धर्मको खोल ओढेर ठगी धन्दा चलाउने बाल योगेश्वर भण्डारी विरुद्ध पक्राउ पूर्जी
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
![](https://www.makalukhabar.com/wp-content/uploads/2021/01/nophoto.png)
माघ १८, काठमाडौं । धर्मको खोल ओढेर ठगी गर्दै हिँड्ने आफुलाई बाल योगेश्वर बताउने विजय भण्डारीलाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले पूर्जी जारी गरेको छ ।
युवाहरुलाई बैदेशिक रोजगारीमा अमेरिका लगायत विभिन्न देश पुर्याउने भन्दै लाखौं ठगी गर्दै हिँडेका भण्डारीलाई जिप्रका काठमाडौंले ठगीको आरोपमा पक्राउ गर्न पूर्जी जारी गरेको हो ।
महानगरीय प्रहरी परिसरका प्रवक्ता होविन्द्र वोगटीले विदेश पठाउने भन्दै केहि युवालाई ठगेको तथा १२ लाखको बाउन्स चेक काण्डमा भण्डारीलाई पक्राउ पूर्जी जारी भएको जानकारी दिए ।
यस अघिपनि १८ महिना ठगी आरोपमा हिरासत बसिसकेका भण्डारी चितवनमा १ महिनाको श्रीमद्भागवत महापुराणमा भागवत भन्ने तयारीमा थिए । महायज्ञको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गर्ने कार्यक्रम तय भएकै दिन कान्तिपुर दैनिकले भण्डारीका कर्तुत सार्वजनिक गरेको थियो ।
त्यसपछि उपराष्ट्रपति पुनले विवादमा पर्ने देखिएपछि महायज्ञ नै उद्घाटन गरेनन् । कान्तिपुरले श्रृंखलाबद्ध रुपमा भण्डारीका कर्तुत सार्वजनिक गरेपछि चितवनमा लगाइएको महायज्ञ समेत स्थगीत भएको छ ।
पटक पटक धर्मका नाममा युवाहरुलाई ठगी गर्दै आएका भण्डारीले केहि युवालाई खातामा पैसा नभएको चेक दिने गरेका थिए ।
बाल योगेश्वर महाराज नामले परिचित भण्डारी दोस्रो पटक जेल परिसकेका छन् । उनलाई २०७१ साल भदौमा महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको थियो । अमेरिका लैजाने भन्दै विभिन्न व्यक्तिहरुबाट रकम ठगेको उजुरीका आधारमा जेल सजाय भुक्तान गरेका उनी स्वामी विष्णु प्रपन्नाचार्यका नामबाट चिनिन्थे । जिल्ला अदालत काठमाडौंले भण्डारीलाई २०७३ मंसिर ६ गते ठगी मुद्दामा १ वर्ष जेल सजाय र ८१ लाख ७७ हजार २ सय रुपैयाँ बिगोसहितको जरिवाना सुनाएको थियो ।
उनले १ वर्ष कैद सजाय भुक्तान गरेपछि जरिवाना रकम भने बुझाएका थिएनन् ।
उनले जिल्ला अदालतको फैसलालाई चुनौति दिँदै उच्च अदालत पाटनमा पुनरावलोकनका लागि गएपनि उच्च अदालतले २०७५ मंसिर ११ गते जिल्ला अदालतकै फैसलालाई सदर गरिदिएपछि उनलाई पुनः पक्राउ गरी कैद भुक्तानको लागि सदरखोर डिल्लीबजार पठाएको थियो ।
त्यसपछि पनि उनी २०७६ बैशाख १३ गतेदेखि ३१ गतेसम्म ठगीकै मुद्दामा डिल्लीबजार कारागारमा बसेका छन् ।
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)