दरबारमार्गमा खुल्यो चिनियाँ भिसा सेन्टर

फागुन १२, काठमाडौं । चीनले काठमाडौंको दरबारमार्गमा चिनियाँ भिसा आवेदन केन्द्र स्थापना गरेको छ । नेपालका लागि चिनियाँ राजदुत होउ यान्छी र अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले दरवारमार्गस्थित राइजिङ मलमा सोमबार ९२ औँ भिसा आवेदन केन्द्रको संयुक्त उद्घाटन गरेका हुन्। 

हात्तीसारमा रहेको कार्यलय बन्द गरेर चीनले दरबारमार्गमा भिसा केन्द्र स्थापना गरेको हो । उक्त केन्द्रमा १२ जना नेपाली कर्मचारीहरु छन् ।   

चीनको भिसा आवेदन गर्न चाहने नेपालीले अब चिनियाँ दुतावास नभई उक्त केन्द्रमा जानुपर्नेछ। त्यहाँ भिसा आवेदन दिएपछि केन्द्रले आवेदकका सबै कागजपत्र जाँच गरी आफैँले दूतावासबाट स्वीकृति गरेर ल्याउनेछ। 

भिसा आवेदन अनलाइनबाट पनि भर्न सकिने केन्द्रले जनाएको छ। दरबारमार्गस्थित राइजिङ मलमा प्रत्येक साता सोमबारदेखि शुक्रबार बिहान ९ देखि ३ बजेसम्म सेवा पाइने केन्द्रले जनाएको छ। यसअघि दूतावासमा बिहान ११ बजेसम्म मात्रै आवेदन दिन पाइने व्यवस्था थियो। 

भिसा केन्द्र स्थापनापछि चीन जान चाहनेले अब बढी शुल्क तिर्नु पर्ने छ । चिनियाँ दूतावासले यसअघि एक जना नेपालीसँग ‘नियमित’ शुल्कअन्तर्गत ४ दिनभित्र भिसा पाउन २ हजार २ सय रुपैयाँ लिँदै आएको थियो। अब त्यसमा थप ३ हजार ९ सय सेवा शुल्कबापत तिर्नुपर्ने हुन्छ। त्यस्तै एक्स्प्रेस २ मा थप ५ हजार ६ सय ५० र एक्स्प्रेस १ मा ७ हजार ८ सय थप सेवा शुल्क लाग्ने भएको छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *