दिल्ली हिंसा अपडेटः मर्नेको संख्या २२ पुग्यो
फागुन १४, काठमाडाैँ । नागरिकता संशोधन कानूनका विषयमा दिल्लीमा भइरहेको हिंसामा मर्नेको संख्या २२ पुगेको छ ।
हिंसाका विषयमा अमेरिकाका केही सांसदले प्रतिक्रिया दिएका छन् । अमेरिकी सांसद प्रमिला जयपालले भनिन्, ‘भारतमा धार्मिक असहिष्णुता खतरनाक रूपमा बढेको छ । लोकतन्त्रले विभाजन गर्ने र भेदभाव गर्ने कुरालाई सहनुहुँदैन अनि धार्मिक स्वतन्त्रता घटाउने कानूनलाई प्रोत्साहन पनि गर्नुहुँदैन ।’
दिल्ली हिंसाका विषयमा प्रमिलाले एक ट्वीट लेखे, ‘संसारले हेरिरहेको छ ।’ अर्का सांसद एलन लोवेन्थेलले पनि भने, ‘नैतिक नेतृत्वको दुःखद असफलता ।’ उनले भारतमा मानवअधिकारको खतराका विरुद्ध अवश्य बोल्नुपर्ने बताए ।
डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपति उम्मेदवारकी आकांक्षी तथा सिनेटर एलिजाबेथ वारेनले भनिन्, ‘भारत जस्तो देशमा शान्तिपूर्ण प्रदर्शनकारीहरूमाथिको हिंसा स्वीकार्य छैन ।’
अमेरिकी सांसद रशिता तालिबले भनिन्, ‘दिल्लीमा अहिले मुसलमानहरूका विरुद्ध साम्प्रदायिक हिंसा भइरहेको छ । हामीहरू चुप बस्न सक्दैनौं किनकि अहिले देशभरि नै हिंसा भइरहेको छ ।’ एजेन्सी