कोरोना भाइरसले विश्वव्यापी सवारीसाधनको उद्योग जोखिममा

माघ २८, काठमाडाैँ ।   चीनमा सुरु भएको कोरोनाभाइरसले ठूलो मानवीय क्षति पुर्याइरहेको छ । प्रकोप घट्नुको साटो बढ्दै गइरहेको छ जसले चिनियाँ अर्थतन्त्रमा पनि क्षति पुर्याउन सुरु गरेको छ । अब विस्तारै प्रकोपबाट विश्वव्यापी रुपमै व्यवसायमा असर पर्न देखिन थाल्ने विज्ञले बताएका छन् । 

वर्षौँदेखि विश्वभरका निर्माण कम्पनी आफ्नो निर्माण श्रृङ्खलालाई चलायमान राख्न चीनमा निर्मित पार्टपुर्जामा निर्भर हुँदै आएका थिए । 

कोरोनाभाइरसको प्रकोपको कारण आगामी हप्ता चीनमा रहेको पार्टपुर्जा निर्माण संयन्त्र बन्द रहने अवस्था सिर्जना हुँदै गएको अवस्थामा त्यसले विश्वभरका उद्योगनै ठप्प हुने आशङ्का गरिदैँछ । 

यसको प्रभाव महसुस गर्ने पहिलो क्षेत्र सवारीसाधन निर्माण संयन्त्र हुनसक्छन् । यसको कारण एउटा चिनियाँ पार्टपुर्जा उद्योग निक्कै विशाल रहनु र अर्को ९९ प्रतिशत पाटपुर्जा हुँदा पनि एउटा सवारी पूर्ण नमानिनु हो । 

‘एउटा पार्टपुर्जा मात्र नहुँदा पनि सम्पूर्ण निर्माण लाइन नै अवरुद्ध हुन्छ,’ जनरल मोटर्सका इण्डोनेशियास्थित इकाईका पूर्व–प्रमुख माइक डूनले भने । 

डूनका अनुसार विगतका पनि यस्ता धेरै उदाहरण देखिएका छन् । आपूर्ती संयन्त्रमा आगजनी वा प्राकृतिक प्रकोप हुँदा विश्वभरका सवारी निर्माण संयन्त्र प्रभावित भएका छन् । तिनको तुलनामा कोरोनाभाइरसले पार्ने असर झनै बढी हुनसक्छ । 

चीन गाडीको पार्टपुर्जाको ठूलो निर्माता हो । संयुक्त राष्ट्रको तथ्याङ्क अनुसार सन् २०१८ मा मात्र उसले झण्डै ३५ अर्ब डलर बराबरको पार्टपूर्जा निर्यात गरेको थियो । 

यिनको केही हिस्सा ‘रिटेल स्टोर’मा जान्छ भने बाँकी ठूलो अंश कार निर्माण हुने एलेम्ब्ली लाइनमा जान्छ । 

केही विज्ञले पाटपुर्जाको अभावको सम्भावित खतरा सोचिएभन्दा ठूलो हुन सक्ने बताए । किनकि चीनमा बन्ने नट, बोल्टजस्ता धेरै पार्टपुर्जालाई बम्पर वा इन्जिन पिस्टनलाई जस्तो पार्टपुर्जाको दर्जा दिइँदैन । 

उदारणको लागि विश्व वाहन निर्माण श्रृङ्खलामा कुनै अर्को देशमा बन्ने पार्टपुर्जाका लागि पनि चीनमा बन्ने नट बोल्टको प्रयोग भइरहेको हुन्छ । तिनको अभावमा ती पार्टपुर्जासमेत बन्दैनन्, त्यसले थप असर गर्नेछ । 

आपुर्तिमा अवरोध आइरहेको अवस्थामा पार्टपुर्जाको विकल्प पाउन पनि कठिन रहेको ‘सेन्टर फर अटोमोटिभ रिसर्च’का उपाध्यक्ष क्रिस्टिन जीक्जेकले भनिन् । 

‘यसको असर कहिलेबाट देखिन थाल्छ भन्न कठिन छ,’ उनले बताइन्, ‘यो हप्ता चीनमा पाटपूर्जा निर्माण भएन भने फेब्रुअरीको अन्त्यसम्ममा विश्वव्यापी असर देखिने आस गर्न सकिन्छ । सबै गाडी निर्माता अहिले यो अवस्थासँग कसरी सामना गर्ने भनेर चिन्ता गर्न थालेका छन् । तर चीन यति ठूलो छ कि तिनको प्रभाव पन्छाउन सम्भव छैन ।’ 

चिनियाँ बजारलाई लक्षित वाहन एसेम्ब्ली लाइन अहिले बन्द छन् र ती चिनियाँ बजारका लागि हुन् । विस्तारै अन्यत्रका संयन्त्रमा पनि यो समस्या फैलिन थालेको छ । 

हुण्डाईले दक्षिण कोरियामा रहेको आफ्नो एसेम्ब्ली लाइन बन्द ग(यो । उक्त संयन्त्र कोरोनाभाइरसको डरले नभएर चीनबाट आउने सामाग्री बन्द हुँदा अफ्ठ्यारो उत्पन्न भएपछि बन्द गरेको हो । 

त्यस्तै निसानले चिनियाँ पार्टपुर्जाको अभावमा जापानको क्युशुस्थित उसको संयन्त्रमा ‘उत्पादन मिलान’ गरेको छ । फ्रेन्च कार निर्माता रेनोको दक्षिण कोरियाली कार निर्माणस्थल, फियाट चिस्लरको युरोपस्थित एक संयन्त्र यस्तै खतरामा परेको छ । 

अन्य गाडि निर्माताले चीनको अवस्थालाई नजिकबाट नियाली रहेको र चीनको अवस्थाले तिनको विश्वव्यापी अपरेसनलाई के असर पार्छ अहिले नै भन्न नसकिने बताएका छन् । 

‘परिस्थिति निक्कै तरल छ,’ जीएमका प्रमुख कार्यकारी अधिकृत म्यारा बार्राले लगानीकर्तासँगको कुराकानीमा भनिन् । 

विज्ञले यस अघिनै विश्वव्यापी गाडि निर्मातामा कोरोनाभाइरसको प्रभाव किन देखिएन भन्ने प्रश्नको पनि जवाफ दिएका छन् । 

तिनका अनुसार चिनियाँ पार्टपुर्जा संयन्त्र चीनको नयाँ वर्षको अवसरमा बन्द हुने पहिलेनै तय भएकाले अतिरिक्त सामाग्री निर्माण भएका थिए । तर अब ती सामाग्री सकिँदै गएको र नयाँ निर्माण नभइरहेको अवस्थामा अफ्ठ्यारो उत्पन्न भएको छ । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *