दिल्ली विधानसभामा केजरीवालको ह्याट्रिक, मोदीले दिए बधाई

माघ २९, काठमाडौं । दिल्लीमा भएको विधानसभा निर्वाचनमा सत्तारुढ पार्टी आम आदमी पार्टी ६२ सिटमा विजय भएको छ ।   

त्यस्तै भारतीय जनता पाटी (भाजपा)ले आठ स्थानमा विजय हाँसिल गरेको छ । कूल ७० सिटको विधानसभामा केन्द्रमा प्रमुख प्रतिपक्षी दल भारतीय कङ्ग्रेसले कुनै पनि स्थान सुरक्षित गर्न सकेन । 

चुनावमा आफ्नो पार्टीले सानदार जित हासिल गरेपछि दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आफ्नो अर्को कार्यकाल सुरक्षित बनाएका छन् । चुनावी परिणामले केन्द्रको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)लाई ठूलो धक्का दिएको छ जसले गत वर्षको आमचुनाव सानदार रुपमा जितेको थियो । 

‘यो भारत आमाको जित हो,’ पार्टी कार्यालयमा रहेका आफ्ना समर्थकमाझ केजरीवालले भने । ५१ वर्षीय पूर्वकर्मचारी केजरीवाल भ्रष्टाचारविरोधी अभियान गर्दै राजनीतिमा उदाएका थिए । दुई पटक मुख्यमन्त्री रहिसकेका केजरीवाल यसपालि पनि मुख्यमन्त्रीका दाबेदार हुन् । उनले मुख्यमन्त्रीमा ह्याट्रिक गर्ने भएका छन् ।   

यसअघि सन् २०१३मा केजरीवाल ४९ दिनका लागि मुख्यमन्त्री बनेका थिए । त्यसैगरी सन् २०१५को विधानसभा चुनावमा ७० मध्ये ६७ सिट जित हासिल गरी आम आदमी पार्टीले सरकार बनाएको थियो । 

यसैबीच प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो ट्वीटर मार्फत मुख्यमन्त्री समेत रहेका आमआदमीका अध्यक्ष अरविन्द केजरीवाललाई बधाई दिएका छन् । उनले भनेका छन्- आमआदमीलाई बधाई छ, दिल्लीका जनताको आकांक्षा पुरा गर्ने शुभकामना पनि दिन चाहन्छु । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *