यस कारण नेपाल प्रहरीकाे डिआईजी विश्वराज पोखरेल अब्बल

फागुन ६, काठमाडौं । महानगरीय प्रहरी कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) विश्वराज पोखरेललाई प्रहरीको भावि संगठन प्रमुखका रूपमा अगाडि बढाउने तयारी भएको छ । प्रहरी प्रवक्ताको जिम्मेवारी कुशलताका साथ निभाएपछि पोखरेललाई महानगरीय प्रहरी कार्यालयको नेतृत्वको जिम्मेवारी दिइएको थियो । 

सुरक्षा संवेदनशील मानिएको उपत्यकाको कमान्डरका रूपमा खटाइएका उनलाई आगामी प्रहरी महानिरीक्षक (आईजी) का रुपमा नियुक्त गरे तत्कालिन आईजी प्रकाश अर्यालको नियुक्ति हुने बेला देखिएको समस्या नआउने सरकारी बुझाई छ । 

हालै मात्र उपत्यकाका विभिन्न युनिटको नेतृत्व गर्ने प्रहरी अधिकारीलाई बोलाएर कडा निर्देशन दिएका डिआईजी पोखरेललाई सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवाका लागि पनि चासो देखाएको छ । त्यसैले तीन जनालाई एआईजीमा बढुवा गर्ने सूचीमा उनको नाम चर्चामा छ । आईजीको जिम्मेवारीमा ठाकुरप्रसाद ज्ञवालीलाई नियुक्त गरेपछि सरकारले एआईजी नियुक्तिको तयारी थालेको छ । 

प्रहरी नियमावलीअनुसार तीन जना एआईजी नियुक्त गर्नुपर्ने हुन्छ । जसमा ज्ञवालीका ब्याची तारणीदत्त लम्साल र सूर्यप्रसाद उपाध्याय सँगै डिआईजी पोखरेललाई बढुवाका लागि छलफल चलेको स्रोतले जनाएको छ । प्रहरीमा केही बर्षदेखि रहेको डिआईजीबाट आईजीमा नियुक्ति दिनुपर्ने परम्परालाई तोड्नका लागि पनि संगठनमा अब्बल देखिएका डिआईजी पोखरेललाई एआईजीका लागि उपयुक्त पात्र ठान्दै सरकारले गृहकार्य सुरु गरेको हो । 

‘प्रहरीमा युवा नेतृत्व अगाडि ल्याउने र एआईजीबाटै आईजी नियुक्तिको रीत बसाउनका लागि डिआईजी पोखरेलको बढुवा हुनसक्छ’, सरकारी स्रोतले भन्यो,‘हालका आईजी पनि डिआईजीबाट नै नियुक्त भयो । अब एआईजीमा उनका ब्याची र घर जाने उमेर र पदावधि भएका अधिकृत ल्याए फेरि पनि उही अवस्था आउँछ । त्यसो हुन नदिने सोचमा प्रधानमन्त्री, गृहमन्त्रीलगायत हुनुहुन्छ ।’ 

निवर्तमान आईजी सर्वेन्द्र खनालसँगै तीन एआईजी र १८ डिआईजीको पदावधि सकिएपछि ति पद खाली छन् । ‘यी पदमा अनिवार्य बढुवा हुनेछन् । तर यो अनिवार्यताले पनि नेतृत्व नियुक्तिका बेला एआईजीमा रहने अवस्थाका कोही हुँदैनन्’, स्रोतले भन्यो,‘त्यसैले जुनियर ब्याचमा रहे पनि काम कर्तव्य र प्रहरीप्रतिको निष्ठालाई हेरेर पोखरेललाई अघि बढाउने तयारी भएको हो ।’ 

पोखरेलले एसपी हुँदा विभिन्न जिल्ला र एसएसपी हुँदा काठमाडौं परिसरको नेतृत्व समेत राम्रोसँग गरेका कारण ब्याचकै एक नम्बरका हिसाबले अगाडि बढाइएको सरकारी सुत्रले जानकारी दिएको छ । 

‘प्रहरीको संगठनमा आगामी आईजी को हुने भन्ने चर्चालाई अस्वभाविक हुन नदिन र रोलक्रममा नै संगठन प्रमुख तयार पार्न पोखरेल उपयुक्त पात्र हुन्, उनको ब्याचका कोही पनि डिआईजी नभएका कारणले पनि सरकारका लागि उनलाई बढाउन सजिलो हुन्छ’, स्रोतले भन्यो । संगठन प्रमुख भन्ने कुरा सरकारले कार्य क्षमताका आधारमा तोक्ने हो । कसैले मोर्चाबन्दी गर्दैमा संगठन प्रमुख भइन्छ भन्ने सपना राख्नु दिवा सपना मात्र हुनेछ । पछिल्लो समय पोखरेलको नेतृत्वले संगठनसँगै सरकार समेत आशा र भरोसाका केन्द्र बन्दै गएका छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *