सहायक वन अधिकृत १० हजार घुससहित पक्राउ

फागुन ८, काठमाडौं । बबई सब–डिभिजन वन कार्यालय बर्दियामा कार्यरत सहायक वन अधिकृत १० हजार घुससहित पक्राउ परेका छन् । सहायक वन अधिकृत आनन्दप्रसाद साहलाई अख्तियारको टोलीले पक्राउ गरेको हो ।   

सेवाग्राहीसँग काठको लगत तयार गरी दिएबापत घुस रिसवत माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगन्जबाट खटिई गएको टोलीले उनलाई १० हजार घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो ।   

अनुसन्धानको सिलसिलामा सेवाग्राहीको निजी आबादी जग्गाको काठको नाप जाँच लगत तयार गरी डिभिजन वन कार्यालय गुलरियामा बिमाको आदेश सिफारिस गरी दिएबापत अतिरिक्त पेश्की रकम स्वरूप सहायक वन अधिकृत साहले घुस रिसवत लिएको पुष्टि हुन आएको छ ।   

निज साहलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेको देखिँदा निज सहायक वन अधिकृत आनन्दप्रसाद साहलाई बिगो दस हजार कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम जरिवाना र कैद सजाय हुन माग दाबी लिई आज विशेष अदालत, काठमाडौँमा आरोप पत्र दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *