जेठी श्रीमती विवाह स्थलमा देखिएपछी बेहुलाले भेटे रामधुलाई
फागुन २, काठमाडाैँ । एक बेहुला आफ्नै विवाह मण्डपबाट लखेटिएका छन् । बेहुलाकी जेठी श्रीमतीले नयाँ बेहुलीलाई उनका बेहुलाको पहिले नै एकजना होइन, दुईजनासँग विवाह भइसकेको जानकारी दिन विवाह स्थल आएपछि उनी लखेटिएका हुन् ।
करिब ३३–३४ वर्षका आसिफ राफिक सिद्दीकीलाई बेहुलीको परिवारले लछारपछार गर्दै कुटपिटसमेत गरेका छन् । उनीबारे यस्तो जानकारी सार्वजनिक भएपछि रिसाएका भीडले उनले लगाएको सर्ट र पाइन्ट दुबै च्यातिदिएका छन् ।
भीडबाट बच्नका लागि बस मुनी लुकेका बेहुलालाई पछि अपरिचित व्यक्तिले बचाएका छन् ।
पाकिस्तानमा बहुविवाह वैध छ ।
एक व्यक्तिले चारजना श्रीमती राख्न पाउँछन् तर यसका लागि उनले श्रीमतीहरुको अनुमती लिनुपर्छ ।
घटनाको भिडियो पनि सोसल मिडियामा सार्वजनिक भएको छ ।
भिडियोमा देखिए अनुसार विवाह स्थलमा एकाएक एक रिसाएकी महिला प्रवेश भएपछि एक व्यक्तिले प्रश्न गर्छन्, ‘बहिनी के भयो ?’
मदिहा सिद्दीकी नामकी ती महिलाले कुराको चुरो समात्न बेर लगाइनन् ।
‘उनी मेरा श्रीमान् हुन्, र उनी यो बच्चाको बुवा पनि हुन् । उनले मलाई आफू तीन दिनका लागि हैदराबाद जान लागेको बताएका थिए,’ ती महिलाले आरोप लगाइन् । उनी एक बच्चासहित उपस्थित भएकी थिइन् जसलाई उनले आफ्नो छोरा बताएकी थिइन् ।
त्यसपछि उनलाई केही पर राखेर कुराकानी गरियो । त्यसपछि उनले नयाँ बेहुलीसँग पनि कुरा गरिन् ।
‘तिमीलाई थाहा थिएन ? उनी मेरा श्रीमान् हुन् ? उनले यो अबोध बालकको पनि ख्याल गरेनन् ।’
मदिहाका अनुसार उनले आसिफसँग सन् २०१६ मा विवाह गरेकी थिइन् । कराँची फेडरल उर्दू युनिभर्सिटीमा भेट भएपछि उनीहरुबीच प्रेम बसेको र विवाह गरेको पनि उनले जानकारी दिइन् ।
त्यसपछि आसिफले सन् २०१८ मा जेहरा असरफसँग गोप्य रुपमा दोस्रो विवाह गरेको मदिहाले बताइन् । श्रीमानकी नयाँ श्रीमतीको मेसेज देखेपछि उनले दोस्रो विवाह गरेको थाहा पाएको मदिहाले बताइन् ।
सुरुमा आफूले दोस्रो विवाह गरेको अस्विकार गरेपनि पछि श्रीमानले उक्त कुरा स्विकार गरेको मदिहाले जानकारी दिइन् ।
जेहराले नै उनलाई श्रीमानले तेस्रो विवाह गर्न लागेको भन्ने जानकारी दिएको उनले बताइन् ।
त्यसपछि के भयो जानकारीमा उल्लेख नभएपछि घटनास्थलमा बोलाइएका प्रहरीले बेहुलीका आफन्तले बेहुलाको रामधुलाई गरेको जानकारी दिए । एजेन्सी