शिवरात्रीमा आएका साधुसन्तको बिदाई, कसले कति पाए ?

फागुन ११, काठमाडौं । महाशिवरात्री मेलाको अवसरमा पशुपतिनाथ मन्दिर आएका साधुसन्तलाई आज (आइतबार) बिदाई गरिएको छ ।   

पशुपति परिसरभित्र एक कार्यक्रमको आयोजना गरी शुक्रबार परेको महाशिवरात्री मेलामा पशुपति आएका साधुसन्तलाई गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले बाटोखर्च सहित आज बिदाई गरेको हो ।   

गतवर्षको शिवरात्रीमा गुठी संस्थानले दिगम्बर साधुहरुलाई १ हजार ७ सय ५१ र कोषले १ हजार १ सय रुपैयाँ, जमातीय साधुहरुलाई गुठीले १ हजार ५ सय ५१ र कोषले ८ सय १, नागा साधुलाई गुठीले १ हजार ३ सय ५१ र कोषले ७ सय १, अवदुत महापुरुष साधुलाई गुठीले १ हजार १ सय ५१ र कोषले ५ सय १ रुपैँया नगद बाटो खर्चसहित बिदाई गरेको थियो ।   

यो वर्ष साधुसन्तको प्रकार तथा परिचयपत्र हेरी कोषले १ हजारदेखि १० हजार रुपैयाँसम्म दक्षिणा तथा बिदाई खर्च दिने पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले जानकारी दिए । साधुहरुको अखडाको स्तर हेरी दक्षिणा रकम फरक पर्ने उनको भनाइ छ ।   

उनका अनुसार यो वर्ष कोषले साधुसन्तका लागि दक्षिणा तथा बाटो खर्च १० लाख रुपैयाँ छुट्टयाएको छ । तर १२÷१३ लाख खर्च हुन सक्ने अनुमान कोषको छ ।   

यो वर्ष पशुपतिमा करिब ६ हजार साधुसन्तहरु आएको पनि निर्देशक खतिवडाले जानकारी दिए । कोषले यो वर्ष महाशिवरात्रीका लागि लगभग ८० लाख रुपैयाँ विनियोजन गरेको उनले बताए । यद्यपी समग्र खर्च भने करोड नाघेको उनको भनाइ छ । उनका अनुसार सहयोगी दाताहरुले ल्याएका÷गरेका खर्चहरु कोषमा रेकर्ड तथा हिसाब हुँदैन ।   

साधुसन्तहरुलाई बाटो खर्च दिने काम गुठी संस्थानले मात्रै गर्दै आएकोमा केही वर्षयताबाट कोषले पनि केही खर्चको व्यवस्था गर्न थालेको हो । परापूर्व कालदेखिनै महाशिवरात्री मेलामा आएका स्वदेशी तथा विदेशी साधुसन्तहरुलाई गुठी संस्थानले खाना, बस्न र बाटो खर्चको व्यवस्था गर्दै आएको छ । यो वर्षपनि साधुसन्तका लागि खाना र बस्नको व्यवस्था शिवालय क्षेत्रमै मिलाइएको थियो ।   

गुठी संस्थानले बाहिरबाट आएका साधकहरुको खान, बस्न लगायत अन्य खर्चका लागि यसवर्ष ३० लाख रुपैयाँ बजेट छुट्याएको थियो ।   

यो वर्ष स्वदेशी र विदेशी गरी करिब २० लाखको हाराहारीमा दर्शनार्थीहरु आउने अनुमान थियो । सुरक्षा व्यवस्था कडा पारिनुका साथै पशुपति क्षेत्रमा ५ हजार सुरक्षाकर्मी परिचालन गरिएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *