‘सरकारको एकल निर्णयले मात्रै बुहानबाट नेपाली ल्याउन पाइँदैन, अब शनिबार ल्याउछौं’

माघ २९, काठमाडौं । कोरोना भाइरसको प्रकोप फैलिएको चीनको बुहानबाट नेपालीलाई स्वदेश ल्याउन भएको ढिलाईबारे स्वास्थ्य मन्त्रालयले स्पष्टिकरण दिएको छ । मन्त्रालयले नेपाल सरकारको एकल निर्णयले मात्रै चीनबाट नेपाली ल्याउन नपाईने भन्दै भइरहेको ढिलाईबारे स्पष्टिकरण दिएको हो ।   

मन्त्रालयका सहायक प्रवक्ता सागर दाहालले भने, ‘नेपाल सरकारको एकल निर्णयले मात्रै चीनबाट नेपाली ल्याउन पाइँदैन, विश्व स्वास्थ्य सङ्गठन (डब्लूूएचओ)को सम्पूर्ण मापदण्ड पूरा गर्नुपर्ने हुन्छ । ती  मापदण्ड पूरा गर्नुपर्ने भएकाले ढिलाई भएको हो ।’ नेपालका लागि यसखालको उद्धार कार्य पहिलो अभ्यास भएको जानकारी दिँदै प्राविधिक, स्टेरिन समितिले काम गरिरहेको बताए । नेपालमा स्रोत र साधन पर्याप्त मात्रामा नरहेको हुनाले पनि ढिलाइ भएको मन्त्रालयले स्पष्ट पारेको छ ।   

बुहानबाट नेपालीलाई अब आउने शनिबार (फागुन ३ गते) नेपाल ल्याइने भएको छ । मन्त्रिपरिषद्को मङ्गलबार बसेको बैठकले सरकारले चीनमा रहेका नेपालीलाई फागुन ३ गते ल्याउने निर्णय गरेको हो । कोरोना भाइरसको प्रकोप फैलिएको चीनको बुहानमा रहेका १८० जना नेपालीलाई सरकारले नेपाल ल्याउने भएको छ ।   

तिनलाई स्वदेश ल्याउन नेपाल वायु सेवा निगमको वाइडबडी जहाज चीन पठाउने सरकारको तयारी छ । चीनबाट ल्याइने ती नेपालीलाई भक्तपुरको खरिपाटीस्थित विद्युत् प्राधिकरणको तालिम केन्द्रको भवनमा राखिनेछ । 

मन्त्रालयका सहायक प्रवक्ता दाहालले चीनबाट नेपाल ल्याइने नेपालीलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखिने जानकारी दिए ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *