शेयर बजारमा लघुवित्तको समुह अगाडी, नेपाल फाइनान्सको मुल्य घट्दै

फागुन १४, काठमाडौं । दुई महिनादेखि शेयर बजार लगातार बढ्दो क्रममा रहँदा लघुवित्त उपसमूह अगाडी देखिएका छन् । लघुवित्त उपसमूह ६९.४८ प्रतिशतले पहिलो भएको छ । होटेल उपसमूह पुछारमा छ । होटल समुहको वृद्धि ७.४४ प्रतिशत मात्र छ । लघुवित्त उपसमूहको सूचक ११३८.२७ अङ्क बढ्दै २७७६.५० अंकमा उक्लिएको छ। होटेल समूह १३५.८६ अङ्क बढेर सूचक १९६१.५२ अंकमा उक्लिएको छ।   

समूहगत रुपमा बढ्दो क्रमको दोस्रो स्थानमा निर्जीवन बीमा समूह छ । तेस्रोमा जीवन बीमा, चौथोमा ट्रेडिङ छ। वाणिज्य बैङ्क उपसमूह छैठौ स्थानमा छ । दोस्रो बजारका लगानीकर्ताको रोजाइमा लघुवित्त परेपछि वृद्धिदर बढी देखिएको छ । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत अधिकांश माइक्रोफाइनान्स कम्पनीहरूको शेयर मूल्य अन्य कम्पनीको भन्दा उच्च छ। 

जीवन बीमा उपसमूहको सूचक ५५.७४ प्रतिशत र निर्जीवन बीमा उपसमूहको सूचक ६०.५७ प्रतिशतले बढेको छ। हाइड्रोपावर उपसमूहको सूचक २० प्रतिशतले बढेको भएपनि अझै १० वटाभन्दा धेरै हाइड्रोपावर कम्पनीहरूको शेयर मूल्य अंकित मूल्यभन्दा कम छ। सानिमा माई हाइड्रोपावरको शेयर मूल्य ५४ प्रतिशत बढेको छ । राधी र नेपाल हाइड्रोको शेयर मूल्य ४० प्रतिशतभन्दा बढिले बढेको छ । 

यता बैङ्किङ उपसमूहको सूचक माइक्रोफाइनान्स र बिमा कम्पनीहरूको तुलनामा कम बढेको छ। बैङ्किङ उपसमूहको सूचक २६ प्रतिशतले बढेको छ। एनएमबि बैङ्क र एनआइसी एसिया बैङ्कको शेयर मुल्य क्रमशः ४७.२२ प्रतिशत र ४५.८३ प्रतिशतले बढेको छ। एभरेस्ट बैङ्क, स्ट्यान्डर्ड चाटर्ड, एसबिआई, प्राइम कमर्शियल, हिमालयन र लक्ष्मी बैङ्कको शेयर मूल्य ३० प्रतिशतभन्दा धेरै बढेको छ। 

विकास बैङ्क उपसमूहको सूचक २५.८१ प्रतिशत, फाइनान्स उपसमूहको सूचक २५.०५ प्रतिशत, उत्पादनमूलक उपसमूहको सूचक ३०.३९ प्रतिशत, सामूहिक लगानी कोष उपसमूहको सूचक १५.११ प्रतिशत, अन्य उपसमूहको सूचक २०.८९ प्रतिशत र व्यापार उपसमूहको सूचक ४५.१६ प्रतिशतले बढेको छ। 

गत पुस १६ गते यता फागुन १३ गते मङ्गलबारसम्म नेपाल स्टक एक्सचेन्ज ९नेप्से० को कारोबार मापक सूचक साढे ३२ प्रतिशतभन्दा धेरैले बढेको छ। त्यस यता हिजो मङ्गलबारसम्म बजार ३७९ अङ्कले बढेर १५४५ अंकमा उक्लिएको छ । आठ सातामा नेप्सेमा सूचीकृत सबै कम्पनीको शेयर मूल्य बढे पनि नेपाल फाइनान्सको शेयर मूल्य घटेको छ। फाइनान्सको शेयर मूल्य ४.१७ प्रतिशतले घटेको छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *