के दिल्लीमा कांग्रेसले आत्महत्या गर्यो ?

  

२०१५ः कांग्रेस ० 

२०२०ः कांग्रेस ० 

यो त्यो आँकडा हो, जुन कांग्रेस पार्टी दिल्लीमा लगातार दुई विधानसभा चुनावदेखि झेल्दै आइरहेको छ । यस पटक पनि दिल्लीमा कांग्रेसको अस्तित्व शून्यमा सिमित रह्यो ।  

कुनैबेला दिल्लीमा पहिलो नम्बरको पार्टी रहेको कांग्रेस स्लिप खाएर सबैभन्दा तल कसरी आइपुग्यो ? दिल्लीमा १५ वर्षसम्म सत्तामा रहेको कांग्रेस पार्टी शून्यमा कसरी आइपुग्यो ? कुनैबेला कांग्रेसको गढ रहेको दिल्लीले आज उसलाई किन नकार्यो ?  

किन भयो कांग्रेसको यो हालत ? 

वरिष्ठ पत्रकार तथा राजनीतिक विश्लेषक विनोद शर्मा यसको जिम्मेदार कांग्रेसलाई नै ठहर्याउँछन् । उनले भने, ‘गैरहाजिरीलाई राजनीतिमा आत्महत्या जत्तिकै मानिन्छ र दिल्ली चुनावमा कांग्रेस शून्य किसिमले गैरहाजिर रह्यो । यसको मतलब यो हो कि कांग्रेसले दिल्लीमा आत्महत्या गर्यो ।’ 

यो चुनावमा कांग्रेस पूर्ण रुपमा गायब भयो । नत कांग्रेसका ठुला नेताहरुले ज्यादा र्याली गरे, न उसको कार्यकर्ता सडकमा देखिए । न त सामाजिक सञ्जालमा नै उसले प्रभावी रणनीति अपनायो । 

कांग्रेसलाई नजिकबाट नियालीरहेका राशिद किदवई भन्छन्– ‘कांग्रेसको एउटा कमजोरी यो छ कि ऊ आफ्ना कुरा जनतासमक्ष प्रभावकारी रुपमा पुर्याउन सक्दैन । योभन्दा नराम्रो कुरा यो छ कि कांग्रेस आफ्नो कमजोरी सुधार्न चाहँदैन । २०१४ देखि लिएर अहिलेसम्म कांग्रेसले आफ्नो मिडियो विभागलाई परिवर्तन गरेको छैन । दोस्रोतर्फ हेर्ने हो भने आम आदमी पार्टीले आफ्नो कुरा जनतासम्म पुग्न कोशिस गरिरह्यो । यहाँसम्म कि उनीहरुले चुनावी रणनीतिकार प्रशान्त किशोरसम्मको सहयोग लिए । उता कांग्रेसले भने यस्तो कुनै प्रयासै गरेन ।’ 

वरिष्ठ पत्रकार स्मिता सिंह भन्छिन्– ‘कांग्रेसले यस चुनावमा कोही खेलाडी थिएनन् । पछिल्लो पाँचौँ वर्षमा कांग्रेसले यस्तो केही गरेन जसबाट दिल्लीका मानिसहरुको विश्वास जितियोस् । दिल्लीमा कांग्रेसको नेतृत्व मजबुत नै छैन ।’ 

‘भलै बीजेपीले जनताका अगाडी मुख्यमन्त्री पदका लागि कुनै चेहेरा राखेन तर राष्ट्रियस्तरमा उसँग प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाह जस्ता चेहेरा थिए । एक वर्गको लोभ्याउनका लागि उनीहरुसँग तीन तलाक, अनुच्छेद ३७० र नागरिकता कानूनजस्ता मुद्दा थिए । कांग्रेससँग न मुद्दा थियो न चेहेरा’, उनले भनिन् ।  

राजनीतिक विश्लेषक नीरजा चौधरीको पनि यस्तै राय छ ।  

उनी भन्छिन्, ‘बाँकी नेतृत्वको छोडौँ, वर्तमान समयमा त यो पनि ठिकसँग थाहा छैन कि कांग्रेसका अध्यक्ष को हुन् ? यसबाहेक दिल्लीमा जस्तो चुनाव अभियान उनीहरुले गरे, त्यो कतिपनि प्रभावकारी थिएन । उनीहरुले सुभाष चोपडाजस्ता नेतालाई अघि सारे, जसलाई जनताले पूर्ण रुपमा नकारे ।’ 

नीरजाका अनुसार, ‘दिल्लीमा बीजेपीका तर्फबाट प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह र योगी आदित्यनाथले चुनाव प्रचारप्रसार गरे । आम आदमी पार्टीका हरेक नेता र कार्यकर्ता चुनाव अभियानमा लागिरहे । तर कांग्रेसका ठुला नेता चुनावी मैदानबाट लगभग गायब रहे ।’ 

चुनावमा हार्नु कांग्रेसको रणनीति थियो ?  

चुनाव लगतै कांग्रेसका अधीर रञ्जनले भनेका थिए, ‘सबैलाई थाहा थियो कि यो पटक पनि आम आदमी पार्टी नै सत्तामा आउँछ ।’ 

त्यस्तै मध्ये प्रदेशका मुख्यमन्त्री र कांग्रेसका वरिष्ठ नेता कमलनाथले भने, ‘आफ्नो बारेमा त हामीलाई पहिले नै थाहा थियो । सवाल यो हो कि ठुल्ठुला दाबी गर्ने बीजेपीको हालत के भयो ?’ 

वरिष्ठ पत्रकार अपर्णा दविदेवी मान्छिन् कि कांग्रेसले चाहेको भए गर्न सक्थ्यो तर उसले गरेन ।  

यी सबकुरा मान्ने हो भने यो साफ हुन्छ कि कांग्रेसले यसपटक कोशिस नै गरेन । ऊ पहिले नै सोचिरहेको थियो कि अघिल्लो पटकजस्तै यो पटक पनि नतिजा जिरो आउँछ ।  

अब यो प्रश्न उठ्छ कि कांग्रेसले यस्तो किन गर्यो ? के उसले जानीजानी कुनै कोशिस नै गरेन ?  

विनोद शर्माका कुरा मान्ने हो भने यो कांग्रेसको रणनीति थियो । उनी भन्छन्– ‘मलाई लाग्छ कि कांग्रेस यस पटक आम आदमी पार्टीका साथ वैचारिक गठबन्धनमा थियो । सायद यसैकारण राहुल र प्रियंका गान्धीले दिल्लीमा निकै कम र्याली गरे । जसरी भोटर कयौँ रणनीतिका साथ भोट गर्छन्, त्यस्तै राजनीतिक पार्टीहरु पनि रणनीतिका साथ चुनाव लड्छन् । कांग्रेसको पारम्परिक भोट यसपटक आम आदमी पार्टीलाई गयो । र सो पार्टी दिल्लीको नयाँ कांग्रेस बन्यो ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *