नयाँ पुस्ताले इतिहासको अध्ययन गर्नुपर्छः प्रधानमन्त्री ओली

फागुन ९, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ पुस्ताले इतिहासको बारेमा अध्ययन गर्नुपर्ने बताएका छन् । इन्द्रदह एकीकृत पर्यटन विकास समितिको आयोजनामा आज आयोजित चौँथो इन्द्रदह पर्यटन महोत्सवको उद्घाटन गर्दै उनले नेपालको गौरवपूर्ण इतिहासको बारेमा नयाँ पुस्ताले अध्ययन गर्नुपर्ने बताएका हुन्  । 

“इतिहासको कदर र वीरताको योगदानको कदर गर्नुपर्छ,”–उनले भने । पहिलोपटक ४ वर्षअघि त्यहाँ पुगेको स्मरण गर्दै ओलीले आफुले पहिलोपटक आउँदा पाँडेको पूर्ण कदको शालिक बनाउने, दहचोक महोत्सव गर्ने र गढीहरुको संरक्षण गर्ने वाचा गरेकोमा अहिले पुरा हुँदै गएको बताए । विभिन्न जिल्लामा रहेका गढीहरुको संरक्षणको जिम्मा नेपाली सेनालाई दिनुपर्ने समेत उनले बताए । 

आफु पहिलोपटक आउँदा सडक पुरै धुलो र डरलाग्दो रहेको उल्लेख गर्दै ओलीले चाँडै उक्त सडक कालोपत्रे हुने बताए । हिँउदमा चिसोले काम हुन नसकेकाले केही ढिला भएको उल्लेख गर्दै ओलीले अर्को वर्षको महोत्सवमा आउँदा पीच बाटोमा सरर आउने बताए । ओलीले भूकम्पबाट क्षतिग्रस्त भएर पूर्ननिर्माण भएका दुइवटा सतलको समेत उद्घाटन गरेका छन् । 

सार्वजनिक कार्यक्रमहरुमा सधै सञ्चारमाध्यमको आलोचना गर्ने प्रधानमन्त्री ओलीले शुक्रबार दहचोकमा भने त्यो विषयमा बोलेनन् । ओलीले आफ्नो भाषणका क्रममा भ्रष्टाचार र सुशासनका विषयमा अधिकांश समय खर्चने गरेकोमा शुक्रबार त्यो विषयमा पनि बोलेनन् । ओलीले कार्यक्रममा झण्डै १५ मिनेट बोलेका थिए । अधिकांश समय उनले कालु पाँडेको प्रशंंसा गरेका थिए । भूकम्पपछिको पूनर्निमाणका विषयमा बोलेका थिए । 

प्रधानमन्त्री ओलीले काजी कालू पाँडेले आफ्नो गर्दन दिएर देशलाई एकीकरणको बाटोमा अगाडि बढाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे । साहसी, दुरदर्शी र प्रेरणा दिन सक्ने व्यक्ति कालू पाडेँ भएको उनको भनाई थियो । उनले धार्मिक, पर्यटकीय र ऐतिहासिक महत्व बोकेको इन्द्रदहको विकासका लागि महोत्सवले महत्वपूर्ण भूमिका खेलेको बताए । 

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले दहचोक महोत्सवको निरन्तरताका लागि प्रदेश सरकार सकारात्मक रहेको बताए । उनले बागमती प्रदेशले पर्यटन क्षेत्रको विकासका लागि विशेष योजना अगाडि सारेको उल्लेख गरे । चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरीले दहचोकको समग्र पर्यटनको विकासमा केन्द्रीकृत हुँदै दहचोकलाई आन्तरिक तथा बाह्य पर्यटकको महत्वपूर्ण गन्तव्यको रुपमा विकास गर्न पर्यटन उत्सवको आयोजना गरिएको जानकारी दिए ।  

बागमती प्रदेशका सांसद केशव पोखरेलले विकास र समृद्धिका लागि जनताहरुको जनअपेक्षाको कदर गर्दे विकास र पुर्वाधारमा आफूहरु केन्द्रित रहेको बताए । समितिका अध्यक्ष हरिशरण थापाले सरकारले तोकेको नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउनुपर्ने बताए । अध्यक्ष थापाले दहचोकलाई देशकै नमूना पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न आफुहरु लागि परिहेको चर्चा गरे । कार्यक्रममा वोल्दै चन्द्रागिरि १ का वडा अध्यक्ष राजेन्द्र केसीले दहचोकको समग्र विकासमा स्थानियहरुको व्यापक सहभागिता र विकास प्रति माया भए दहचोकको समृद्धिमा आमुल परिर्वतन हुने उहाँको भनाई छ । 

सरकारले नेपाल भ्रमण वर्षका लागि एकसय गन्तव्य स्थलभित्र सुचिकृत गरेको इन्द्रदह र काजी कालु पाण्डेको समाधिस्थल रहेको छ । उक्त क्षेत्रमा मनकामना मन्दिरसमेत रहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *