२७ बैंकको नाफा पौने ३३ अर्ब, अपेक्षित व्यवसाय नबढ्दा नाफा खुम्चियो

फागुन २, काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २७ वाणिज्य बैंकले ३२ अर्ब ७५ करोड रुपैयाँ खुद नाफा कमाएका छन्  । अपेक्षित रूपमा व्यवसाय बढ्न नसक्दा दोस्रो त्रैमाससम्म पनि न्यून नाफा देखिएको छ ।   

अघिल्लो आर्थिक वर्षको पुससम्म २९ प्रतिशत बढेको बैंकहरूको खुद नाफा यस वर्ष साढे ६ प्रतिशतमा सीमित भएको हो । अपेक्षित रूपमा व्यवसाय बढ्न नसक्दा सञ्चालन मुनाफामा कमी आउनु, कर्जा र निक्षेपबीचको ब्याजअन्तर (स्प्रेड) घट्नु, सञ्चालन खर्च बढ्नुलगायत कारण नाफा वृद्धिदर खुम्चिएको छ । अघिल्ला वर्षहरूमा उच्च दरले मुनाफा कमाइरहेका बैंकहरू चालु आवको सुरुदेखि नै एकल अंकको वृद्धिदरमा सीमित छन् ।   

यो आवको पहिलो त्रैमासमा बैंकहरूको खुद नाफा करिब ५ प्रतिशत मात्र बढेको थियो  । ०७५ पुससम्म यी बैंकहरूको खुद नाफा ३० अर्ब ७५ करोड रुपैयाँ थियो  । पछिल्ला त्रैमासहरूको अवस्था हेर्दा बजारमा उच्च नाफाको अवस्था नरहेको बैंकरहरू बताउँछन्  । 

गत पुससम्म बैंकको नाफा वृद्धिदर कम देखिए पनि १६ वटा बैंकले १ अर्बभन्दा बढी नाफा कमाएका छन्  । तीमध्ये राष्ट्रिय वाणिज्य, नबिल र एनआईसी एसिया बैंकले २ अर्ब रुपैयाँभन्दा बढी नाफा कमाएर धेरै नाफा गर्ने बैंकहरूमा क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थान ओगटेका छन्  । सञ्चालनमा रहेका २७ वाणिज्य बैंकमध्ये आठ बैंकको नाफा घटेको छ भने बाँकीको बढेको छ  । 

गत वर्षको दोस्रो त्रैमाससम्म १५ वटा बैंकले अर्बभन्दा बढी नाफा कमाएका थिए  । गत वर्ष पुससम्म ९८ करोड २० लाख रुपैयाँ नाफा कमाएको सानिमा बैंकले यो वर्षको सोही अवधिमा अर्बभन्दा बढी नाफा कमाएपछि १६ बैंकको नाफा अर्बभन्दा बढी भएको हो  ।  

बाँकी ११ बैंकको खुद नाफा अर्ब रुपैयाँभन्दा कम छ  । धेरै नाफा आर्जन गरेका राष्ट्रिय वाणिज्य बैंक र दोस्रो स्थानमा रहेको नबिल बैंकको नाफा गत वर्षभन्दा घटेको छ  । तेस्रो स्थानमा रहेको एनआईसी एसिया बैंकको भने नाफा बढेको छ  । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *