सेक्ष पर्यटन पत्रकारिता पुरस्कार तीन पत्रकारलाई

फागुन १६, धरान । सेछ ट्राभलिङले २०७१ सालदेखि प्रदान गर्दै आएको सेछ पर्यटन पत्रकारिता पुरस्कार यस वर्ष तीन जना पत्रकारलाई प्रदान गरिने भएको छ । प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राईको प्रमुख आतिथ्यतामा शनिवार साँझ धरानमा सो पुरस्कार प्रदान गरिन लागिएको हो ।

२०७४ सालदेखि वितरण गर्न रोकिएको पुरस्कार एकै पटक पर्यटन विषयमा कलम चलाउने तीन जना पत्रकारलाई प्रदान गर्न लागिएको हो । २०७४ सालको पुरस्कार दिनेश गजमेरलाई, २०७५ सालको पुरस्कार गिरिराज बाँस्कोटालाई र २०७६ सालको पुरस्कार विराट अनुपमलाई प्रदान गर्न लागिएको हो । गजमेर हाल कोशीपत्र दैनिक र जनता टेलिभिजनमा आबद्ध छन् भने, बाँस्कोटा पाँचथरलाई कार्यक्षेत्र बनाइ नागरिक दैनिकका स्थानीय संवाददाता हुन् । राससको अंग्रेजी भाषामा समाचार लेख्ने विराट स्वतन्त्र रहेर कलम चलाउने गर्दछन् । टुर न्यूज मासिक पत्रिकामा हिमाल र पूर्वको पर्यटनबारे उनको सशक्त लेख आउने गर्दछ ।

२०६८ सालमा धरानमा स्थापना भएको सेछ ट्राभलिङले पूर्व क्षेत्रको पर्यटनलाई व्यवसायिकरण गर्ने प्रयास गरिरहेको छ । पर्यटन विषयमा स्नातकोत्तर गरेर व्यवसाय शुरु गरेकी एलिना मगर यसकी सञ्चालक हुन् । मगर नेपाल भ्रमण वर्ष २०२० की प्रदेश नं. १ की सचिवालय सदस्य र सुनसरी उद्योग वाणिज्य संघकी कार्यकारी सदस्य पनि हुन् ।

सेछले धरानलाई केन्द्र बनाइ पूर्वको पर्यटनको देश विदेशमा प्रचार र प्रवर्धन गर्दै आएको छ । भारतको कोलकाता, सिलिगुढी, सिक्किम, दार्जिलिङ, जयगाउँ, पटना, पूर्णिया, कटिहारलगायतका सहरमा सेछले प्रवर्धन गरिरहेको छ । भुटानको थिम्पु, पारो र पुनाखासम्म यहाँको प्रचारमा सेछले प्रयास गरेको छ ।

यहाँको पर्यटन उन्नयनमा सघाउ पुर्याउने हेतुले पर्यटनमा कलम चलाउने पत्रकारहरुलाई वर्षेनी सम्मान गर्दै आएको हो । यसअघि २०७१ सालमा रोहित राई, २०७२ सालमा गोपाल दाहाल र २०७३ सालमा भैरव आङ्लालाई सो पुरस्कार प्रदान गरिएको थियो । पुरस्कारको राशी जनही १० हजार रुपैयाँ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *