पशुपतिमा ऐना हेर्दै शिवजी !

फागुन ९, काठमाडौं । गलामा नागको माला र रुद्राक्ष । शरीरमा बाघको छाला । हातमा त्रिशुल । शिरमा चन्द्रमा । सेताम्मे रुपरंग । ओहो ! शिवजी, मग्न ऐना हेरिरहेका छन् ।   

झट्ट हेर्दा लाग्छ, ती युवक शिवजी नै हुन् ! र त पशुपतिमा आएका श्रद्धालु भक्तजनहरु उनको आशिर्वाद सहर्ष स्वीकार गर्छन् ! ढोग्छन्, भेटी चढाउँछन् ।   

रुप हेर्दा भगवान लागेपनि उनको गतिविधि हेर्ने हो भने भगवान शिवको जस्तो रतिभर छैन । कसैलाई आशिर्वाद दिन शिवको भेषमा आएका पटक्कै होइनन् उनी । उनको लीला नियाल्ने हो भने न त ज्ञानी, परमात्मा नै लाग्छन् ।   

पशुपतिमा उनले देखाएको बेहोरा हेर्दा लाग्छ, उनी केवल लुट्न आएका हुन् शिवभेषमा !   

आज भगवान शिवको प्रिय दिन, महाशिवरात्री । देशभरका शिवालयमा भक्तजनको घुइँचो लागेको छ ।   

विशेषगरी काठमाडौंस्थित पशुपतिनाथ मन्दिरमा स्वदेशी–विदेशी भक्तजनको लाम नै छ । कोही त्यहाँको भीड हेर्न आएका छन् भने कोही भगवान शिवलाई पुज्न, नजिकबाट नियाल्न र शिवतत्वको महशुष गर्न आएका छन् ।   

भक्तजनको मात्रै होइन, आज पशुपतिमा जोगी, बाबा, साधु, सन्त, पण्डितहरु पनि खचाखच छन् । कतिले व्यापार राखेका छन् । कति माग्न बसेका छन् । अनेक रुपरंङ्ग र भेषमा सजिएर पाती बाँड्दै, हम्कँदै, पैसा माग्दै हिँडिरहेका छन् साधुरुपी मगन्तेहरु ।   

त्यही भीडमा भेटिएका हुन्, रुपमा हुबहु शिवजी । वास्तविकता नक्कली !   

कस्ता छन् शिवजी ? करुणाका सागर । जगत कल्याणका लागि विष पिउने नीलकण्ठधारी । दयाका खानी । देवादी देव महादेव ! 

तर ती शिवभेषधारी श्रद्धाले नजिक आएका भक्तहरुलाई ज्ञान, उपदेश दिँदैनन् । न त दया, माया नै देखाउँछन् । केवल मागिरहन्छन् ! अरु त अरु तस्विर लिँदा समेत पैसा माग्छन् । नदिए नानाभाँती गाली दिन्छन् !   

जति नै कठोर हृदयका निदर्यी भएपनि भक्तिका समयमा दयालु निस्कन्छन्, भक्तहरु । धर्म जो कमाउनु छ ! दुःखी, गरिबलाई सहयोग गर्न हिच्किच्याउने उनीहरु बाबा, साधुको भेषमा लुट्न आएकाहरुलाई सहजै पत्याउँछन् र खन्याइदिन्छन् रुपैयाँ ! 

वास्तवमा साधुसन्त तथा बाबाहरुको मुख्य उद्देश्य धर्मको जगेर्ना र प्रचार गर्नु हो । सन्यासी एवं अघोरीहरु आफैंमा भोक लोभ, मोहबाट मुक्त हुनुपर्ने हो । तर, पशुपतिमा आउने सबै साधकहरु यस्ता गुणी छैनन् !   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *