सिनेटले सीमित पार्‍यो इरानविरुद्ध युद्ध गर्ने ट्रम्पको क्षमता

फागुन २, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको संसदको अनुमोदन विना नै इरानमाथि हमला गर्ने क्षमता सिनेटले सीमित पारिदिएको छ । इरानमाथि युद्ध गर्ने ट्रम्पको आशयबारे जाँच गर्ने सो प्रस्तावको पक्षमा ५५ मत र विपक्षमा ४५ मत परेको थियो । 

त्यसअघि ट्रम्पले अमेरिका इरानबाट कम सुरक्षित हुने चेतावनी दिएका थिए । ट्रम्पले इरानका सैनिक जनरलको हत्या गर्न निर्देशन दिएपछि सो विधेयकको एउटा संस्करणलाई तल्लो सदन प्रतिनिधिसभाले गत जनवरीमा पारित गरेको थियो । रिपब्लिकनहरूकै बहुमत रहेको सिनेटले त्यसको अनुमोदन गरेको हो । 

ह्वाइट हाउसमा सो विधेयक पुगेपछि ट्रम्पले त्यसमाथि भिटो अर्थात विशेषअधिकार प्रयोग गर्ने ठानिएको छ । गएराती आठ जना रिपब्लिकनहरूले इरानविरुद्ध सैन्य कारबाही चलाउनु पूर्व राष्ट्रपति ट्रम्पले कंग्रेससँग परामर्श लिनुपर्ने पक्षमा मत दिएका थिए । 

मतदानको अघिल्लो दिन ट्रम्पले ट्वीट गर्दै लेखेका थिए, ‘हाम्रो देशको सुरक्षाका लागि अमेरिकी सिनेटले इरान वार पावर्स रिजोलुसनमा मत नहाल्नु निकै महत्त्वपूर्ण छ ।’ ‘हामीले इरानसँग निकै राम्रो गरिरहेका छौं र उसका सामु कमजोरी देखाउने समय यो होइन । यदि मेरो हात बाँधिएको थियो भने, इरानले फाइदा उठाउने थियो । यसले निकै नराम्रो संकेत दिएको छ। डेमोक्रेटहहरुले रिपब्लिकन पार्टीलाई गिराउनका लागि मात्रै यो प्रयास गरेका हुन् ।’ 

सो रिजोलुसन अनुसार अमेरिकी संसदले युद्ध घोषणा गरेको वा कुनै विशेष फौज परिचालनको अनुमति दिएको खण्डमा बाहेक इरानसँग टकरावमा रहेका अमेरिकी फौजलाई ट्रम्पले हटाउनु पर्नेछ । तर सो कानुनले अमेरिकामाथि हुने कुनै अवश्यम्भावी हमलाबाट रक्षा गर्न भने रोकेको छैन । -एजेन्सी  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *