कोरोना आशंकामा वुहानबाट नेपाल आउन नपाएका सबै नेपाली स्वस्थ !

तस्विरः रासस/प्रदीपराज वन्त 

फागुन ४, काठमाडौं । चीनको वुहानबाट कोरोना भाइरसको आशंकामा नेपाल फर्कन नपाएका ६ जना नेपाली स्वस्थ रहेको चीनस्थित नेपाली दूतावासले जनाएको छ ।  

चीनको वुहानबाट नेपाल फर्कनका लागि १८५ जना नेपाली दूतावासको सम्पर्कमा आएका थिए । शनिबार उनीहरुको उद्धारका लागि नेपाल एयरलाइन्सको ए ३३० वाइडबडी विमान  गएको थियो ।  

विमानमा चार स्वास्थ्यकर्मी, तीन पाइलट, सात क्रुमेम्बर, एक इन्जिनियर, एक प्राविधिक र एक डिस्पास्चर गरी १७ चिकित्सकसहितको टोली थिए ।  

विमानस्थलमा पुगिसकेपछि सबै नेपालीको स्वास्थ्य परिक्षण गरिएको थियो । परिक्षणका क्रममा ६ जनाको शरीरमा ३७.३ डिग्रीभन्दा बढी तापक्रम भेटिएपछि उनीहरुलाई कोरोनाको आशंकामा चीनमै राखिएको थियो । ४ जना भने उतै बसेका थिए ।  

कोरोनाको आशंका गरी चीनको एयरपोर्टमै रोकिएका ६ जनामा संक्रमण फेला नपरेको पुष्टि भइसकेको र उनीहरु आ–आफ्नो यूनिभर्सिटी फर्किसकेको चीनस्थित नेपाली दूतावासका नियोग उपप्रमुख सुशील लम्सालले जानकारी दिएका हुन् ।  

आज बिहान वुहानबाट ५५, एन्सीबाट २६, सियानबाट २९, यिचाङबाट ८, जिङमेनबाट ९ र जिङ्जाओबाट ४८ यात्रुसहित १७५ जनालाई उद्धार गरि नेपाल ल्याइएको हो । जसमा १ सय ३४ जना पुरुष र ४१ जना महिला रहेका छन् । 

चीनबाट उद्धार गरिएकाहरुलाई भक्तपुरको चाँगुनारायण नगरपालिकास्थित खरिपाटीमा राखिएको छ । चीनको हुवेइ प्रान्तबाट नेपाली समय अनुसार बेलुकी करिब साढे १० बजे वुहानबाट उडेको नेपाल एयरलाइन्सको अन्नपूर्ण जहाज आइतवार बिहान करिव साढे ३ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरिएको थियो । 

खरिपाटी पुगेका उनीहरुलाई १४ दिन त्यहाँ बनाइएको क्वारेन्टाइनमा राखिनेछ। त्यसबेलासम्म उनीहरुले आफ्नो घर परिवार भेट्न पाउने छैनन् ।  

क्वारेण्टाइनमा राखिएका सबैलाई हरेक दिन जाँच गरिन्छ । जाँच गर्दा ज्वरो या रुघाखोकी देखिए तत्काल एम्बुलेन्समार्फत अस्पतालहरुमा आइशोलेशनमा राख्न पठाइन्छ ।  

लगातार १४ दिन नै उनीहरुमा कोरोना भए–नभएको समेत परीक्षण गरिने छ । त्यसका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट स्वास्थ्यकर्मीहरु खटाइएको छ ।  

क्वारेण्टाइनमा राखिएकाहरुको निगरानी गर्न सेना–प्रहरीका ८० जना स्वास्थ्यकर्मीहरु खटाइएको छ। उनीहरुले पालैपालो निगरानी गर्नेछन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *