कोरोना भाइरस : दक्षिण कोरियामा कार्यरत नेपालीहरु त्रसित
फागुन १२, एजेन्सी । दक्षिण कोरियामा कोरोना भाइरसको प्रकोप फैलिएपछि त्यहाँ कार्यरत नेपाली नागरिकहरूले आफूहरू आत्तिएको बताएका छन्।
दक्षिण कोरियामा झन्डै ४६,००० हजार नेपाली नागरिक रहेको बताइन्छ। तीमध्ये अधिकांश वैदेशिक रोजगारीका लागि गएका व्यक्ति र विद्यार्थी छन्।
सुरुमा राजधानी सोलमा मात्रै देखिएको सङ्क्रमण अहिले विभिन्न स्थानमा फैलिसकेको अधिकारीहरूले बताएका छन्।
कोरोना भाइरस फैलिएका स्थानमा नेपालीहरू छरिएर रहेकाले उनीहरूलाई सतर्क रहन भनिएको दक्षिण कोरियास्थित नेपाली दूतावासले जनाएको छ।
अहिलेसम्म दक्षिण कोरियामा ७६३ जनामा सङ्क्रमण भएको र तीमध्ये सात जनाको मृत्यु भएको पुष्टि भएको छ।
सङ्क्रमण नियन्त्रण गर्ने उद्देश्यसहित सरकारले उच्चतम तह को सतर्कता घोषणा गरेको छ । दक्षिण कोरियामा सङ्क्रमित व्यक्तिहरूको सङ्ख्या चीनपछिको सर्वाधिक रहेको बीबीसीले जनाएको छ ।
यसैबीच दक्षिणपूर्वी सहर डेगुमा सङ्क्रमित मानिसको सङ्ख्या धेरै देखिएकोले त्यहाँ भएका नेपाली नागरिकलाई विशेष सावधानी अपनाउन भनिएको सोलस्थित नेपाली दूतावासले जनाएको छ।
‘उक्त क्षेत्रका गैरनेपाली सङ्घका प्रतिनिधि र विद्यार्थी सङ्गठनसँग हामी निरन्तर सम्पर्कमा छौँ। उहाँहरूलाई हामीले विशेष सावधानी अपनाउन र यहाँको सरकारले भनेका स्वास्थ्यसम्बन्धी नियममा रहन अनुरोध गरेका छौँ,’ कार्यवाहक राजदूत रामसिंह थापाले भने।
डेगुमा विद्यार्थी र ईपीएसमार्फत् रोजगारीका लागि गएका नेपालीको सङ्ख्या १,५०० जति भएको दूतावासको अनुमान छ।
‘पछिल्ला दिनमा कोरियामा झनै तीव्र गतिमा सङ्क्रमितहरू फेला पर्न थालेको अवस्था छ,’ दक्षिण कोरियास्थित नेपाली दूतावासले जारी गरेको सूचनामा भनिएको छ, ‘तसर्थ कोरियाली सरकार र सम्बद्ध निकायहरूले समयसमयमा जारी गर्दै आएका सुरक्षाका उपायहरू प्रभावकारी ढङ्गले अवलम्बन गरी कोरोनाभाइरसबाट सुरक्षित रहन विभिन्न सिलसिलामा हाल दक्षिण कोरियामा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा नेपाली राजदूतावास सोल विशेष अनुरोध छ।’