कोरोना भाइरसको संक्रमण फैलिन सक्ने चेतावनी दिने चिकित्सकको मृत्यु

माघ २४, एजेन्सी । चीनमा नयाँ कोरोनाभाइरसको प्रकोप फैलिन सक्ने चेतावनी दिएका एक चिनियाँ चिकित्सकको सङ्क्रमणकै कारण मृत्यु भएको उनको उपचार गरिरहेको अस्पतालले जनाएको छ। 

वुहान सेन्ट्रल हस्पिटलमा कार्यरत लि वेन्लियाङलाई त्यहीँ सङ्क्रमण भएको थियो।  ३४ वर्षीय चिकित्सकले आफ्ना सहकर्मीहरूलाई डिसेम्बर ३० मा भाइरस सङ्क्रमण भयावह रूपमा फैलिन सक्ने भन्दै सजग गराएका थिए। तर प्रहरीले उनलाई ‘अनर्गल टिप्पणी नगर्न’ चेतावनी दिएको थियो। 

नयाँ वर्षको छेकोमा वुहान सहरमा अधिकारीहरूले कोरोना भाइरससँग सम्बन्धित समाचार ढाकछोप गर्न खोजेका थिए। 

उनको मृत्युबारे विरोधाभासपूर्ण विवरणहरू आएका छन्। तर चीनको पीपल्स डेलीले उनको मृत्यु स्थानीय समयानुसार शुक्रबार बिहान तीन बज्न लाग्दा भएको उल्लेख गरेको छ। 

चीनमा अहिलेसम्म कोरोना भाइरसको सङ्क्रमणबाट कम्तीमा ६३६ जनाको मृत्यु भएको पुष्टि भएको छ भने ३१,००० भन्दा बढीलाई सङ्क्रमण भएको छ। बिहीबार मात्रै ७३ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । 

उक्त भाइरसले श्वासप्रश्वासमा समस्या उत्पन्न गराउँछ। सङ्क्रमित व्यक्तिलाई ज्वरो आउँछ अनि सुक्खा खोकी लाग्छ। अधिकांश व्यक्ति सङ्क्रमणपछि सामान्य रुघाखोकीमा जस्तै निको हुन्छन्। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *