सानो पण्डित बाजेको सपना : ‘महान गुरु’ र गायक

फागुन १२, काठमाडौं । ‘यति सानो उमेरमा कसरी ज्योतिष-पण्डित बन्यौ ?’ सुवास घिमिरेलाई धार्मिक मेलामा आउने अधिकांश भक्तजनहरुले सोध्ने प्रश्न हो यो ।  

२०६३ साल, मंसिर १३ गते देवदेवी घिमिरेको गर्भाशयबाट धर्ती नियाल्ने सौभाग्य पाएका सुवास भर्खरै १३ वर्षका भए । त्यसकारण पनि हरेक धार्मिक महोत्सव तथा जात्रामा ‘कसरी बन्यौ ?’ प्रश्नको सामना गर्नुपर्छ उनले ।   

शुक्रबार महाशिवरात्रीका दिन पशुपतिमा भक्तजन हुलम–हुल थिए न त भक्तजनको आस्थामा अक्षेता टाँसिदिने पण्डितको नै कमी थियो । हुलम–हुलबाट जोगिएर एक छेउमा बसेका थिए सुवास ।   

टिका थाप्न आएका श्रद्धालुलाई आशिर्वाद दिन्थे, संस्कृतबाट ।  ‘सधैँ खुशी र सुखी रहनु, मनले आँटेको-सोचेको पुगोस् !’ वृद्धवृद्धाबाट आशिर्वाद पनि पाउँछन्, उही ।   

दोलखा जिरीका सुवासका बुवा कृष्ण घिमिरे पण्डित हुन् । जिरीमा उनका यजमान थुप्रै थिए । उनको भविष्य त्यतै थियो । सन्तानको भविष्यका लागि परिवारै लिएर कृष्ण काठमाडौं छिरेका थिए । त्यतिबेला  सुवास मात्र ७ वर्षका थिए ।   

काठमाडौं आएको ६ वर्ष बित्नै लाग्यो । हाल कौशलटारमा बस्छन् । सुवासको एक दिदी र दाजुको विवाह भइसक्यो भने उनी र एक दाजु पढ्दै छन् । उनका दाजुलाई भने पण्डित कर्ममा खासै इच्छा छैन तर सुवासलाई ‘औधी’ छ ।   

काठमाडौंको तिलगंगास्थित केटाकेटी ईङ्गलिस स्कुलमा कक्षा ५ मा अध्ययनरत उनले करिब ४ वर्ष अघिदेखि पशुपतिबाटै थालेका थिए ‘टिका’ लगाउन अर्थात् पण्डित कर्म । मन्त्र पनि खररै पारेका छन् ।   

अचेल त हात पनि हेर्छन् । पहिले पण्डित मात्रै थिए, अब ज्योतिष पनि । उनलाई यी सबै काम कृष्ण अर्थात् उनका पीताले सिकाएका हुन् । सुवासका कुरा सुन्ने हो भने कृष्णको ‘बिँडो’ उनैले थाम्नेछन् । 

चाडपर्वमा प्रायः स्कूल बिदा हुन्छ । अन्य बालबालिकाहरु खेल्नमै मग्न हुन्छन् । सुवास भने त्यतिबेला कमाउनेबारे सोच्छन् र टिकाका सामग्री बोकेर बिहानै पशुपति आउँछन् । कहिले बुवासँगै मेला लागेका मठ–मन्दिरमा जान्छन्, ‘सानो बाहुन बाजे’ बनेर ।   

यी सब् उनले रहरले गरेका हुन्, कहरले होइन । त्यसैले पनि छिट्टै सिके ।   

सुवास भन्छन्- ‘मलाई बाबाले सिकाउनु भएको हो । मलाई इच्छा थियो, छिट्टै सिकेँ ।’ ‘बुवा-आमाले जाऊ भन्नुभएको होइन, उहाँहरु कहर लगाउनु हुन्न । म आफैँ आउने गरेको हुँ ।’ 

यसरी बस्दा साथीहरु पनि कति पटक भेटिसके तर अन्य वयस्कलाई जस्तो ‘अड’ लाग्दैन उनलाई । काम गर्न लजाउनु हुँदैन भन्छन् । उनलाई आफ्नो कर्मप्रति गर्व छ । लगाव पनि । विश्वास पनि ।   ‘मलाई भगवानप्रति आस्था र विश्वास छ । कर्मप्रति भरोसा पनि । जे चाह्यो त्यही पुगेजस्तो लाग्छ ।’ 

पढाइमा मध्यम खालका छात्र हुन् सुवास । बिहान-बिहान मन्दिर जाने, होमवर्क गर्ने, स्कूलको तयारी गर्ने, स्कूल जाने, पढ्ने उनको दैनिकी हो । शिक्षक-शिक्षिकाले उनलाई भन्ने गर्छन्- ‘सानैमा पढाई बिगारेर कमाउनतिर नलाग । पढाइमा ध्यान देऊ । राम्रोसँग पढ, भविष्य उज्जवल हुन्छ ।’ 

सुवासको सधैँको जवाफ- ‘हवस्’ ।   

अहिले उनी अध्ययनरत स्कूलमा ५ कक्षा सम्मको मात्रै पढाइ हुन्छ । यसपछि भने संस्कृत विद्यालयमा पढ्ने धोको छ उनको । 

बिहान ७ बजेदेखि १२ बजेसम्म बस्छन् पशुपति आएका बेला । कसैले बच्चा भन्छन्, लगाउँदैनन् टिका । कोही बुढा आमा-बुवा आउँछन्, टिका थाप्छन् र आशिर्वाद दिएर जान्छन् । स्वेच्छाले कसैले ५ रुपैयाँ त कसैले ५० रुपैयाँ दिन्छन् । ८-९ सय सम्म कमाउँछन् पशुपति आएका बेला ।   

आफूले धार्मिक मेला तथा पर्वमा कमाएको पैसा स्कूल आउन र जानमा खर्च गर्छन् सुवास ।   

तिमी भविष्यमा के बन्छौ ? तिम्रो लक्ष्य के छ ?   

हरेक बालबालिकाको जवाफ आउँछ– डाक्टर बन्छु । पाइलट बन्छु । इन्जिनियर बन्छु ।   

सुवासको भने अरुको भन्दा बेग्लै ‘एम’ छ ।   

हुन त भविष्यको चिन्तनमा डुब्ने उमेर भएको छैन उसको । लहड र रहरको बेला छ । यही लहडमा   

अनेकन सोच्दा हुन् । गुन्दा हुन् । सपना पनि बुन्दा हुन् । पछि देश, काल परिस्थितिले उनलाई कता डोर्याउला अथवा उनले भविष्यलाई कता डोर्याउलान् त्यो उनैको कर्म (परिश्रम, मिहेनत) जानोस् ।   

अहिले भने उनको दुई वटा सपना र लक्ष्य छन् । एक ‘महान गुरु’ र अर्को गायक !   

भन्छन्– ‘भविष्यमा के बन्छु थाहा छैन । अहिलेलाई यही (पण्डित कर्म) ठिक लाग्छ । त्यति ठुलो लक्ष्य पनि राखेको छैन । पण्डित ठुलो गुरु बन्ने सपना छ । गायक बन्ने इच्छा पनि छ । गाउन पनि असाध्यै मनपर्छ मलाई ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *