‘रानो’ हराएको कांग्रेसलाई कसले जोगाउने ?

  

पार्टीभित्रका भ्रष्टाचारीलाई सधैं काँध थाप्ने निती बनाउँछ भने तीन वर्षपछिको निर्वाचनमा कांग्रेसलाई खोज्नुपर्ने अवस्था आउँछ । 

नेपाली कांग्रेस यतिबेला रानो हराएको मौरी जस्तै भएको छ । आन्तरिक गुटवन्दी, अस्पष्ट राजनीतिक एजेण्डा, कमजोर सांगठनिक अवस्थाले कुनैबेला नेपाली राजनीतिको पर्याय रहेको कांग्रेस अहिले सानेपा भित्रै हराउने अवस्था आउनुमा स्वयं नेतृत्वकर्ताको अहम् भूमिका रहेको घामजस्तै छर्लङ्ग छ ।   

सिधै भन्नुपर्दा अहिले कांग्रेस कठिन घडिमा छ । संसदमा दुई तिहाईको कम्युनिस्ट सरकारको चेपुवामा परेको कांग्रेस सडकमा पनि ‘रानो हराएको मौरी’ भएको छ । वाइडवडी काण्ड, ललिता निवास प्रकरण, आइजिपी प्रकरण, शुशिला कार्की प्रकरण, राजदूत नियुक्तिमा कांग्रेस नराम्ररी चिप्लिएको छ । जसको फाइदा नेकपा एमाले र माओवादी केन्द्र विचको एकताबाट बनेको नेपाल कम्युनिस्ट पार्टीले लियो । 

२०७७ फागुन ७ गते पार्टीको १४ औं महाधिवेशनको मिति तय भइसकेपनि कांग्रेसभित्रको रडाँको मत्थर भएको छैन । पार्टी सभापति शेरबहादुर देउवाको एकल निर्णयले पार्टीभित्र अन्तरकलह बढ्दैछ । देउवाले पार्टी सञ्चालनमा एकलौटी निर्णय गर्न थालेपछि रामचन्द्र पौडेल पक्षले खुलेरै विरोध गरिरहेका छन् भने, कांग्रेसभित्र शक्तिशाली रहेका कोइराला खानदान अर्थात, डा.शेखर कोइराला, शशाँक कोइराला, सुजता कोइराला पनि असन्तुष्ट छन् । 

महासचिव शशांक कोइरालाले पार्टी सभापतिको खुलेर विरोध नगरेपनि भित्रिरुपमा असन्तुष्ट छन् । डा.शेखर कोइरालाले पटकपटक देउवालाई गुटवन्दी नगर्न सुझाएपनि देउवा डा.कोइरालाका कुरा सुन्ने पक्षमा छैनन् । औपचारिक, अनौपचारिक वा सभा समारोहमा डा.शेखरले देउवाको गुटवन्दीको चर्को विरोध गर्छन् । पार्टी सभापतिले गुटको राजनीति गर्दा स्थानीय र प्रतिनिधिसभा निर्वाचनमा पार्टीले लज्जास्पद हार ब्यहोरेको डा.शेखरको मात्र हैन कांग्रेसीहरुकै निष्कर्ष हो । 

हुनपनि पछिल्लो समय कांग्रेसभित्र सिद्धान्तको भन्दा गुटको राजनीति मौलाएको छ । त्यसको प्रमुख शुत्रधार पार्टी सभापति नै भएको जिल्ला सभापतिहरुको धारणा छ । केहि समय अघिको पौडेल पक्षले आयोजना गरेको जिल्ला सभापतिहरुको भेलाले स्थानीय र प्रतिनिधिसभा निर्वाचनमा पार्टीले लज्जास्पद हार ब्यहोर्नुमा नेतृत्व जिम्मेवार रहेको ठहर गर्दा नेतृत्व किन सच्चिएर अगाडी बढ्न चाहदैन ? अर्थात, देउवा आफुलाई किन गुटको राजनीतिबाट बाहिर ल्याउन चाहँदैनन् ?   

पार्टी भित्रको गुटवन्दीमा देउवालाई साथ दिनेहरुमा विमलेन्द्र निधि, प्रकाशशरण महत, मीन विश्वकर्मा प्रमुख ब्यक्तिमा पर्दछन् । योसँगै ललिता निवास जग्गा प्रकरणमा जोडिएका उपसभापति विजयकुमार गच्छदारपनि देउवा क्याम्पमै छन् । अख्तियारले ललिता निवास प्रकरणमा गच्छदारलाई प्रमुख भ्रष्टाचारी ठहर गर्दै मुद्दा दायर गरेपछि उनको राजनीतिक यात्रा टुंगिएको बुझ्न सकिन्छ । पार्टीले केहि दिन संसद अवरुद्ध गरेर माइतीघरमा विरोध प्रर्दशन गर्नु गच्छदारलाई सहानुभूति मात्र दिएको बुझ्न सकिन्छ । अब गच्छदारलाई बोकेर कांग्रेस अगाडी बढ्छ भने घातक हुन्छ । पार्टीभित्रका भ्रष्टाचारीलाई सधैं काँध थाप्ने निती बनाउँछ भने तीन वर्षपछिको निर्वाचनमा कांग्रेसलाई खोज्नुपर्ने अवस्था आउँछ । देउवा क्याम्पले किन बुझिरहेको छैन ? 

देउवाले भातृसंगठनहरुको नेतृत्व चयनमा एकलौटी गरेपछि कांग्रेसभित्र झनै गुटको राजनीति बढेको हो । नेविसंघ र नेपाल तरुण दलको कमिटि गठनमा एकलौटी निर्णय गरेपछि कांग्रेसका अधिकांश केन्द्रीय सदस्यहरु देउवाका विरुद्ध खनिएका छन् । रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, गगन थापा, डा.शेखर लगायत खेमाले देउवा गुटको अन्त्य हुनुपर्छ भनेर मोर्चावन्दी शुरु गरेका छन् ।   

बाहिरबाट हेर्दा कोइराला, पौडेल र सिटौला छुट्टाछुट्टै गुट बनाएर राजनीति गरेपनि भित्रीरुपमा देउवालाई एक्ल्याउन एकमत छन् । डा.शेखर, रामचन्द्र र कृष्णप्रसादविच अघोषित सहकार्य पनि होला तर, यीनीहरु पनि एकले अर्कालाई झट्ट विस्वास गर्न चाँहँदैनन् ।   

१४ औं महाधिवेशनपछि कांग्रेस कसको नेतृत्वमा जाला ? आंकलन गर्न सजिलो छैन । देउवाको पुनः सभापति हुने लालसा, महामन्त्री शशांकको चाहना, रामचन्द्र पौडेल र डा. शेखरको पनि तयारीले अहिले नै पार्टी सभापति निर्विरोध होला अनुमान गर्न सकिन्न । यत्ति चैं प्रष्ट भन्न सकिन्छ कि, १४ औं महाधिवेशन यदी समयमा भयो भने कांग्रेस पुर्नजिवित होला भएन भने आउँदो स्थानीय निकायकै निर्वाचनमा उठ्नै नसक्ने गरी पछारिने निश्चित छ ।   

१४ औं महाधिवेशनकै तयारीकालागि कांग्रेसका नेतृत्वहरु आ–आफ्नै तरिकाले देशाटनमा छन् । डा.शेखर, रामचन्द्रले देशाटन गर्दै कांग्रेसीहरुको चाहना बुझिरहेका बेला कांग्रेसलाई गुटको राजनीतिबाट बाहिर ल्याउने सन्दर्भमा पनि ध्यान दिन जरुरी छ ।   

डा.शेखर कोइरालाले कार्यकर्ता माझ कांग्रेसलाई पहिलेकै शक्तिशाली पार्टी बनाउने आफ्नो अभियान रहेको पटकपटक बताइरहेका छन् । निर्वाचनपछि मात्र उनी देशका ४० भन्दा बढि क्षेत्रमा गएर पार्टीलाई एक ढिक्का बनाउने उद्घोष गरिरहँदा त्यसको खास कार्य याजना बनाउन भने सकेका छैनन् । खासगरी देउवा पक्षको गुट भत्काउन डा.शेखरको योजना छैन । १३ औं महाधिवेशनमा सबैभन्दा बढि भोट ल्याएर लोकप्रिय भएका डा.शेखर पुनः त्यहि लोकप्रियताको खोल ओढेर महाधिवेशनमा सभापति पदको दावि गर्छन् भने त्यो गलत हुन्छ । डा.शेखरले कांग्रेसको नेतृत्व चाहेकै हो भने अहिले नै ठोस योजना बनाएर जान आवश्यक छ । सिटौला र पौडेल पक्षसँग डा. शेखर मिलेर जान सक्छन् । नेतृत्व लिने सवालमा पनि सहमति गर्न सक्लान् । तर, त्यो भन्दा ठूलो कुरा गच्छदार, निधी, विश्वकर्मा, महत जस्ता गुटको राजनीति गर्नेहरुबाट कांग्रेसलाई फुत्काएर नयाँ ढंगले कांग्रेसलाई अगाडी बढाउन डा.कोइरालालाई ‘फलामको चिउरा’ चपाए जस्तै हुनेछ । भने, देउवाले पनि गुटकै राजनीतिमा रमाएर बस्ने रणनीति अपनाए १४औं महाधिवेशनपछि कांग्रेससँगै उनको राजनीति पनि समाप्त हुने निश्चित छ । 

राजनीति सिद्धान्त र आदर्शले चल्छ । तर, अहिले कांग्रेसको राजनीतिमा सिद्धान्त र आदर्श खोलाका दुई किनार भएका छन् । गुट उपगुटले सिद्धान्त र आदर्श पाखा लाग्दा पुनः एउटै शुत्रमा बाध्न नयाँ सिद्धान्तको खाँचो छ । जसलाई १४ औं महाधिवेशनले पुरा गर्नुपर्छ । त्यसका लागि नयाँ पुस्ताको खाँचो छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *