवाउन तयार हुँदैनौं । आलिसान रेष्टुरेन्टमा लाखौं उडाउँछौं तर, त्यहि पैसाले अनाथालयमा आश्रित बालबालिकाको लागि खर्च गरेर पुन्य कमाउन चाहँदैनौं । यो भन्दा विडम्बना अरु के हुन सक्छ ?   

आलोचना गर्नेले त ओलीले जन्मदिन नमनाएका भएपनि गर्थे । मनाएपनि गर्दथे । उनीहरुको कामै आलोचना गर्ने हो । त्यसकारण फेसवुक ट्विटरमा ओलीको फोटो राखेर आलोचना गर्नेहरुले बुझौं हामी कति संकिर्ण सोचबाट ग्रसित छौं । कति स्वार्थी छौं ।   

अहिले सरकारका कामकारवाही त्यसमाथि प्रधानमन्त्री ओलीले गरेका राम्रानराम्रा जुनै कुरामापनि सकारात्मकलाई लुकाएर नकारात्मक कुरालाई बढि प्रचार गरिन्छ । १० वर्षे शशष्त्र जनयुद्ध, बारम्बारको अस्थिर राजनीतिक प्रणालीको अन्त्य गर्दै नयाँ शासन पद्दतिबाट बनेको दुई तिहाईको सरकारले गरेका राम्रा कामलाई छायाँमा पारेर ‘गोयवल्स’ शैलीमा प्रचार गर्दा सरकार त अलोकप्रीय होला, विपक्षीको स्वार्थ पुरा पनि होला तर, त्यसले हाम्रो समाजमा पार्ने प्रभावलाई पनि नजरअन्दाज गर्न आवश्यक छ । नकारात्मकै नकारात्मक विचार समाजमा प्रवाह गरिदियो भने त्यसले द्वन्द्वलाई झन बढावा दिन्छ । विद्रोह जन्माउँछ । आनी छोयिङले भनेकै छिन् नी, ‘फुलको आँखामा फुलै संसार, काँडाको आँखामा काँडै संसार’ हामीले संसारलाई फुलको आँखाले हेर्नुपर्छ फुलै देखिन्छ । काँडाको आँखाले मात्रै हेर्दा त कहाँ शान्ति पाइन्छ र ?  

सबैका आआफ्ना गुणअवगुण हुन्छन् तर, ती गुण अवगुणलाई चिन्न सक्ने सामथ्र्य हामीसँग हुनु जरुरी छ । प्रधानमन्त्री ओलीका अवगुण होलान् । तर, उनका सद्गुणलाई लुकाएर दुर्गुणलाई मात्रै फैलाउनु पनि त राम्रो हैन ।  

प्रधानमन्त्रीले रेल गुडाउने कुरा गरे, पानी जहाजको कुरा गरे, सुरुङ मार्गको कुरा गरे, खानीका कुरा, जलविद्युतका कुरा गरे । स्थायी शान्ति र संमृद्धिको कुरा गरे । जतिपनि विकासे कुरा गरे ती एकैपटक हुने कार्यक्रम हैनन् । ती आयोजना पुरा हुन बर्षौं लाग्ला । तर, कमसेकम सपना देख्ने र तीनलाई विपनामा पुरा गर्ने हिम्मत त गरे । यो कुरा आम जनताले किन बुझिरहेका छैनन् ? २००७ सालपछि आएका कुन चैं सरकारले जनतालाई आशा देखाए ? कुन चैं सरकारले जनताका चाहना बुझे ?  

हामीलाई थाहा हुनुपर्छ आजको आधुनिक यूरोप एकाध चुट्कीको भरमा बनेको हैन । विश्वयुद्धले छियाछिया बनेको जापानको रातारात कायापलट भएको हैन । चीन, भारत मात्र हैन आधुनिक अमेरिका निर्माणमा दशकौं लागेका छन् । पटकपटक राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक क्रान्ति भएका छन् । लाखौं करोडौं मानिसले ज्यानको आहुति दिएका छन् ।   

हामी विश्वको इतिहास आफ्नै हातमा हेरेर चिन्तन गर्ने समयमा छौं तथापि, ती इतिहास कसरी लेखिए ? युरोप, अमेरिका, जापान जस्ता देश कसरी विकसित भए ? त्यसतर्फ सोच्ने क्षमता हामी राख्दैनौं । दिनभर चिया पसलमा एक कप चिया खाएर अल्लारे गफ हाँक्ने र अरुको कुरा काट्ने प्रवृत्ति जवसम्म अन्त्य हुँदैन मुलुक विकास भएन, नेताले गरेनन्, देश बर्बाद पारे, लूटे भनेर ‘सत्तोसराप’ गर्नुको अर्थ छैन ।  

नेपालको राजनीति स्थायी भएन । यो सर्वस्विकार्य विषय थियो । २०४६ साल पछिको बहुदलिय शासन ब्यवस्था पछि बनेका सरकारले जनताका चाहनाअनुसार आफुलाई बदल्न नसकेकै हुन् । त्यसैको फलस्वरुप माओवादीले शशष्त्र जनयुद्ध गरेको थियो । शशष्त्र जनयुद्धका १० वर्ष, त्यसपछिका ५ वर्ष भएका विभिन्न आन्दोलनको जगबाटै मुलुकले एकात्मक शासनसत्ताबाट मुक्ति पाएपनि अस्थिर राजनीतिले विकास निर्माण ठप्प भएको र भ्रष्टाचार, कूशासन मौलाएको जगजाहेर छ ।  

विगतमा भएका कमीकमजोरीलाई सच्याएर मुलुकलाई परिवर्तनको मार्गदिशामा अघि बढाउनकै लागि हामीले पुरानो ब्यवस्थालाई फालेर नयाँ ब्यवस्था ल्याएका हौं । अहिलेको सरकार त्यहि ब्यवस्थाको शुरुवाती सरकार हो जोसँग काम गर्ने इच्छाशक्ति र भिजन छ । सरकारले दुई वर्षमा एउटा माखोपनि मार्न सकेन, भ्रष्टाचार बढायो, बेरोजगारी बढायो, अधिनायकवाद लाद्यो भनेर आफु चाँही दिनभर फेसवुक, ट्विटरमा झ्ण्डिएर अमेरिका, अस्ट्रेलिया र युरोपको कुरा गरेर समय ब्यतित गर्नेहरुको फेसवुके गफले मुलुकको विकास कहाँ हुन्छ र ?  

विहान चिया खाँदा र बेलुकी दारुका भट्टी पसलमा बरालिँदा गरिने आलोचनाले समाजमा नकारात्मक विचारलाई मात्र प्रवाहित गर्दछ । साथै आफ्नै मजगलाई दुषित गर्छ भन्ने कुरा आजको युवाले बुझ्न जरुरी छ ।  

जवसम्म आफुभित्र रहेको नकारात्मक सोच र विकारबाट मुक्त गर्न सक्दैनौं तवसम्म जस्तोसुकै शासन ब्यवस्था, शैली आएपनि विकास हुन सक्दैन । परिवर्तन हुँदैन । र, परिवर्तन एउटा ब्यक्तिले गरेर हुने कुरापनि हैन । संसारका हरेक देशका इतिहास हेर्दा एउटा ब्यवस्थाबाट अर्को ब्यवस्थामा जाँदा रत्तपात भएकै छन्, हिँसा घटेकै छन् । मान्छे मरेकै छन् । कतिपय देशहरु पचासौं वर्षसम्म गृहयुद्धमा रुमलिएका छन् । हामी नेपाली त्यस्तो भाग्यमानी देशमा छौं जहाँ १० वर्षे शशष्त्र जनयुद्धले १७ हजारले मात्र जहादत प्राप्त गरे । श्रीलंका, पाकिस्तान, अफगानिस्तान, कोलम्बिया जस्ता देशको इतिहास हेरौं जहाँ अहिलेपनि शशष्त्र युद्ध जारी छ । जातिय दंगा छ । जहाँ १० वर्षमा हैन एकाध क्षणभरमा लाखौंले शहादत प्राप्त गरेका छन् । करोडौं जनता घरवार विहिन भएका छन् । संसारका ठूल्ठूला रक्तिम परिवर्तनको दाँजोमा नेपालले अपनाएको शान्तिको बाटो विश्वकै उदाहरणीय हो ।  

त्यसकारण हामीले नयाँ नेपाल निर्माण गर्ने क्रममा आफुलाई समयसापेक्ष सुधार गर्दै प्राप्त गरेका उपलब्धीलाई संस्थागत गर्दै अगाडी बढ्ने हो भने छाती चौडा पार्नैपर्छ ।  

जहाँसम्म भ्रष्टाचार, कूशासनको कुरा छ त्यसमा सरकारले पार्टी, ब्यक्ति भन्दामाथि उठेर निष्पक्ष छानविन गर्न दिनैपर्छ । जनताको शासनमा जनता जनार्दन हुन् । आज जनताले सत्तामा पुर्याएकालाई पुनः रछ्यानमा पुर्याउन सक्छन् । यो शासकले बुझ्ने कुरा हो । तसर्थ, प्रधानमन्त्री ओलीले केक काट्दैमा मुलुक काटिँदैन । समाजलाई, नयाँ पिँढीलाई दिग्भ्रमित गराउने काम नगरौं । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *