अन्नतः बेलायत इयूबाट बाहिरियो, जोन्सन भन्छन्ः अब नयाँ बिहानी आउँछ
माघ १८, काठमाडाैं । अन्नतः बेलायत, युरोपेली सङ्घ (इयू)बाट औपचारिक रुपमा बाहिरिएको छ । बेलायतले शनिबार बिहानदेखि इयूसँगको ४७ वर्ष लामो आवद्धता तोडेको हो । प्रधानमन्त्री बोरिस जोन्सनले भिडियो सन्देशमार्फत अब नयाँ बिहानी आउने बताएका छन् ।
जोन्सनले अब देशलाई एक ढिक्का बनाएर अगाडि बढाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । बेलायत इयूबाट औपचारिक रुपमा बाहिरिएसँगै बेलायतले युरोपियन युनियनको झण्डा तल झारेको छ ।
युरोपेली सङ्घ छोड्नुपर्ने र छोड्न नहुने दुबै पक्षले प्रदर्शन गरेका बीबीसीले जनाएको छ । सङ्घको सदस्यता त्यागे पनि धेरैजसो कानून अहिलेकै कायम रहने र अब सङ्क्रमणकाल रहने भएकाले खासै ठूला परिवर्तन भने तत्कालै नदेखिने बीबीसीले जनाएको छ ।
सङ्घबाट अलग हुने कि नहुने भन्नेबारेमा बेलायतमा राजनीतिक खटपट चलिरहेको थियो। यसबारेमा गरिएको जनमत सङ्ग्रहमा बेलायती नागरिकरले सङ्घबाट अलग हुनुपर्ने पक्षमा मतदान गरेका थिए ।
इयूबाट अलग हुने प्रतिबद्धतामा गएको डिसेम्बर महिनामा भएको आमचुनावमा हाउस अफ कमन्सका ८० सदस्यको बहुमत पाएर चुनाव जितेपछि प्रधानमन्त्री जोन्सनले संसद्ममार्फत यो पछिल्लो सम्झौता गर्न सफल भएका थिए ।
योसँगै जनमतङ्ग्रहपछि भएका तीन वर्षभन्दा लामो समयको राजनीतिक खटपट सकिएको छ । जनमतङ्ग्रहमा ५२ प्रतिशत मत ईयू छोड्ने पक्षमा खसेको थियो । सुरूमा ब्रेक्जिट मार्च २९ का लागि तय गरिएको थियो । तर ईयू र पूर्वप्रधानमन्त्री टरिजा मेबीच भएको सम्झौतालाई सांसदहरूले अस्वीकार गरेपछि पटक पटक त्यो पछाडि धकेलिएको थियो ।