होटेल व्यवसायी कुटिएपछि गायक प्रकाश कटुवाल पक्राउ

फागुन ६, तनहुँ । बन्दीपुर गाउँपालिका डुम्रेका होटल व्यवसायी लालकाजी गुरुङमाथि आक्रमण गरेको अभियोगमा लोकदोहोरी गायक प्रकाश कटुवाल पक्राउ परेका छन् । गायक कटुवालविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा दर्ता गरिएको छ । 

गुरुङकी छोरी सोनीकाले सोमबार गायक कटुवालविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा किटानी जाहेरी दिएपछि कटुवाललाई प्रहरीले पक्राउ गरेको जनाएको छ । जाहेरीसँगै गायक कटुवाललाई प्रहरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए । सिलवालले गायक कटुवालविरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी दर्ता भएको बताए ।   

उनका अनसार डुम्रेका व्यसवायीहरुले आइतबारदेखि गायक कटुवालविरुद्ध जाहेरी दिने प्रयास गरेका थिए । तर प्रहरीले सोमबार मात्रै जाहेरी दर्ता गरेको हो ।   

शनिबार पोखरा जाने क्रममा गायक कटुवालकी श्रीमतीले डाँफे होटल अगाडी वान्ता गरेपछि त्यही निहुँमा होटल सञ्चालक गुरुङ र गायक कटुवालबीच सामान्य विवाद भएको थियो । केही समयको विवादपछि दुई पक्षबीच सहमति भई मिलापत्र भएर गायक पोखरा गएका स्रोतले जनाएको छ । साँझ घरमा खाना खाइरहेको अवस्थामा व्यवसायी गुरुङलाई मास्क लगाएर मोटरसाइकलमा आएका दुई व्यक्तिले एक्कासी रडले आक्रमण गरेर गम्भीर घाइते बनाएका छन् ।  

घाइते गुरुङको काठमाडौंस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार भइरहेको प्रहरी उपरीक्षक सिलवालले बताए । उनका अनुसार गुरुङको अवस्था गम्भीर छ । आक्रमणमा गायक कटुवाल संलग्न भएको आरोप पीडितका परिवारले लगाएका छन् । त्यही आरोपमा उनीविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *