‘दाह्री पालेको र नकाब लगाएकोमा चीनमा मुस्लिमहरु थुनिए’
फागुन ६, काठमाडौं । चीनले युगुर मुस्लिम समुदायदका मानिसलाई दाह्री पालेको, पछ्यौरा ओढेको वा इन्टरनेट चलाएकै आधारमा डिटेन्सन सेन्टरमा बन्धक बनाएको खुलासा भएको छ ।
बीबीसीले सार्वजनिक गरेको १ सय ३७ पृष्टको दस्ताबेजमा मानिसहरुलाई दाह्री पालेको, नकाव लगाएको तथा इन्टरनेट चलाएको आधारमा समेत थुनिएको उल्लेख छ ।
दस्तावेजमा मानिसहरूले कसरी प्रार्थना गर्छन्, कस्तो लुगा लगाउँछन्, कोसँग सम्पर्क राख्छन् र उनीहरूका परिवारका सदस्यले कस्तो व्यवहार गर्छन् भन्नेसम्मका विवरण समेटिएका छन् ।आतङ्कवाद र धार्मिक अतिवादसँग लडिरहेको भन्दै चीनले कुनै गलत काम नगरेको बताउने गरेको छ ।
जोखिम
यो दस्ताबेज सिन्जियाङस्थित त्यही स्रोतले व्यक्तिगत रूपमा ठूलो जोखिम मोल्दै चुहावट गरेको हुनुपर्छ जुन स्रोतले गत वर्ष निकै संवेदनशील दस्तावेजहरू बाहिर ल्याएको थियो । सिन्जियाङमा चिनियाँ नीति बारेका अग्रणी विज्ञमध्येका एक वाशिङ्टनस्थित भिक्टिम्स अफ कम्युनिज्म मेमोरिअल फाउन्डेशनसँग आबद्ध डा. एन्ड्रिआन जेन्ज चुहावट गरिएको पछिल्लो दस्ताबेज वास्तविक भएको विश्वास गर्छन् ।
‘यो महत्त्वपूर्ण दस्ताबेज परम्परागत धार्मिक अभ्यासलाई दबाउन र दण्डित गर्न बेइजिङ कति सक्रियताका साथ लागिपरेको छ भन्ने कुराको आजको मितिसम्म मैले देखेको सबैभन्दा बलियो प्रमाण हो,’ जेन्ज भन्छन् । नम्बर फोर ट्रेनिङ सेन्टरु भनेर उल्लेख गरिएको एउटा शिविरलाई जेन्जले पनि पहिचान गरेका छन् ।
चिनियाँ अधिकारीहरूले गत वर्षको मे महिनामा बीबीसीलाई भ्रमण गराएका शिविरमध्ये त्यो एउटा हो । बीबीसीको टोलीले ल्याएका धेरै प्रमाणहरूलाई नयाँ दस्ताबेजले पुष्टि गरेको छ, त्यसमा समावेश गरिएका मानिसहरूको गोपनीयता कायम राख्न प्रकाशनका लागि केही सम्पादन गरिएको छ । तीन सय ११ जना व्यक्तिमाथि चलाइएको अनुसन्धानका विस्तृत विवरण त्यसमा छ ।
उद्देश्य
त्यसमा उनीहरूको पृष्ठभूमि, धार्मिक चालचलन तथा सयौँ आफन्त, छिमेकी र साथीहरूसँगको सम्बन्धबारे विवरण रहेका छन् । अन्तिम कोलममा निर्णय लेखिएका छन् जसमा पुनर्शिक्षण शिविरहरूमा रहेका व्यक्तिहरूलाई छाड्नुपर्छ वा राखिराख्नुपर्छ र रिहा गरिसकिएका मानिसहरूलाई फर्काउन आवश्यक छ वा छैन भनिएको छ ।
ती शिविरहरू नितान्त रूपमा विद्यालय हुन् भन्ने चिनियाँ दाबीसँग यो प्रमाण सीधै विरोधाभासपूर्ण छ । पछिल्लो दस्तावेजको समीक्षा र पुष्टि गर्ने एउटा लेखमा जेन्जले चिनियाँ प्रणालीको वास्तविक उद्देश्यबारे त्यसले निकै गहिरो बुझाइ प्रदान गरेको भनेका छन् ।
पाँच सय ९८ औँ लहरमा पहिलो नाम हेल्सेम भएकी एउटी ३८ वर्षीया महिलाको मुद्दा छ जसलाई एउटा प्रमुख कारणले पुनर्शिक्षण शिविरमा पठाइएको रहे । त्यसमा लेखिएको छस् केही वर्षअघि उनले नकाब लगाएकी थिइन् ।
नुरमेमेत नाम गरेका २८ वर्षीय पुरुषबारे २३९ औँ लहरमा उल्लेख गरिएको छ र उनलाई पुनर्शिक्षण शिविर पठाइनुको कारण एउटा वेबलिङ्कमा क्लिक गरेर असावधानीवश एउटा विदेशी वेबसाइटमा पुग्छन् । एक ६५ वर्षीय पुरुष युसुपबारे १७९ औँ, ३१५ औँ र ३४५ औँ लहरमा लेखाजोखा गरिएको छ ।
उनी बारेका विवरणमा उनका दुई छोरीले ‘सन् २०१४ र सन् २०१५ मा नकाब तथा बुर्का लगाएकोू’ छोराको इस्लामिक राजनीतिप्रति झुकाव भएको र एउटा परिवारले ‘हानविरोधी स्पष्ट भावना’ व्यक्त गरेको उल्लेख छ ।
-बीबीसी