हवाई पूर्वाधारमा ३ खर्ब ३५ अर्ब खर्चिँदै सरकार, यस्तो छ भावी कार्यनीति

माघ २२, काठमाडौं । अबको ५ वर्षमा हवाई पूर्वाधार स्तरोन्नती तथा विकासका लागि ३ खर्ब ३५ अर्ब खर्च हुने भएको छ ।   

नेपाल नागरिक उड्डयन प्राधिकरणका सिभिल इन्जिनियरिङ विभागका निर्देशक प्रदीप अधिकारीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नती, विकास तथा सञ्चालन योग्य बनाउनका लागि आगामी ५ वर्षमा ३ खर्ब ३५ अर्ब लागत लाग्ने जानकारी दिएका हुन् ।   

अधिकारीका अनुसार पछिल्लो दुई वर्षमा हवाई पूर्वाधारमा मात्र ८९ अर्ब, जग्गा अधिग्रहणमा ३३ अर्ब र अन्तर्राष्ट्रिय विमानस्थल पूर्वाधार निर्माणमा ४९ अर्ब रुपैयाँ खर्च तथा लगानी भइसकेको छ ।   

null

त्यस्तै आन्तरिकतर्फ साढे २ वर्षमा जग्गा प्राप्तीमा १ अर्ब र पूर्वाधार निर्माणमा ६ अर्ब रुपैयाँ खर्च भइसकेको छ । भौतिक पूर्वाधारतर्फ अन्तर्राष्ट्रिय विमानस्थलको लागि २ खर्ब ५० अर्ब र आन्तरिक विमानस्थलको लागि ४६ अर्ब लगानी आवश्यक पर्नेछ ।   

विगत साढे दुई वर्षमा नेपाल नागरिक उड्डयन प्राधिकरणले कुल ८७ अर्ब खर्च गरेको उल्लेख गरेको छ । अन्तर्राष्ट्रिय विमानस्थलको लागि ८० अर्ब खर्च भइसकेको छ भने आन्तरिक विमानस्थलमा ७ अर्ब खर्च भएको विवरण प्राधिकरणले सार्वजनिक गरेको छ ।   

त्यसैगरी पाँच वर्षमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान गर्ने प्राधिकरणको लक्ष्य छ । त्रिभुवन विमानस्थलमा रन वे पुनस्र्थापनासँगै चारवटा जहाज पार्किङ गर्न मिल्ने पार्किङ वेको काम सकिएको प्राधिकरणले जनाएको छ ।   

ठूला जहाज पार्किङ गर्न मिल्ने दक्षिणतर्फको वे १ को ८५ प्रतिशत भौतिक प्रगति भइसकेको छ । बुटिक एयरपोर्ट बनाउने काम पनि भइरहेको छ । पाँच वर्षमा समानान्तर ट्याक्सी वे, ह्याङ्गर एप्रोन, नयाँ टर्मिनल बिल्डिङ निर्माण गरी ९२ लाख यात्रु वार्षिक बोक्न सक्ने क्षमताको हुने प्राधिकरणका सिभिल इन्जिनियरिङ विभागका निर्देशक अधिकारीले जानकारी दिए ।   

अधिकारीका अनुसार गौतम बुद्ध विमानस्थलमा जग्गा अधिग्रहणको काम सकिएको छ । पाँच वर्षमा यो विमानस्थल सबै भौतिक पूर्वाधार तथा उपकरण जडित बन्नेछ । उक्त विमानस्थलबाट वार्षिक ६० लाख यात्रु आवत–जावत गर्नेछन् । 

त्यस्तै, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलतर्फ पनि जग्गा अधिग्रहणको काम सकिएको छ । जसमा २ अर्ब ३० करोड खर्च भएको छ । भौतिक प्रगतिको काम ५४ प्रतिशत सकिएको प्राधिकरणले जनाएको छ । उक्त विमानस्थलबाट पाँच वर्षभित्र वार्षिक ८० लाख हवाई यात्रु बोक्ने लक्ष्य प्राधिकरणको रहेको छ ।   

प्राधिकरणका निर्देशक अधिकारीले आन्तरिक विमानस्थलहरु एटीआर ४२ का जहाज उड्न सक्ने क्षमताको रुपमा विस्तार गर्न लागिएको पनि जानकारी दिए । रनवेलाई विस्तार गर्ने हो भने जुम्ला, जोमसोम, दाङ, रामेछाप, ताप्लेजुङ, सिमिकोट, साफेबगर, रुम्झाटार, तुम्लिङटार, पालुङ्टार, टीकापुर, खिजी, बझाङ, इलाममा ४२ सिटे जहाज उडान–अवतरण हुन सक्ने अधिकारीको भनाइ छ ।   

नेपाल नागरिक उड्डयनको क्षेत्रमा विमानस्थलको महत्वपूर्ण भूमिका रहन्छ । विमानस्थल भनेको पर्यटन पूर्वाधार पनि हो । नेपालभरमा हाल ५४ वटा विमानस्थलहरु छन्, जसमध्ये ३२ वटा मात्रै सञ्चालनमा रहेका छन् । २२ वटा भने बन्द अवस्थामा छन् ।   

अर्घाखाँचीको अर्घाभगवती एयरपोर्ट र पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणाधिन अवस्थामा छन् । १३ वटा नयाँ प्रस्तावित विमानस्थलहरु छन् । जसमा जसमा धनकुटा, धरान, गुडेल (सोलुखुम्बु), हुम्ला (मदनखाउला), पाँचथर (रानीटार), प्यूठान स्वर्गद्वारी एयरपोर्ट, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, तेह्रथुम (चुहानडाँडा) र उदयपुर (जोगीडाह) विमानस्थलको वातावरण मूल्यांकन प्रभाव सकिसकेको छ भने दाङ नारायणपुर एयरपोर्ट, बागलुङ अर्नाकोट, काभ्रे र चाराङ (मुस्ताङ) पनि प्रस्तावित एयरपोर्टभित्र रहेका छन् । 

अहिले भद्रपुर, विराटनगर, सिमरा, जनकपुर, भैरहवा, नेपालगञ्ज, धनगढी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राति पनि उडान–अवतरण गर्न सक्ने सुविधा छ । साथै दुई वर्षको अवधिमा जनकपुर र चन्द्रगढी विमानस्थलमा रात्रीकालीन अवतरण सुविधा सुरु गरिएको छ ।   

पालुङटार एयरपोर्ट सञ्चालनमा नआएको धेरै वर्ष भयो । अहिले उक्त विमानस्थलको रनवे सुधारका कार्यहरु सुरु गरिएको जानकारी दिइएको छ । हाल बन्द रहेको टिकापुर एयरपोर्टको पनि विकल्प खोज्ने या पूर्वाधार विस्तार गरी सञ्चालनमा ल्याउने तयारी भइरहेको बताइएको छ ।   

पूर्वको हब एयरपोर्ट विराटनगर एयरपोर्टको पनि यो वर्ष धावन मार्ग ओभरलेको काम सम्पन्न भएको छ । ट्याक्सी वे र एपरोन एक्सप्यान्सनको काम सकिएको प्राधिकरणले जनाएको छ । हेलिप्याड कन्स्ट्रक्सन, कमर्सिएल विल्डिङको काम पनि सम्पन्न भइसकेको छ ।   

यसको परियोजना विकास लागत ३० करोड अनुमान गरिएको छ ।   

त्यहाँ बन्ने १६ परिवार अटाउने स्टाफ क्वार्टरको डिजाइन पनि पुरा भइसकेको छ, जसको अनुमानित लागत करिब १३ करोड छ । यो वर्ष यसको पनि खरिद प्रक्रिया सुरु गरिने छ । मास्टरप्लान अनुसार यसका लागि १ सय २६ विघा जमिन अधिग्रहण गर्नुपर्छ । एयरपोर्टको  रनवेको लम्बाई ३ हजार मिटर बनाइने र यसको अनुमानित लागत ४७ अर्ब रहेको प्राधिकरणले जनाएको छ ।                                                                                                                                                                                                                          

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *