असमिया लेखिकाको ‘डम्फु’ नेपालमा

फागुन १७, काठमाडौं । भारतको पूर्वोत्तर राज्य असमकी साहित्यकार रूमी लस्कर बोराद्वारा असमिया भाषामा लिखित तथा डा.सरिता शर्माद्वारा अङ्ग्रेजी भाषामा अनूदित उपन्यास ‘डम्फु’ काठमाडौंमा विमोचन गरिएको छ ।   

लेखिका बोरा र अनुवादिका डा.शर्माको उपस्थितिमा बागबजारमा नेपाली वाङ्मय परिषद्द्वारा आयोजित समारोहमा प्रा.डा.गोविन्दराज भट्टराईले उक्त कृतिको विमोचन गरेका थिए । 

कार्यक्रममा बोल्दै प्रा.डा. भट्टराईले उपन्यासमार्फत् लेखिका बोराले नेपाल र भारतको अन्तरसम्बन्धको बारेमा एउटा सृजनात्मक आयाम थपेको बताए । उनले अनुवादको महत्वमाथि प्रकाश पार्दै अनुवादिका शर्माले अनुवाद साहित्यमा उल्लेखनीय योगदान दिएको दाबी गरे ।  

नेपाल प्रज्ञा–प्रतिष्ठान अनुवाद विभाग प्रमुख प्राज्ञ प्रा.डा. उषा ठाकुरले लेखिका बोराद्वारा असमिया भाषामा लिखित उपन्यासलाई अनुवादक शर्माले अंग्रेजी भाषामा अनुवाद गरेर विश्वव्यापीकरण गरेको बताइन् । प्रा.डा. ठाकुरले ‘डम्फु’ उपन्यास अब्बल लागेको धारणा राखिन् । 

कवि तथा किराती सौन्दर्य चिन्तक भूपाल राईले लेखकले मातृभाषामै लेख्दा राम्रो हुने तर अनुवादका माध्यमबाट त्यसलाई विस्तार गरिनुपर्ने विचार व्यक्त गरे । कवि तथा समालोचक सुरेश हाचेकालीले लेखिका बोराले ‘डम्फु’ उपन्यासमार्फत् नेपाल र असमको अन्तरसम्बन्धलाई अझ प्रगाढ बनाउने बताए । उनले असमियाभाषी असमिया नागरिकले तामाङ समुदायको परपम्परागत मौलिक बाजा डम्फुलाई केन्द्रमा राखेर लेखेको उपन्यास ‘डम्फु’ले विश्वमा रहेका समस्त नेपाली डायास्पोरिक समुदायलाई गौरव महसुस गराउने विचार व्यक्त गरे । उनले लेखिका बोरा यसकारण धन्यवादको पात्र भएको जिकिर गरे ।   

कार्यक्रममा अनुवादिका डा. शर्माले बोरा असमकी अब्बल स्रष्टा भएको सुनाइन् । स्रष्टा बोराले आफू दोस्रो पटक नेपाल आएको उल्लेख गर्दै नेपाल र नेपालका नागरिकबाट आफू अत्यन्त प्रभावित भएको सुनाइन् । उनले नेपालको संस्कृतिको खोजअनुसन्धान गरेर पुस्तक लेख्ने इच्छा रहेको बताइन् । 

१५ कृतिकी स्रष्टा लस्कर बोराको ‘डम्फु’ बिबि पब्लिकेसन असमले प्रकाशन गरेको हो । उक्त कृति नेपाली र हिन्दी भाषामा प्रकाशनको तयारीमा रहेको स्रष्टा बोराले जानकारी गराएकी थिइन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *