मन्त्रीहरुमा सबैभन्दा भ्रष्ट विजय गच्छदारः डा. सुरेन्द्र केसी

फाइल फाेटाे 

माघ २६, काठमाडौं । ‘बालुवाटार राजामैत्री नारायणहिटी जस्तो भव्य र ऐयासी महलमा बस्ने । अनि जनताका प्रतिनिधि प्रधामन्त्री चाहीँ एउटा थोत्रे घरमा बस्ने, यो हुँदैन । त्यहाँ विदेशी पाहुनाहरु पनि जान्छन् । त्यसैले त्यो पनि शालिन र भव्य पनि हुन जरुरी छ’ भन्ने आशयबाट प्रेरित भएर धेरैअघि प्रधानमन्त्री आवासका रुपमा एउटा विशाल कम्पाउण्ड त्यहाँ खडा गरिएको थियो ।  

त्यहाँको जमिनमध्ये आधा सुवर्ण शमशेर परिवारको पञ्चायतविरुद्ध लागेबापत जफत गरिएको थियो भने आधा जमिन क्षतिपूर्तिसहित सरकारले लिएको अवस्था थियो । पछिल्लो पटक हाम्रा लोकतन्त्रका मतियारले त्यही जग्गामाथि आँखा गाडेर कृत्रिम मोही पनि खडा गरी झण्डैँ १ सय १४ रोपनी जग्गा हत्याएको प्रपञ्च नै बालुवाटार प्रकरण हो ।  

यो २०४८ सालदेखि नै अघि बढेको प्रक्रिया थियो । त्यसपछि मन्त्रीहरु, प्रधानमन्त्रीहरु, मुख्य सचिवहरु, सचिवहरु यसमा जोडिएका थिए । यी सबै अपराधीको एउटै मनसाय थियो, बालुवाटारको जग्गा आफ्नो बनाउने । कतिले नगद लिने । कतिले जमिन लिने । कतिले पद लिने । कतिले व्यवसाय चलाउने । उनीहरुको मनसाय यो थियो ।  

कति लाजमर्दो कुरा छ ! 

लोकतन्त्र, साम्यवादका लागि लडेका, जनयुद्ध गरेका भनेकाहरुले यस्तो ठुलो राष्ट्रदोह गरेका छन् । यस्ता अपराधीहरुलाई हामीले ढोग्नुपर्छ, कस्तो लज्जाको विषय छ । आफूहरुले लुटेको सम्पत्ति फिर्ता गर्न मन्जुर भए भनेर शक्तिशाली दलका महासचिवलाई यसबाट उन्मुक्ति दिइयो । सोझा, सिधालाई चाहीँ फसाए ! 

यस प्रकरणमा अख्तियारलाई पनि लतार्नुपर्छ । अभियोजन गर्नुपर्ने, गरिएन । एकथरी मान्छेलाई बचाउनका लागि त्यहाँ त्यस्तो बुँदा राखियो, त्यो अपराधजन्य छ ।  

अख्तियारमा कि नेताका श्रीमतीहरु छन्, कि नेताका दलाल छन् । कि खुलमखुल्ला विकृति डाल्ने राजनारायण पाठकजस्ता मानिसहरु त्यहाँ छन् । र तीनीहरु त्यहाँ कि राजनारायण पाठकजस्तो दिउँसै डकैती गर्छन् । कि दीप बस्नेत जस्तो दिर्घकालीन एउटा प्रपञ्च त्यहाँ तयार पार्छन् ।  

हामीलाई हेक्का हुनुपर्छ, जुनबेला लोकमान सिंह कार्कीलाई त्यहाँबाट लखेटिएको थियो, लखेट्नुको कारण नै यही थियो । किनभने त्यहाँ लोकमान भइदिएको भए तीनीहरु सबै जेल बसेको ७/८ महिना भइसकेको हुन्थ्यो होला ।  

त्यसैले न रहे बाँस, न बजे बाँसुरी भनेर त्यहाँबाट लोकमानलाई लखेटियो । त्यो ठाउँमा दीप बस्नेत जस्तो भ्रष्ट मान्छेलाई ल्याए । र त्यसपछि बालुवाटारमाथिको जुन अपराध छ, त्यसलाई सदाका लागि अन्त्य गरे ।  

अझै एउटा कानूनको धारणा ल्याइँदै थिइयो, ठुलठुला कर्मचारीहरुले गरेको अपराध पाँच वर्षभन्दा बढी समय भयो भने त्यो कारवाहीको दायरमा नआउने भनेर । यो तरिकाले पुराका पुरा देश लुट्ने प्रपञ्च यीनीहरुले गरिसकेका थिए । यी सबै नांगिएका छन् ।  

विजय गच्छदारलाई उन्मुक्ति दिनुपर्छ भन्ने आधारमा म बोल्दिन । अफ्ताव आलमको विषयमा पनि यस्तो केश परेको छ भन्ने मलाई लागेको थियो । किनभने अफ्ताव आलमको प्रकरणमा अफ्ताव पाँचौँ नम्बरका अभियुक्त थिए ।  

एक नम्बरमा गृहमन्त्री थिए । दुई नम्बरमा गृहसचिव थिए । तीन नम्बरमा प्रहरीका आईजी थिए । चार नम्बरमा लोकलका एसपी थिए । पाँचौँ नम्बरमा चाहीँ अफ्ताव आलम थिए । तर त्यहाँ चारै जनाले उन्मुक्ति पाए । अफ्तावलाई मात्रै त्यहाँ लगेर हालियो । तर सुन्दा अफ्तावलाई बचाउन यस्तो गरिएको सुनियो ।  

यहाँ अब गच्छदारलाई बचाउन खोजिएको हो कि, यस्तो पनि सुनियो । तर विष्णु पौडेल के तर्कबाट उन्मुक्त हुने, लिलामणि पौडेल के तर्कबाट उन्मुक्त हुने, दुई ओटा प्रधानमन्त्रीको नाम लिन त हामीलाई नै डर लाग्छ, उनीहरु के तर्कका आधारमा उन्मुक्त हुने ? 

विजय गच्छदारलाई मात्रै बलिको बोको बनाउनुको के अर्थ ? सबैलाई थाहा छ, नेपाली भ्रष्ट मन्त्रीहरुमा सबैभन्दा भ्रष्ट विजय गच्छदार नै हुन् । तर जुन ठाउँमा भ्रष्टाचार गरेको त्यो ठाउँमा पो लतार्नुपर्छ त ! 

(संवाद चौतारीमा आइतबार डा. सुरेन्द्र केसीले राखेको धारणाको सम्पादित अंश) 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *