वडाध्यक्ष हत्या प्रकरण : सात जना प्रहरी नियन्त्रणमा

माघ २२, अछाम । पञ्चदेवल–विनायक नगरपालिका–२ का वडाध्यक्ष पदमाबहादुर धामी हत्याबारे घटनास्थलको सघन अनुसन्धान शुरु भएको छ ।   

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार काठमाडाौंदेखि आएको सिआइबीको टोली र धनगढीबाट आएको कुकुरसहितको टोलीले घटनास्थलको अनुसन्धान शुरु गरेको हो । मङ्गलबार बिहानदेखि मृतक वडाध्यक्ष धामीको शव र घटनास्थललाई नियन्त्रणमा लिई प्रारम्भिक अनुसन्धान शुरु गरिएकामा बुधबारबिहान ७ बजेदेखि कुकुर ट्यापिङसहित घटनास्थल र एक–दुई किलोमिटर वरपरको क्षेत्रमा सर्च गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता, प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए । 

घटनास्थलमा काठमाडौँदेखि आएका सिआइबीका प्रहरी निरीक्षक सन्तोष श्रेष्ठको कमाण्डमा तीन र धनगढीबाट एउटा कुकुरसहित प्रहरी निरीक्षक दीपक पातलीको कमाण्डमा छजना प्रहरी परिचालन भएका छन् भने अछाम प्रहरीको सम्पूर्ण संयन्त्र परिचालन भएको प्रवक्ता अवस्थीको भनाइ छ ।   

यस्तै अछामका प्रजिअ भोजराज श्रेष्ठ र प्रहरीप्रमुख प्रहरी नायब उपरीक्षक दीपक भारतीले समेत अनुसन्धानको नेतृत्व गरिरहेको बताइएको छ । मृतक वडाध्यक्ष धामीसँगै सोमबार राति ८÷९ बजेसम्म सँगै रहेका सातजनालाई प्रारम्भिक अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको र सोधपुछ भइरहेको अवस्थीको भनाइ छ । 

विनायक बजार बन्द 

घटनाको निष्पक्ष छानबिनको माग गर्दै बुधबार बिहानदेखि विनायक बजार बन्द गरिएको छ । मृतकका आफन्त र स्थानीयवासीले बिहानदेखि सडकमा चक्काजाम गरेका छन् । विनायक बजारका पसलहरु बन्द छन् । आफन्तहरुले अनुसन्धानमा प्रहरीले ढिलाइ गरेको आरोप लगाउँदै प्रदर्शन गरिरहेका छन् । 

पञ्चदेवल बजारमा बिहानदेखि टायर बालिएको छ भने सवारी आवगमन पनि बन्द छ । वडाध्यक्ष धामीको हत्या भएको दुई दिन बितिसक्दा पनि दोषी पत्ता लगाउन नसकेको भन्दै स्थानीयवासी आक्रोशित भएका छन् । 

मङ्गलबार बिहान विनायक बजारबाट ३० मिनेट टाढा रहेको गैरीगाउँको भैँसीगोठमा वडाध्यक्ष धामी मृतावस्था भेटिएका थिए । ४० वर्षीय धामी शिक्षण पेशाबाट राजीनामा गरेर नेपाली काँग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । 

रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *