महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा गरियो सफाइ

फागुन ४, काठमाडौं । वागमती सफाइ महाअभियानको ३५३औँ हप्तामा महाशिवरात्रिको तयारीका लागि पशुपति क्षेत्रको आर्यघाट, सूर्यघाट, राममन्दिर लगायत क्षेत्रमा सफाइ गरिएको छ । 

सफाइमा १८ संस्थाका ३०० जनाभन्दा बढी अभियानकर्मी सहभागी भएको अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समिति सञ्चालक सदस्य माला खरेलले जानकारी दिए । सफाइबाट चार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको थियो । पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडा सफाइमा सहभागी थिए ।   

वैदिक सनातन हिन्दू धर्मावलम्बीको पर्व महाशिवरात्रिका अवसरमा कोषलगायत स्थानीय संस्थाको सक्रियतामा एक हप्ता अघिदेखि नै दैनिक सफाइ अभियानसमेत चलिरहेको छ । गुह्येश्वरीमाथिको वागमती सफाइ पनि महाशिवरात्रिका लागि वागमतीको पानी कञ्चन देखाउन केन्द्रित भएको छ । यस अवसरमा शनिबार सर्वेश्वर प्रतीक्षालय क्षेत्रमा विभिन्न विद्यालयका विद्यार्थीको समेत उत्साहजनक सहभागिता थियो । 

यसैगरी शनिबार उपत्यकाको रुद्रमती सफाइको छ वर्ष प्रवेशका अवसरमा विशेष कार्यक्रम आयोजना गरियो । कार्यक्रममा पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता माधवकुमार नेपाल, पूर्व मन्त्री एवं सांसद गगनकुमार थापालगायत अभियानकर्मीले नदी सफाइका लागि सबैको भूमिका महत्वपूर्ण हुने बताएका थिए । 

मनोहरा सफाइको १५२औँ हप्तामा बालकुमारी पुलमुनिको क्षेत्रमा सफाइ गरियो । सफाइबाट एक गाडी फोहर व्यवस्थापन गरिएको अभियानकर्मी चन्द्रप्रसाद दँगालले जानकारी दिए । चक्रपथ पश्चिम खण्ड सफाइको १३२औँ हप्तामा सीतापाइला चोक सोल्टीदोबाटो क्षेत्रमा सफाइ गरियो । सफाइमा उत्साहजनक सहभागिता रहेको संयोजक ताराबहादुर कुँवरले जानकारी दिए। सफाइबाट एक टन फोहर व्यवस्थापन गरिएको थियो । 

विष्णुमती, वागमतीको तिलगंगा र सुन्दरीघाट, चक्रपथको उत्तरी भेगमा पनि सफाइ गरिएको थियो । विसं २०७० जेठ ५ गते सुरु भएको वागमती सफाइ महाअभियानबाट प्रभावित भई उपत्यका लगायत देशभर १०६ स्थानमा सफाइ भइरहेको छ । 

रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *