जब अपाङ्ग छोरा जन्मेको भन्दै जंगलमा लगेर छोडिदिए…

फागुन ३ । ४७ वर्षका अर्जुन बहादुर राई र २९ वर्षकी नन्दी ओली शारीरिकरुपमा अपाङ्ग छन् । तर दुवैको प्रेमिल जोडी र प्रेम भावको बारेमा धेरैको मुखबाट प्रसंशा सुन्न पाईन्छ ।   

अर्जुन संखुवासभामा जन्मेका हु्न भने नन्दी रोल्पामा जन्मेकी हुन् । उनीहरु वैवाहिक वन्धनमा बाँधिएको तीन वर्ष भयो । ९ महिनाकी एउटी छोरी पनि छिन् ।   

दुवैको भोगाई फरक भए पनि कथा भने लगभग एउटै जस्तो छ । अर्जुन विराटनगरमा २०४६ सालदेखि होटल व्यवसायमा संघर्ष गर्दै आईरहेका छन् । गाँउमा भिर, पाखा, उकालो, ओरालो गरेर काम गर्न नसक्ने अवस्था थियो अर्जुनको । सदरमुकाम खाँदकारीमा डेरामा बसेर पढ्ने घरको आर्थिक स्थिति पनि कमजोर भएकाले उनी सानैमा परदेशिएका थिए ।   

उनीहरुको दैनिकी विहान ७ वजेदेखि सुरु हुन्छ, बेलुकासम्म नन्दी भाँडा माझ्ने काम गर्छिन, अर्जुन खाना पकाउने काममा व्यस्त रहन्छन् । यसरी नै उनीहरुको गुजारा चलिरहेको छ । 

दुवै अशक्त भएपनि उनीहरुको प्रेम र घरगृहस्तीमा दरिलो विश्वास छ । नन्दी बैसाकीको भरमा घरको काम सबै गर्छिन । सब्जी किन्न होस् या टाढा बजार जानु छ भने अर्जुन आफै जान्छन् ।   

उनीहरु प्रेममा रहँदा भौगोलिक रुपमा टाढा भए पनि प्रेम भावको दुरीलाई दुवैले कहिल्यै टाढा हुन दिएनन् । निरुता भन्छिन् “हाम्रो लभ पर्दा उहाँले दिनमा चार पटक फोन गर्नुहुन्थ्यो, संयोगमा फोन अफ हुन लाग्दा एक अर्कालाई जानकारी गराईराखेका हुन्थेउँ ।” अर्जुनले थपे “विश्वास र प्रेमलाई सम्मान गर्नुपर्छ सम्बन्धको धागो कसिलो हुन्छ ।”   

नन्दी भन्छिन -‘हाम्रो कथा उस्तै छ ।’ 

जब अर्जुन आमाको गर्भमा आए । उनको आमालाई पेट दुखिरहन्थ्यो । त्यो समय संखुवासभामा सवारी, साधन पुगेको थिएन । दुर्गम क्षेत्र मानिन्थ्यो संखुवसभालाई ।   

अहिले जस्तो स्वास्थ्य चौकीहरु थिएनन् । अर्जुनले विगत सुनाए, ‘आमालाई जति पेट दुख्छ आमाले सोडा र पानी खानुहुन्थ्यो रे’, आमाको महिना पुग्यो अर्जुनको जन्म भयो, उनी जन्मे तर अपाङ्ग, उनको हात र खुट्टाको औंला झरेको, अनुहार स्वारिएर मान्छेको रुपपनि नभएको जन्मे ।   

‘अपाङ्ग छोरा जन्मेको भन्दै उनका बाले जंगलमा लगेर छोडिदिए’ उनले विगत सुनाईरहँदा उनको अनुहारमा पिडा झल्किन्थ्यो । आमालाई सन्तान जस्तो भए पनि प्रेम हुन्छ । उनकी आमा रातभरी रोएकी थिईन् । 

नौ महिना गर्भमा बोकेको हुन्छिन् । दुँख पीडा सहेर जन्मदिन्छिन् तर उनको बाले आमाको पीडालाई महसुशसम्म गर्न सकेनन् । उनको बा भोलिपल्ट मात्र पुगे उनी फालिएको ठाँउमा, भाग्यवस् अर्जुन जिवित थिए ।   

उनको अनुहार जन्मेको दिन भन्दा भोली पल्ट फरक भएको थियो रे !, जंगलमा फालिएको अर्जुनको अनुहारले मान्छेको रुप लिएको थियो । जिउँदो देखेर बाले उनलाई घर लगेको उनले सुनाए । उनी भन्छन् ‘दुख गर्नु लेखेको थियो, संयोगले नन्दीसँग भेट हुन जुरेको थियो, त्यहिँ भएर भगवानले जिउँदो छाडिदिए ।’   

अर्जुनको जस्तै नन्दिको पनि आफ्नै कथा छ, उनी पनि जन्मेको २० दिनमा आगोले पोलेर अपाङ्ग भएकी थिईन् । रोल्पामा जाडो बेला असाध्यै चिसो हुने भएकाले उनको जेठा दाजुले अगेनोको छेउमा उनलाई बोकेर बसेका थिए । 

उनकी आमा घाँस काट्न गएकी थिईन् । घरमा उनी, उनको जेठा दाजु र सानो दाई मात्रै थिए । अगेनाको तातोले दाई निदाए, गहिरो निन्द्रामा  वीस दिनकी नन्दिलाई समाईरहेको दाईको हात खुस्कियो । नन्दि आगोमा परिन्, आगोले पोलेपछि उनी रुन थाल्दा दाईको निन्द्रा खुल्यो । दाईको निन्द्रा खुलिसक्दा बहिनीको देब्रे खुट्टा सबै डढेको, पेट, देब्रे हात पोलेको अवस्थामा थियो । सायद उनको दाईलाई बहिनीको अवस्था देख्दा कुनै भयानक सपना देखेर झस्कँेर उठे झैँ भयो होला ।   

त्यहीँ भएर उनको दाईले थाङनामा पोका पारेर नन्दीलाई हिँउमा फालिदिए । उनको आमा कडा स्वाभावकी भएकाले आमाको डरले दाईले हिँउमा उनलाई फालेको नन्दीले तितो विगत सुनाईन् । आमा कामबाट घर आँउदा सानो दाईले तोते बोलीमा भने सानीलाई दाईले फाल्यो भन्दै । उनकी आमाले बल्ल, तल्ल खोजेर उनलाई हेर्दा हिँउले सबै थाङना पुरेको अवस्थामा भेटाइन् ।   

उनलाई सेकताप भन्दा पनि आमा दाईलाई खोज्न तिर लागेको कहाली लाग्दो विगत निरुताले सुनाईन । हिँउबाट भेटेको केही समय पश्चात उनलाई रोल्पा अस्पताल लगेका थिए । एक वर्ष सम्म लामो उपचारपछि उनी निको भएकी थिईन् ।   

रोल्पाबाट उनको परिवार उनी सानो छँदा नै दाङ बसाई सरेका थिए । निरुताले भनिन् ‘६ महिनासम्मको फोन वार्तामा यसरी नै कथा व्यथा साटासाट गरेर मन मिल्यो, एकअर्कामा प्रेम भाव साटासाट भयो र विवाह गर्ने निधो गरेका हौँ ।’ 

कसरी भेट भयो ? 

अर्जुन कृतिम खुट्टा बनाउन काठमाडौं गएका थिए । नन्दी पनि कृतिम खुट्टा बनाउनकै लागि दाङबाट काठमाडौं गएकी थिईन् ।   

उनीहरुको संयोगले भण्डारखाल काठमाण्डौंमा भेट भएको थियो । जहाँ कृतिम खुट्टा लगाईन्छ । नन्दी गाँउकी दिदिसँग गएकी थिईन् । अर्जुन त्यो समय कृतिम खुट्टा लगाएर कसरत गरिरहेका थिए । 

त्यहि बेला उनकी गाँउकी सौरी चौधरी दिदीले अर्जुनलाई बोलाएका थिए । र नन्दी दाङ तुलसीपुरकी अपाङ्ग मानव अधिकारकी अध्यक्ष थिईन, त्यहि आधारले पनि उनी र उनकी गाँउकी दिदीले अर्जुनलाई बोलाएर ठेगाना, फोन नम्बर मागेका थिए । 

अर्जुन काठमाडौं आएको २२ दिन भएको थियो, लगभग उनको काम सकिएसँगै उनी विराटनगर फर्किने क्रममा थिए । नन्दीको भने भरर्खरै जुत्ताको नाप हुँदै थियो उनलाई अझै महिना दिन जस्तो काठमाडौं रहनु थियो । नन्दीलाई खुट्टा लगाउन जुत्ता चाहेको थियो, उनलाई साथी दिन डा. नविनले अर्जुनलाई अराएका थिए ।   

नन्दीले भनिन् ‘सायद संयोग भएर नै होला मलाई उहाँले अपरिचित हुँदा पनि धेरै साथ दिनुभएको थियो ।’ त्यहि दिन अर्जुनको विराटनगर फर्किनुपर्ने थियो फर्कने बेलामा नन्दिलाई नानी म गए है राम्रोसँग बस्नु भन्दै केटाकेटीलाई जस्तै गालामा औँलाले हानेको हाँस्दै उनले सुनाईन् ।   

अर्जुन बाटो लागेपछि उनीसँग आउने सौरी दिदीले अर्जुनलाई फोन गर्न लगाएकी थिईन् । त्यहि “कहाँ पुग्नुभयो दाई” भन्ने शब्द देखि नै उनीहरुको फोन वार्ता शुरु भएको थियो । अर्जुन नन्दीसँग भेट हुँदा उनकी पहिलो श्रीमतीसँगको वियोगले एक्लो थिए । 

आफुले संसार नै सम्झेकी श्रीमतीले अर्जुनलाई कहिल्यै बुझ्न सकेकी थिईनन् तर भौगोलिक रुपमा टाढा, भाषा, जात, संस्कार फरक भएकी ओलीकी छोरीले उनको पिडालाई बुझिदिदाँ पीडाले दुखेको मन आधा निको भएको आभास हुन्थ्यो अर्जुनलाई ।   

त्यसपछिका दिनहरुमा गुडमर्निङ देखि सुरु भएको फोनवार्ता गुडनाइट सम्ममा टुङ्गिन्थ्यो अर्थात दैनिक ४ पटक फोन वार्ता हुन्थ्यो । 

यसरी नै ६ महिनासम्मको फोनको कुराकनीले प्रेमपूर्ण यात्रा वैवाहिक बन्धनको गन्तव्यमा पुग्यो । नन्ीदले सिलाईकटाईको तालीम लिएकी थिईन्, घरमा मेसिन किन्न जान्छु भन्दै हिँडेकी अर्जुनसँग भागेर विराटनगर आईपुगिन् । 

उनले सुनेकी थिईन विराटनगर भारतको नाका कतै म वेचुन्छुकी भन्ने त्रास पनि थियो । हाँस्दै उनी भन्छिन् ‘एउटा विश्वास थियो म पढेकी थिएँ, कान्छाको केही स्वभाव भरपर्दो भएकाले पनि आँखा चिम्लेर विराटनगर आएँ ।’ नन्दिलाई संखुवासभा कस्तो छ भन्ने जानकारी मात्रै छ, अर्जुनले सुनाएअनुसार श्रीमान जन्मेर दुःख पाएको ठाँउ हेर्ने इच्छा रहेको चाहिँ उनले बताईन् । विवाह पछि अन्तरजातीय विवाह गरेकोमा उनको माईती पक्ष नन्दीसँग लामो समयसम्म रिसाएका थिए ।   

त्यसो त अर्जुनलाई उमेरको कारण नन्दीको परिवारले फर्काएको नमिठो विगत पनि जोडिएका छन् अर्जुन र नन्दीको जीवनमा । अर्जुनले नन्दीलाई दिएको प्रेम र साथले परिवारको पनि मनस्थिति बदलिएसँगै लामो समयपछि परिवारले उनीहरु दुवैलाई दाङमा बोलाएका थिए ।   

भनिछ । प्रेम गर्न न जातले छेक्छ, न रङ, न उमेरले नै रोक्छ, भावना, सम्बन्धको इज्जत र एकअर्कामा विश्वास भए त्यो प्रेमले सार्थकता पाउँछ । सायद त्यहीँ भएर होला नन्दी र अर्जुनबिचको प्रेम यात्राले निश्चित गन्तव्य पाएको । 

कतिको खुशी हुनुहुन्छ ? भन्ने प्रश्नमा निरुता ले हाँस्दै भनिन् अँ धेरै खुशि छँु । उनी थप्छिन् ‘म जहाँ हुर्किए त्यो ठाँउमा जातीय विभेदले पिल्सिएको ठाउँ हो, दाङको र पूर्वको संस्कार फरक छ सायद म मेरो जातसँग त्यहि ठाँउमा विवाह गरेको भए पनि यति धेरै खुशी र सुखी हुने थिईन होला ।’ नीन्द र अर्जुनको अनुसार आजसम्म उनीहरु विच मनमुटाव भएको छैन ।   

अन्तरजातीय विवाह गर्दा उनको समाजले प्रश्न नउठाएका होईनन् तर तीन वर्षको वैवाहिक यात्रामा निरुता र अर्जुनले एक अर्काको हात थाम्दै सम्बन्धलाई मजवुद बनाई राख्नु नै प्रश्न उठाउनेहरुका लागि राम्रो उत्तर बन्यो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *