‘गजल मेरो लागि सबथाेक हाे, जिन्दगी हो’
मलाई मृत्यु यसकारण असाध्यै मनपर्छ
मेरो घाट जाने बाटैमा उसको आँगन पर्छ
…… ……
घाइते बनाएर छोडेको पनि काम आयो
आज बैशाखी टेकेर साथी मलाम आयो
यदि तपाईं गजलको पारखी हुनुहुन्छ भने माथिका शेरहरु पक्कै सुन्नुभएको हुनुपर्छ । ती सेरहरु गजलकार ईश्वर दाहालका हुन्, जो विगत ६÷७ वर्षदेखि गजल प्रेमिहरुका ढुकढुकीमा राज गर्न सफल छन् ।
कमला दाहाल र गोविन्द प्रसाद दाहालका एक्ला सुपुत्र दाहालको सपना एउटा कुशल हाँस्य कलाकार बन्ने थियो । तर अहिले गजलमै हराउन थालिसके । गजल नै उनको जिन्दगी बनिसक्यो ।
झण्डैँ तीन वर्षअघि काठमाडौं आएका उनी हाल किर्तिपुरमा बस्छन् । धनकुटा पाख्रिबासका असामान्य प्रतिभा दाहालका प्रायः वाचन गरिएका सबै गजलहरू उत्कृष्ट छन् । आफ्ना भावहरुलाई कलात्मक शैलीमा गजलका शेरहरुमा उन्न सफल गजलकार ईश्वर दाहालसँग मकालु खबरका लागि सृष्टि नेपालले गरेको कुराकानीको संक्षेपः
गजल भनेको के हो ?
गजलको व्याख्या/परिभाषा सबैले आ–आफ्नो ढंगबाट गर्नुभएको छ ।
मेरो लागि चाहीँ गजल सबथोक हो । गजल थिएन त, ईश्वर दाहाल गुमनाम थियो । आजसम्म जति साथीभाईहरु कमाएको छु, त्यो गजलले नै दिएको हो ।
मानसम्मान जति पाएको छु, त्यो पनि गजलबाटै पाएको छु । गजल मेरो जिन्दगी हो ।
गजलको भोक कहिलेदेखि लाग्यो ? कहिलेदेखि लेख्न सुरु गर्नुभयो ?
भर्खरै एसएलसी दिएर बसेको थिएँ । २०६६ सालतिर हुँदो हो । दिदीले घरमा एउटा पत्रिका ल्याउनु भएको थियो । त्यो पत्रिकामा साहित्यिक विधाअन्तर्गत गजल भनेर लेखिएका केही हरफहरु थिए । त्यो पढ्दा छुट्टै आनन्द आयो ।
त्यसैलाई हेरेर नक्कल गर्दै लेखेँ । लगभग उस्तै उस्तै भयो । लेख्न सक्दो रहेछु, खुशी लाग्यो । भोक यहीँदेखि लाग्यो । एक दुई पटक लेखेँ पनि बिचमा ग्याप भयो । २०७० देखि गजलकै भोक मेटाउन निरन्तर लेख्न थालें ।
गजलको भोक लाग्दाको छट्पटि कस्तो हुने रहेछ ?
गजलको भोक जाग्दा अथवा लेख्न थाल्दा शेर फुरेन भने निकै छट्पटी हुन्छ । एकदमै ज्यादा पीडा दिन्छ, लेख्न मन लागेको बेलामा लेख्न नसक्दा ।
लेख्न आयो भने जुनसुकै समयमा पनि लेखिन्छ । गाउँमा हुँदा म राती लेख्थेँ । सपनामा पनि गजलकै शेर आउँथे, कतिपय रातमा । अचेल चाहीँ म फुर्सदको समयमा लेख्छु ।
आउला–आउला जस्तो भएको समयमा लेखेको गजल भन्दा ‘आज म लेख्छु’ भनेर थाल्दा आएका गजलहरु धेरै छन् । त्यसकारण मलाई यस्तो समय हुनुपर्छ भन्ने लाग्दैन । भरसक शान्त वातावरण हुनुपर्छ ।
साहित्यमा डुबिसकेपछि मानिसहरु भोक, प्यास सबै बिर्सिन्छन् रे नि ?
यो स्वभाविक हो । लेख्न थालेपछि खान बिर्सिने, भोक नलाग्ने हुन्छ नै ।
मेरा पनि यस्ता रमाइला घटनाहरु छन् । एक पटक खाना पकाउँदा पानी नहाली चामल मात्रै पकाएको छु, गजल सम्झनाका सुरमा । दाल पकाउँदा दाल नहाली पानी मात्रै सिठ्ठी लाएको पनि छु । खान खोज्दा पानी मात्रै ।
‘म मर्नकै लागि राजधानी आएको हुँ’, यो गजलमा काठमाडौंको पीडा पोख्नुभएको हो ?
म काठमाडौं आएपछि एकपटक पशुपति गएँ । मेरो बुवा–आमा काठमाडौं कहिल्यै आउनु भएको थिएन । खेती किसानी गर्नुहुन्थ्यो । बाहिर हिँड्ने, डुल्ने फुर्सद नै हुँदैनथ्यो । पशुपति पहिलो पटक छिरेपछि त्यहाँ आएका अरुका बा–आमा देख्दा ‘यो ठाउँमा मेरा बा–आमालाई पनि ल्याउन पाए’ भन्ने भावना आयो । हृदय छोयो ।
‘सबैभन्दा सजिलो उपाय काठमाडौंमा मर्न होला’ भन्ने दिमागमा एक्कासी तरंग आयो । अनि त्यसलाई नै शेरमा उतारेँ ।
‘गजल लेख्नकै लागि जन्मिएको हुँ’ भन्ने चाहीँ कहिलेदेखि लाग्यो ?
लगभग ७२ सालदेखि महफिल, कार्यक्रमहरुमा स्थान पाउँदै गएँ । त्यसले लेख्ने ऊर्जा थपियो । तर ‘गजल लेख्नकै लागि जन्मिएको हुँ’ भन्ने चाहीँ मलाई अझै पनि लाग्दैन । किनकी भविष्यका पाटा धेरै छन् । अझै धेरै गर्नुछ ।
सानोमा चाहीँ के थिए त सपना ? भविष्यमा गजलकार बन्छु भनेर सोच्नुभएको थियो ?
मेरो सानोमा त्यस्तो सपना केही थिएन । साहित्यमा रुचि पनि थिएन । कोहीबाट प्रभावित थिइनँ र परिवारमा पनि कोही साहित्यतर्फ लाग्नुभएको थिएन । अहिले पनि हुनुहुन्न ।
तर यो देशको कमेडियन हुन्छु भन्ने चाहीँ लागेको थियो । गजलतिर लागेपछि ‘कमेडी’ को भुत उत्रियो । अब यसमा रहर छैन ।
कमेडियन बन्ने सपनालाई प्रेमको आगोले पिल्साएर गजलकार बनाएको त होइन ?
मायामा धोका खाएरै गजलकार भएको त भन्न नमिल्ला । तर अलिकति भूमिका चाहीँ प्रेमपछिको धोकाको पनि रह्यो । कमेडियन बन्ने सपना थियो, मायामा धोका खाइयो । पीडा, वियोगान्तका शेरहरु फुर्न थाले ।
त्यो बेलादेखि लेखौंलेखौं लाग्यो । लेख्दै गएपछि संगतले गर्दा गजल निखारियो, राम्रो लेख्न सक्ने भइयो ।
साहित्यका अरु विद्यामा पनि कलम चलाउनु हुन्छ कि, गजलै मात्र हो ?
गजल मात्रै हो । अरु विधामा प्रयास नै नगरेको होइन, गरिहेरेँ । तर तीनीहरुमा भन्दा मलाई गजल लेख्नमा आनन्द लाग्यो । मेरो सन्तुष्टि गजलमै छ ।
तपाईं फुल टाइम गजलकार कि पार्ट टाइम ?
पार्ट टाइम । फुल टाइम गजल लेख्ने त छैनन् पनि सायद ।
गजल मेरो प्यासन मात्रै हो । गजलै लेखेर म बाँच्छु भन्ने सोच म भित्र कहिले पनि आएन । सुरुमा काठमाडौं आउँदा कल्पना चाहीँ गरेको थिएँ, यसैमा बाँच्ने । पछि परिस्थिति बुझियो । यो लेखेर मात्रै बाँच्दिन जस्तो लाग्यो ।
सन्तुष्टिका लागि लेखिने हो, जबसम्म सन्तुष्टि मिल्छ, तबसम्म लेखिन्छ ।
गजल लेखेरै जीवन गुजारा गर्न कत्तिको सम्भव छ ?
एक जनाको मात्रै ज्यान पाल्न चाहीँ जसोतसो सकिन्छ, राम्रो लेख्ने गजलकार हो भने । तर हामी एक्लै बाँचेर हुँदैन । परिवारको पनि जिम्मेवारी हुन्छ । परिवारका सपना, आफ्ना सपनाहरु हुन्छन् । त्यो पुरा गर्ने सामथ्र्य गजलको बनिसकेको छैन ।
सुरुमा त गजलकै लागि भनेर मलाई बाबु त्रिपाठी दाई र नवराज पराजुली दाईले ‘तिमी काठमाडौं आउनुपर्छ’ भन्नुभएको थियो । म त्यसैका लागि काठमाडौं आएको थिएँ । काठमाडौं आएपछि यो मात्रै गरेर नहुने रहेछ भन्ने लाग्यो र पढाई पनि अगाडी बढाएँ, जागिर पनि सुरु गरेँ । ब्यवसायिक रुपमै गजलमा लागेको भए निकै संघर्ष गर्नुपथ्र्यो ।
‘तिमीले गजल लेख्नुपर्छ, काठमाडौं आएर बस्नुपर्छ’ भन्नुको उद्देश्य चाहीँ पछि बुझ्दै जाँदा ‘नेपाली गजलमा व्यावसायिकता ल्याउनुपर्छ, गजलकारहरु गजल लेखेर बाँच्न सक्ने वातावरण बनाउनुपर्छ र त्यो तिमीबाट सुरु गर्नुपर्छ’ भन्ने उद्देश्यले उहाँहरुले काठमाडौँँ आऊ भन्नुभएको रहेछ ।
तर त्यो म एकजनाले गरेर सम्भव थिएन । विस्तारै विस्तारै अहिले चाहीँ त्यस्तो वातावरण बनेको छ । अबको केही वर्षमा परिवारै पालिन सक्ने अवस्था पनि बन्न सक्छ जस्तो लाग्छ मलाई ।
भनेपछि भविष्यमा ईश्वर दाहाल गजलबाटै पालिनुहुन्छ त ?
अहिले गजलमा लेखकहरुको बाढी नै आएको छ । पाठकहरु पनि धेरै हुनुहुन्छ । म होइन, म भन्दा पछिल्ला पिँढी, पुस्ताहरु चाहीँ गजलबाटै पालिन सक्नुहुन्छ ।
राज्यले यो क्षेत्रमा के योगदान गरिदिए गजलकारहरु गजलमा बाँच्ने अवस्था आउँथ्यो ?
हो, आउन सक्थ्यो । राज्यले यो क्षेत्रमा गर्नुपर्ने धेरै छन् । हालसालै प्रज्ञा प्रतिष्ठानमा गजल महोत्सव भयो । त्यो एउटा उदाहरण हो राज्यले गर्नुपर्ने ।
यो बाहेक प्रज्ञाबाट हुने प्रतियोगिताहरु गजलको पनि हुनुपर्यो । मदन पुरस्कार लगायतका पुरस्कारहरु कवितासम्म मात्रै छन्, गजलमा पनि पुग्नुपर्यो । यस्ता गतिविधि गरिदिने हो भने गजल लेखेरै बाँच्न सक्ने अवस्था बन्छ ।
हुन त राज्यको मुख मात्रै ताकेर पनि भएन । हाम्रो देशमा राष्ट्रिय खेलाडीहरुको अवस्था नै दुःखलाग्दो छ । साहित्यको के कुरा गर्नु ? गजलकारहरुले पनि आ–आफ्नो ठाउँबाट जोडबल गर्नुपर्छ ।
तपाईं गजल क्षेत्रमा प्रवेश गर्दाताकाको अवस्था र अहिलेको अवस्थामा के भिन्नता पाउनुहुन्छ ?
मैँले गजल लेख्न थाल्दाको समय गजलकारहरुको अवस्था कुनै कार्यक्रममा जाँदा रित्तो हात फर्कनुपथ्र्यो । ‘यति पैसा दिनुहुन्छ भने आउँछु’ भन्दा आयोजक छक्क पर्ने अवस्था थियो । ‘गजलकारलाई पनि पैसा दिने हो र कार्यक्रममा ?’ भन्ने खालका प्रश्नहरु आउँथे ।
अहिले चाहीँ कार्यक्रम गर्दैछौँ, तपाईं आइदिनुपर्छ भनेपछि उहाँहरु आफैँले ‘कति लिनुहुन्छ ?’ भनेर रेट सोध्नुहुन्छ । यो नेपाली गजल क्षेत्रमा आएको परिवर्तन हो ।
कतिपय साथीहरुले जाने आउने खर्च लिएर मात्रै पनि गर्नुहुन्थ्यो । अहिले भने थाेरै भएपनि गजलमा व्यवसायिकता आएको छ।
प्रतिक्रिया कस्तो पाउनुहुन्छ, पाठक र श्रोताबाट ?
पाठक र श्रोताहरुले त राम्रै प्रतिक्रिया दिनुहुन्छ । ‘कस्तो राम्रो लेख्नुहुन्छ’ भन्नुहुन्छ । सामाजिक सञ्जालका साथीहरुले पनि राम्रो छ भनेर प्रशंसा गर्नुहुन्छ । ‘एकदम मनपर्छ तपाईंको गजल’ भन्नुहुन्छ । तर मलाई प्रशंसामा त्यति धेरै विश्वास लाग्दैन ।
आफ्नो गजलको मूल्यांकन चाहीँ कसरी गर्नुहुन्छ त ?
म सिंगो गजलको पाँचै वटा शेर राम्रो लेख्छु भन्ने मलाई लाग्दैन । त्यसमध्येका ३ वटासम्म शेरहरु चाहीँ म राम्रै लेख्छु जस्तो लाग्छ । कतिपय गजल राम्रा पनि छन्, कतिपय गजल झुर पनि होलान् ।
साहित्यिक क्षेत्र यस्तो छ कि ठिकठिकैको मान्छेलाई पनि एकदम सम्मान गरेर माथि पुर्याइदिन्छन् । त्यसैले उचाल्नेहरुले माथि पुर्याए पनि म आफ्नो लेखाई स्वमूल्यांकन गर्छु । मलाई अरुले हेर्ने दृष्टिकोण र मैँले मलाई नै हेर्ने दृष्टिकोण फरक लाग्छ । आफ्नो धरातल आफूलाई थाहा हुन्छ ।
समग्रमा म सामान्य गजलकार नै हुँ जस्तो लाग्छ ।
पहिलो पटक पुरस्कृत भएको गजल र अनुभव कस्तो रह्यो ?
त्यो समयमा आधा कमेडियन, आधा गजलकार थिए । मेचीकोशी गजल प्रतियोगिता भएको थियो । त्यसमा मैँले पनि आफ्नो गजल पठाएको थिएँ…,
जहाजले पुर्याएथ्यो सात समुन्द्र पारी
छोरो लिएर घरमा अखबार फर्कियो…
पहिलो पटक स्टेज चढेको गजल पनि यही थियो । गजल वाचनमा चाहीँ अलिकति डर लागेको थियो ।
तर प्रतिक्रिया निकै राम्रो पाएँ । सबैले प्रशंसा गर्नुभएको थियो ।
प्रथम भएको थियो मेरो गजल । प्रमाणपत्र र ८ हजार रुपैयाँ इनाम पाएको थिएँ । त्यो मेरो टर्निङ पोइन्ट जस्तै भयो । त्यो सम्मानले थप ऊर्जा थपिदियो ।
मैँले गीत गजल र शितलवर्षा पुरस्कार पनि पाएको छु । उपराष्ट्रपति नन्दबहादुर पुनले प्रदान गर्नुभएको थियो । अन्य पुरस्कारहरु पनि धेरै पाएको छु । बिचमा प्रतियोगिताहरुमा भाग लिइनँ । महफिलहरुमा मात्रै जान थालेँ । अरु विधामा भन्दा गजलमा पुरस्कार अलि कम नै हुन्छ ।
स्टेजमा वाहवाही पाउँदा, ‘गजलकार ईश्वर दाहाल’ भनेर चिनिँदा कस्तो महशुष हुन्छ ?
‘गजलकार ईश्वर दाहाल’ भनेर चिनिन पाउँदा खुशी लाग्छ । आनन्द लाग्छ, जुन म बयानै गर्न सक्दिन । सुरुसुरुमा त सिरिङ्ग हुन्थ्यो, दर्शक दिर्घाबाट ज्यादा ताली आउँदा । आजभोलि सामान्य लाग्छ ।
साहित्यमा चुनौति कतिको छ ? सम्भावना के–कस्ता छन् ?
विशेषगरी गजलमा राम्रा लेख्न सक्ने गजलकारहरुका लागि राम्रो छ यो क्षेत्र । सम्भावना छन् ।
चुनौति पनि यति धेरै छ कि पहिले सामान्य कुरा लेख्दा पनि धेरै पाठक–श्रोताले मन पराउनुहुन्थ्यो । अहिले समय यस्तो आयो कि चानचुने, सामान्य कुराले मान्छेको दिल छुँदैन । यूनिक चाहिन्छ । चमत्कारिक शेयरहरु आउनुपर्छ ‘वाह’ पाउनलाई । नयाँ पुस्ताका लागि यो ठुलो चुनौति हो ।
अबको योजना के छ ?
मसँग भविष्यमा यस्तो बन्छु, त्यस्तो गर्छु भन्ने त्यस्तो योजना केही पनि छैन । बनाउँदिन पनि ।
धेरै ठुला सपना छैनन् अब । बा–आमालाई सुख दिने, खुशी राख्ने सपनाहरु छन् । केही थान आफ्नै सपनाहरु पनि छन् । पहिले बा–आमाका सपनाहरु पुरा गर्नतिर लाग्छु । त्यसपछि बाँकी रहेका आफ्ना सपना, रहर पुरा गरौँला । त्यति नै हुन् ।