नाला गुम्मालाई चेक रिपब्लिकको एम्बुलेन्स र मेडिकल उपकरण

फागुन ३, भक्तपुर । चेक रिपब्लिक डेभलपमेन्ट कोअपरेसनले नालास्थित धाग्पो शिडरब लिङ फाउन्डेसनलाई एउटा एम्बुलेन्स, विभिन्न मेडिकल उपकरणहरु र एउटा मालबाहक गाडी सहयोग गरेको छ । नेपालका लागि चेक रिपब्लिकका राजदूत मिलान होभोर्काले शुक्रबार एक समारोहबीच फाउन्डेसनका प्रतिनिधिलाई एम्बुलेन्स र मालबाहक गाडीको साँचो हस्तान्तरण गरे ।   

एम्बुलेन्समा आपतकालीन अवस्थामा काम लाग्ने अत्याधुनिक चिकित्सकीय उपकरणहरु समेत जडान गरिएको छ । चेक रिपब्लिकले स्पाइन बोर्ड, भ्याक्युम म्याट्रेस, अक्सिमिटर, आईभी लाइन, ट्रान्सपोर्ट स्ट्रेचर, अक्सिजन सिलिन्डर, सर्जिकल सेट, इक्ज्यामिनेसन बेड, मेच र प्राइभेसी बुथ लगायतका सामग्री हस्तान्तरण गरेको हो । सो अवसरमा नेपालका लागि चेक रिपब्लिकका अवैतनिक महावाणिज्यदूत विष्णुकुमार अग्रवालको पनि उपस्थिति थियो ।   

‘यो क्षेत्रमा आवश्यक रहेको एम्बुलेन्स उपलब्ध गराउन पाउँदा हामी खुसी छौं । आशा छ, यो एम्बुलेन्सले नाला क्षेत्रका बासिन्दलाई समयमै अस्पताल पुग्न मद्दत गर्नेछ,’ हस्तान्तरण कार्यक्रममा राजदूत मिलान होभोर्काले भने ‘यो हाम्रो सानै सहयोगले नेपाल र चेक रिपब्लिक र यहाँका जनताबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने अपेक्षा गरेका छौं ।’ 

कार्यक्रममा धाग्पो शिडरब लिङ फाउन्डेसनका प्रतिनिधि लेक्शे घलले सहयोग र साझेदारीका लागि चेक रिपब्लिकका जनता, चेक रिपब्लिक डेभलपमेन्ट कोअपरेसन र चिकित्सकीय क्षेत्रमा काम गर्ने चेक संस्था मेडेभ्याकप्रति कृतज्ञता प्रकट गर्नु गरे । ‘एम्बुलेन्सलाई गुम्बाका विद्यार्थी मात्र होइन, नालामा बसोबास गर्ने जोसुकै बिरामीलाई अस्पताल पुर्याउन प्रयोग गरिनेछ ।’ उनले भने । 

नाला क्षेत्र सुविधासम्पन्न अस्पताल भएको काठमाडौं र धुलिखेल दुवै स्थानबाट करिब २० किलोमिटर टाढा पर्छ । यहाँबाट सार्वजनिक यातायातमा सुविधासम्पन्न अस्पतालमा पुग्न करिब दुई घन्टा लाग्छ जसले गर्दा बिरामीको ज्यान जाने जोखिम रहन्छ ।   

चेक रिपब्लिकले नयाँ एम्बुलेन्सले बिरामीलाई राम्रो अस्पतालमा समयमै पु¥याउन सहयोग गर्ने अपेक्षा गरेको छ । नेपाल र नेपालीको जीवनस्तर अभिवृद्धि गर्न चेक रिपब्लिक डेभलपमेन्ट कोअपरेसनले विभिन्न परियोजनाहरु सञ्चालन गर्दै आएको छ । यो संस्थाले विशेषगरी, शिक्षा, स्वास्थ्य, सरसफाई र खानेपानीको क्षेत्रमा काम गर्दै आएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *