भिजिट नेपाल २०२० लाई सफल पार्न प्रोडक्टिभ कार्यको खाँचो

विश्वभर पर्यटनलाई समृद्धिको आधार मानिन्छ । नेपाल सरकारले पर्यटनलाई अर्थतन्त्रको आधारशीलाको रुपमा हेर्ने गरेको छ । देशमा पर्यटनका विभिन्न क्रियाकलाप र पर्यटनमुखी योजनाहरु निर्माण एवम् कार्यान्वयन भइरहेको पाइन्छ । अहिले देश पर्यटनमय भएको छ । सरकारले भिजिट नेपाल वर्ष २०२० को अवधारणा केन्द्रित कार्यक्रम गरिरहेको छ । यसअघि पनि भिजिट नेपाल वर्ष १९९८, नेपाल पर्यटन वर्ष २०११ पनि मनाइसकेको छ । २०२० मा २० लाख पर्यटक भित्र्याउने योजना बनाएको छ । प्रदेश नं. १ ले ५ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ ।  

नेपाल पर्यटन वर्षको शुभारम्म देशभर नै भइसकेको छ । यसलाई विभिन्न संघ संस्था, व्यवसायिक कम्पनीलगायतले महत्व दिइरहेका छन् । यसैमा केन्द्रित भएर विभिन्न छलफल एवम् कार्यक्रमहरुको पनि आयोजना भइरहेको छ । भ्रमण वर्ष २०२० लाई आधार बनाएर प्रदेशस्तरीय निम्नअनुसारको कार्यक्रमको खाँचो महसुस भएको छ । 

१) प्रदेश नं. १ को पर्यटन प्रोडक्ट डिक्लियर (निक्र्यौल) गर्ने 

प्रदेशको मौलिकता के हो ? प्रदेश नं. १ ले पर्यटन प्रोडक्ट के लाई मान्ने ? पर्यटकलाई के चिजको स्वाद दिने, के बेच्ने, कस्ता प्रकृतिका पर्यटकलाई टार्गेट गर्ने भन्ने निक्र्याैल नभएसम्म मार्केटिङ गर्न सक्दैन । जसले गर्दा चाहेजति पर्यटक भित्र्याएर पर्यटन व्यवसायबाट प्रतिफल लिन सकिदैन । अहिले प्रदेश नं. १ को समस्या पनि यहि देखिइरहेको छ । प्रदेशको पर्यटकीय प्रोडक्ट के हो त ? यसको निक्र्याैल गर्न सकिएको छैन । प्रदेश नं. १ को मुख्य पर्यटकीय प्रोडक्ट धार्मिक पर्यटन, ग्रामीण पर्यटन, जंगल पर्यटन, प्राकृतिक पर्यटन, पर्यावरणीय पर्यटन, साहसिक पर्यटन के हो ? यस विषयमा हामीले निक्र्याैल गर्न सकेका छैनौं । जसले गर्दा हामी कहिले धार्मिक पर्यटनको मार्केटिङ गर्छाै, कहिले साहसिक पर्यटनको । टार्गेट ग्रुप यो हो कि वा त्यो हो भनेर खोजी गर्दा गर्दै पछि रुमलिरहेको अवस्था छ । जसले गर्दा हामीसँग सम्भावना भएर पनि चाहेजति सफलता हात पार्न सकेका छैनौं । 

हाम्रा नजिकै भारतीय सीमा जोडिएका ठूला जनसंख्या भएका भारतीय प्रदेशहरु बिहार र बंगाल एवम् बंगलादेश छन् । तर, हामीसँग मुख्य पर्यटकीय प्रोडक्ट तय नभएकाले टार्गेट ग्रुप छनौट गर्न सकेका छैनौं । यसैले यदि हामीले पर्यटन व्यवसायबाट अर्थाेपार्जन गरेर समृद्धि एवम् रेभिन्यु भित्र्याउने हो भने हामीले सर्वप्रथम प्रदेश नं. १ को मुख्य पर्यटन प्रोडक्ट तय गर्नुपर्छ । सोही 

अनुसारको टार्गेट ग्रुप छनौट गरी मार्केटिङ गरेर पर्यटक भित्र्याउन पहल गर्नुपर्छ । 

२) बजारीकरण (मार्केटिङ) 

पूर्वेलीहरुले पर्यटनबाट सोचेजति प्रतिफल लिन नसक्नुको मुख्य कारण गन्तव्यको प्रचार नहुनु हो । गन्तव्यको ऐतिहासिकता र महत्वको प्रचार गर्न सकेका छैनौं । प्रचार नभएका स्थानमा आफैं खोज्दै आउने पर्यटकहरुको संख्या एकदमै न्यून हुन्छ । पर्यटकको संख्या कम हुँदा लगानीअनुसारको प्रतिफल पाउन कठिन हुन्छ । जसले गर्दा पर्यटन व्यवसायमा लगानी गर्न हिच्किचाउछन् । लगानी गरेकाहरुले पनि रिक्स अनुसार आर्थिक प्रतिफल लिन सकेका छैनन् । यसैको फलस्वरुप यस क्षेत्रका युवापुस्ता आफ्नै क्षेत्रबाट बिमुख भएर अन्यत्र आकर्षित भएर जाने गर्दछन् । 

प्रदेश नं. १ को सीमा नजिकै ठूलो जनसंख्या भएको देश भारत र बंगलादेश छ । भारतको बिहारमा करिब साढे १० करोड जनसंख्या, भारतको बंगालमा करिब १० करोड जनसंख्या र बंगलादेशमा करिब साढे १६ करोड जनसंख्या छ । बिहारको जनसंख्यामध्ये ८२.६९ प्रतिशत हिन्दू, ०.०२ प्रतिशत बुद्धिष्ट, पश्चिम बंगालको जनसंख्यामध्ये ७०.५४ प्रतिशत हिन्दू, ०.३१ प्रतिशत बुद्धिष्ट र बंगलादेशमा ८.५४ प्रतिशत हिन्दू, ०.६० प्रतिशत बुद्धिष्ट सम्प्रदायका जनसंख्या रहेका छन् । हिन्दू धर्ममा तीन मुख्य सम्प्रदाय रहेको हुन्छ । शैव, वैष्णव र शाक्त । प्रदेश नं. १ को सबल पक्ष यसै क्षेत्रमा हिन्दू सम्प्रदायका तीन वटै इष्टदेवको ठूला धार्मिक केन्द्र छन् । तत्काल पर्यटकलाई बिक्री गर्न सक्ने प्रोडक्ट भनेको धार्मिक प्रोडक्ट हामी विद्यमान छ ।  

शैवका लागि पौराणिक धार्मिकस्थल हलेसी र पिण्डेश्वर, वैष्णवका लागि प्राचीन हरिद्वार चतराको बराहक्षेत्र र विष्णुपादुका रहेका छन् भने शाक्तका लागि ताप्लेजुडकी अलौकिक पाथीभरा देवी रहेका छन् । यसैगरी हिन्दू, बुद्धिष्ट र किरात धर्मावलम्बीहरुका लागि त्रिधार्मिक संगम केन्द्र हलेसी रहेको छ । बुद्धिष्ट सम्प्रदायको बाहुल्यता रहेको भारतको सिक्किम र भुटान पनि प्रदेशको बजार हो । यस क्षेत्रका पर्यटकहरु बुद्ध धर्मका धर्मगुरु रिम्पोछेले ध्यान गरेको स्थान हलेसी दर्शन गर्न लालयित हुन्छन् । यस क्षेत्रका मानिसहरुबीचमा हामीले मार्केटिङ गर्न सक्छौं । सीमा नजिकै ठूलो बजार पनि छ । त्यस प्रदेश १ मा कसरी भित्र्याउने पाँच लाख पर्यटक क्षेत्रमा हामीले आवश्यकीय प्रचार गर्न चुकिरहेका छौं । यसको पनि हामीले बजारीकरण गर्न भने सकेका छैनौं । मार्केटिङका विभिन्न स्ट्राटेजी अपनाएर प्रचार गर्न आवश्यक छ । 

यसैले यदि हामीले भिजिट नेपाल वर्ष २०२० लाई नारामा मात्र सीमित बन्न नदिने हो भने प्रोडक्टिभ कार्यको खाँचो छ । जसले २०२० मा मात्र नभएर त्यसपछिका २० वर्षपछि पनि यसले दीर्घकालीन स्थान पाउन सक्ने किसिमका कार्यक्रमको आयोजना गर्न जरुरी छ । हामी आफू आफू मात्रै पर्यटन वर्ष भनेर उफ्रिएर मात्र पर्यटकको संख्यामा वृद्धि हुदैन । नेपाल पर्यटन वर्षको मुख्य मर्म भनेको बाहिरबाट पर्यटक भित्र्याउनु पर्छ भन्ने हो । पर्यटक भित्र्याउनमा बाहिरी प्रचारप्रसारको मुख्य हात छ । 

 यस किसिमका क्रियाकलापले भिजिट वर्ष २०२० लाई सफल बन्नमा केही हदसम्म सहयोग पुग्नेछ । हामीले प्रदेशको मुख्य पर्यटन प्रोडक्ट निक्र्याैल गरेपश्चात त्यसलाई मुख्य आकर्षण बनाइ अन्य प्रोडक्टलाई सहायक आकर्षणका रुपमा सजावट गरी टार्गेट ग्रुपमा मार्केटिङको गर्यौ भने प्रदेश सरकारले लिएको ५ लाख पर्यटक भित्र्याउने योजना सफल हुनेछ । यस क्षेत्रमा तत्कालै तेस्रो मुलुकका पर्यटक भित्र्याउन कदम चाल्न नसकेपनि दोस्रो मुलुकका पर्यटकले यस क्षेत्रको पर्यटन व्यवसायलाई थाम्न सक्नेछ । 

यदि पर्यटन प्रोडक्ट तय गर्न सफल भयौं भने प्रदेशले एकिकृत मार्केटिङ गर्दछ । टार्गेट मार्केटमा प्रमोशन गर्दा आशातित प्रतिफल पाउन सकिन्छ । यसका साथै हामीले नीतिगत केही कार्यहरु गर्न सक्छौंः 

क) भारतबाट आउने पर्यटकहरुलाई विभिन्न स्थानमा रोकेर सवारी वा कागजात चेकजाँच गरिन्छ । त्यतिमात्र होइन ठाउँ ठाउँमा विभिन्न किसिमका शुल्कहरु असुल्ने गरिन्छ । त्यस्ता कार्यलाई नाकामा नै चेकजाँच वा निगरानी गर्ने व्यवस्था मिलाउने । बाटोमा भारतीय गाडी रोकेर करका नाममा शुल्क उठाउने कार्यमा रोक लगाउन पहल गर्ने । एवम् २०२० को कार्यक्रमलाई थप टेवा पुर्याउनका लागि त्यस अवधिसम्मका लागि पर्यटकीय गाडीलाई भन्सार छुटको धारणा अघि बढाउन सकिन्छ । जसले गर्दा स्तरीय पर्यटकको संख्यामा वृद्धि हुनका साथै भारतीय पर्यटकलाई नेपाल आउने बानीको पनि विकास हुन्छ । 

ख) प्रदेश नं. १ बाट विभिन्न स्थानमा डाइरेक्ट बस सेवाहरुको सुरुवातका लागि पहल गर्न सकिन्छ । जस्तैः सिक्किम, दार्जिलिङ, सिलिगुढी, कोलकत्ता, पटनालगायतका स्थानहरुमा लबिङ गरिदिने 

लगायतका कार्य गर्न सकिन्छ । 

ग) बंगलादेशी पर्यटकलाई समूहमा घुम्न निस्किन्छन् । सबल पक्ष बंगलादेशबाट नेपालको सडक मार्ग सहज र सुलभ छ । उनीहरुलाई यस क्षेत्रमा घुम्न आउने प्याकेजको निर्माण गर्ने र उक्त देशका पर्यटन व्यवसायी विशेषगरी टुर अपरेटरलाई यस क्षेत्रमा ल्याइ अवलोकन गराएर आफ्ना स्थानको पहुँच त्यहाँसम्म पु¥याउने र प्याकेज निर्माण गरी बिक्री वितरणमा लबिङ गर्ने ।   

घ) नाका वा अध्यागमनमा पर्यटकीय गन्तव्यका विषयमा सूचना दिने व्यवस्था ।   

ङ) पर्यटक सीमको व्यवस्था ।   

च) मुद्रा सटही काउण्टहरुको सहजता ।   

छ) पर्यटन केन्द्रहरुमा एटिएमको सहज सुबिधा । 

ज) सहज अध्यागमन प्रक्रिया ।   

झ) अध्यागमन कर्मचारीलाई पर्यटनमैत्री व्यवहार शिक्षा । 

  (मगर नेपाल पर्यटन वर्ष २०२० प्रदेश नं. १ सचिवालय सदस्य हुन् ।)  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *