गोली प्रहारबाट दुई अमेरिकी सैनिकको मृत्यु

माघ २६, काबुल । हातहतियारबाट सुसज्जित एक जना अफगानी सैनिकले चलाएको गोली लागेर अफगानिस्तानमा तैनाथ दुई जना अमेरिकी सैनिकको मृत्यु हुनुका साथै अरु ६ जना घाइते भएका छन् ।  

अमेरिकी सेनाका अनुसार अफगानिस्तानको पूर्वी नान्गारहार प्रान्तमा शनिबार उक्त दुःखद घटना भएको हो । शरजाद जिल्लाको सैनिक अखडामा अमेरिकी र अफगान कमान्डोहरुले तालिम गरिरहेका बखत अफगान सैनिक कमान्डोले गोली चलाएका थिए ।  

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १८ वर्ष लामो अफगान युद्ध समाप्त गरी अमेरिकी सैनिक स्वदेश फर्काउने योजना बनाइरहेको नाजूक समयमा उक्त घटना भएको हो । अफगानिस्तानमा तैनाथ अमेरिकी फौजका प्रवक्ता सोन्नी लेगिटले आइतबार जारी गर्नु भएको वक्तव्यमा अफगानी सैनिकले चलाएको गोलीबाट अमेरिकी सैनिकको मृत्यु भएको र केही घाइते भएको उल्लेख छ ।  

प्रान्तीय गभर्नर शाह महमूद मियाखिलले अफगान सैनिकको आक्रमणबाट तीन जना अफगान सैनिक पनि घाइते भएको बताउँदै घटनाको अनुसन्धान शुरु गरिएको जानकारी दिए ।  

अफगान सैनिकलाई हवाई सेवा, परामर्श र तालिमका कार्यमा मात्र केन्द्रित गरिरहेको अमेरिकी सैनिकमाथि सन् २०१९ मा भएका आक्रमणमा २० जनाको ज्यान गएको थियो । सन् २००१ मा अफगानिस्तानमा अमेरिकी सेनाले आक्रमण गरेयता अफगानिस्तानमा करिब दुई हजार ४०० अमेरिकी सैनिकको मृत्यु भइसकेको छ ।  

अफगानिस्तानका विद्रोही तालिबान समूहसँग अमेरिकी विशेष दूत जाल्मे खलिलजादले विगत १८ महिनादेखि वार्ता र सम्वाद गरिरहनु भएको छ । वार्तामा खासगरी अमेरिकी सैनिकको संख्या आधा कम गर्ने र विनाशर्त युद्ध विराम गर्ने बारेमा विचार विमर्श भइरहेको छ ।  

तालिबान समूहले वार्ताकै चरणमा पनि अमेरिकी फौज लक्षित गरी आक्रमण गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त वार्ताको औचित्य नरहेको भन्दै वार्ता भङ्ग भएको घोषणा गर्नु भएको थियो । तर अहिले फेरि कतारमा तालिबान र अमेरिकी मध्यस्थकर्ताबीच वार्ता जारी छ । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *