जुगलमा कोरोना भाइरसको आशंका, बिरामीको संख्या २ सय नाघ्यो

माघ २९, सिन्धुपाल्चोक । कोरोना भाइरसको आशंका गरिएको सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा रुघाखोकी, ज्वरो आएर बिरामी हुनेको संख्या २ सय नाघेको छ। 

जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठका अनुसार जुगल गाउँपालिका वडा नम्बर ३ स्थित गुम्बा गाउँमा रुघाखोकी, ज्वरोले ग्रस्त हुनेको संख्या २ सय १ पुगेको हो। 

अहिले त्रास फैलाइ रहेको कोरोना भाइरससंग मिल्दो जुल्दो लक्षण देखिएपछि त्यहाँ त्रास फैलिएको छ ।   

कोरोना भाइरसकै संक्रमण भनेर ठोकुवा गरिहाल्ने स्थिति नभए पनि त्यसकै लक्षणसँग मिल्दोजुल्लो भएर व्यापक मात्रमा संक्रमण फैलिएको देख्दा भने शंका गर्ने अवस्था रहेको अध्यक्ष श्रेष्ठले बताए। 

प्रभावित क्षेत्रमा उपचारका लागि गाउँपालिकामा उपलब्ध स्वास्थ्य टोली शुक्रबारदेखि नै खटिरहेको छ। अहिले बिहान छिमेकी जलबिरे गाउँपालिकाको स्वास्थ्य केन्द्रबाट २ चिकित्सकसहितको टोली प्रभावित स्थलमा जाँदै गरेको उनले बताए। 

रुघाखोकी, ज्वरोका औषधिका साथै मास्कसमेत बोकिएको उनले जानकारी दिए। 

‘प्रभावित क्षेत्र अलि विकटै छ,’ नेपालखबरसँग अध्यक्ष श्रेष्ठले भने, ‘कच्ची बाटो, अब आधा घण्टापछि पुगिएला।’ 

‘विगत चार दिनदेखि गुम्बा बस्तीमा ज्वरो आउने, टाउको दुख्ने, रुघाखोकीको संक्रमण फैलिएको छ, बस्तीमै रहेको आधारभूत स्वास्थ्य चौकीले पनि रोग नियन्त्रण गर्न सकेको छैन । कारोना भाइरसको बारेमा सामान्य जानकारी भएकाले कतै कोरोना भाइरसकै संक्रमण त भएन भन्ने चिन्ता लागेको छ ।’ गाउँपालिकाकी उपाध्यक्ष सृजना तामाङले भनिन् ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *