कोरोना भाइरस : संक्रमणबाट एक दिनमै २४२ जनाको मृत्यु

फागुन १, एजेन्सी । कोरोना भाइरसको संक्रमणबाट चीनको हुबे प्रान्तमा बुधबार मात्रै २४२ जनाको  मृत्यु भएको सरकारी अधिकारीहरूले पुष्टि गरेका छन्। 

त्यहाँ कोभिड १९ नाम दिइएको सो भाइरसको संक्रमण फैलिएपछि एकै दिनमा मृत्यु हुनेको सर्वाधिक सङ्ख्या हो। 

नयाँ सङ्क्रमण भएका मानिसको सङ्ख्या पनि ह्वातै बढेको छ। त्यहाँ थप १४,८४० जनामा उक्त भाइरसको सङ्क्रमण भएको पुष्टि भएको छ। 

कोरोनाभाइरस

यससँगै मृतकहरूको सङ्ख्या १,३५० र सङ्क्रमण भएका बिरामीको सङ्ख्या झन्डै ६०,००० पुगेको छ। 

मङ्गलवारसम्म नयाँ सङ्क्रमणको सङ्ख्या स्थिर भएको देखिएको थियो। 

यसैबीच चिनियाँ कम्युनिस्ट पार्टीले हुबे प्रान्तका सचिवलाई हटाएर शाङ्घाईका पार्टी प्रमुखलाई त्यहाँ पठाएको सरकारी सञ्चारमाध्यमले जनाएका छन्। 

हुबेमा कोरोना भाइरसको प्रकोप फैलिएपछि पार्टी पदाधिकारीहरूमा गरिएको यो सबैभन्दा ठूलो परिवर्तन हो। 

केही दिनअघि सरकारले स्वास्थ्यसेवाबाट केही अधिकारीहरूलाई पदमुक्त गरेको थियो। 

रोग पुष्टि गर्ने नयाँ विधि 

चीनभरि भएका सङ्क्रमित मानिसमध्ये ८० प्रतिशत हुबेका हुन् । उक्त प्रान्तले अहिले चिकित्सकीय रूपमा रोग निदान भएका मानिसको सङ्ख्यालाई मात्र सङ्क्रमण पुष्टि भएको तथ्याङ्कमा समाविष्ट गर्ने थालेको छ। 

अब न्यूक्लेइक एसिड परीक्षणमा मात्र निर्भर नभएर सङ्क्रमणका लक्षण तथा सीटी स्क्यान गर्दा फोक्सोमा परेको असर देखिए मात्र रोग लागेको पुष्टि गरिनेछ। 

वुहानमा ज्यान गुमाउने २४२ मध्ये १३५ मा त्यसरी नै रोगको पुष्टि गरिएको बीबीसीले जनाएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *