२१ जनाको गोली हानी हत्या गर्ने सैनिक मारिए !
माघ २६, एजेन्सी । थाईल्यान्डमा आफ्ना कमान्डरसहित २१ जनालाई गोली हानी मारेका एक सैनिकलाई सुरक्षाकर्मीले मारेको प्रहरीले बताएको बीबीसीले जनाएको छ।
जक्रफन्थ थोम्मा नामक ती सैनिकले शनिवार आफ्नो कमान्डरलाई मारेर सैनिक शिविरबाट हतियार चोरेका थिए।
नकोन रात्चासिमा नगरमा भएको उक्त घटनामा ती सैनिकले त्यहाँस्थित एउटा किनमेल केन्द्रमा गएर पनि अन्धाधुन्ध गोली चलाएका थिए।
उनले विभिन्न सामग्री सामाजिक सञ्जालमा पनि हालिरहे। तर उनको उद्देश्य प्रस्ट भएको छैन।
के भयो किनमेल केन्द्रमा ?
आइतवार सबेरै थाईल्यान्डका जनस्वास्थ्य मन्त्रीले आफ्नो फेसबुकमा ती सैनिकलाई मारिदिएकोमा सुरक्षाकर्मीलाई धन्यवाद दिएका छन्। स्थानीय समय अनुसार बिहान ३ बजेतिर किनमेल केन्द्रमा सुरक्षाकर्मी घुसेपछि गोली चलेको आवाज आएको थियो ।
केन्द्रमा लुकिरहेका ती हतियारधारी सैनिकलाई कब्जामा लिन गरिएको कारबाहीमा एकजना सुरक्षाकर्मी मारिएको तथा दुईजना घाइते भएको बताइएको छ।
कैयन् मानिसहरूलाई किनमेल केन्द्रबाट सुरक्षित बाहिर निकालिएको थियो तर अझै कतिपयलाई त्यहाँभित्र बन्धक बनाइएको हुनसक्ने ठानिएको थियो।
स्थानीय समय अनुसार साढे ९ बजेतिर प्रहरीले बन्दुकधारी मारिएको पुष्टि गर्यो तर कारबाहीको विवरण भने खुलाइएको छैन। यसअघि विवरणहरूमा ३२ वर्षीय ती बन्दुकधारी भवनको पछिल्तिरबाट भाग्न खोजेको जनाइएको थियो।
आत्मसमर्पण गर्न लगाउन उनको आमालाई पनि त्यहाँ लगिएको थियो।
के थियो घटना ?
शनिवार स्थानीय समय साढे ३ बजेतिर त्यहाँको सैनिक शिविरमा ती सैनिकले कमान्डरलाई मारिदिएपछि घटना सुरु भएको थियो। सो स्थलमा ती कमान्डरका सासु तथा अर्का एक सैनिक पनि मारिए।
त्यसपछि ती व्यक्तिले हतियार चोरे अनि त्यहाँ रहेको गाडी चढेर भागे। त्यसपछि उनले ठाउँठाउँमा जथाभावी गोली चलाउँदै गए।
सीसीटीभीको फुटेजमा उनी किनमेल केन्द्रभित्र राइफल उज्याउँदै पुगेको देखिन्छ।
घटनाकै बीचमा तिनले फेसबुकमा पोस्ट गरेर आत्मसमर्पण गर्नु पर्ला कि भनेर सोधेका थिए।
यसअघि उनले फेसबुकमा पेस्तोल र तीन गोलीको तस्बिर राखेर अब मजा गर्ने समय आएको र कसैले पनि मृत्युलाई छल्न नसक्ने भनेर लेखेका थिए।
फेसबुकले अहिले त्यो पेज हटाइदिएको छ।