कोरोना भाइरस : चीनबाहिर दोश्रो संक्रमितको मृत्यु
माघ २१, एजेन्सी । चीनबाट फैलिएको कोरोना भाइरस संक्रमणबाट हङ्कङबाट एक व्यक्तिको मृत्यु भएको छ । क्वी चुईस्थित प्रिन्सेस मार्गरेट अस्पतालमा ३९ वर्षीय एक पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।
योसहित कोरोना भाइरसका कारण चीनबाहिर दुई जनाको मृत्यु भएको छ । यसअघि चीनको वुहानबाट फिलिपिन्स पुगेका एक चिनियाँ नागरिकको त्यहाँ उपचारका क्रममा ज्यान गएको थियो ।
साउथ चाइना मर्निङ पोस्टले हस्पिटलका अधिकारीलाई उद्धृत गर्दै मंगलबार बिहान एक व्यक्तिको मृत्यु भएको जनाएको छ । ज्यान गुमाउने व्यक्तिको परिचय भने खुलाइएको छैन । पत्रकार सम्मेलन गरेर यसबारे विस्तृतमा जानकारी दिने त्यहाँका सरकारी अधिकारीको तयारी छ ।
समाचारमा जनाइअनुसार, कोरोनाको संक्रमणले मुटु फेल हुँदा ती व्यक्तिको ज्यान गएको हो । उनी आमासँगै हङकङको वामोपा गार्डेनमा बस्दै आइरहेका थिए । उनीबाटै आमामा पनि संक्रमण सरेको पाइएको छ ।
यसैबीच सोमबारसम्म चीनमा सो संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ४ सय २५ पुगेको छ । सोमबार मात्र थप ६४ जनाले यस भाइरसको संक्रमणबाट ज्यान गुमाएका थिए । यस भाइरसबाट संक्रमित हुनेको सङ्ख्या २० हजार ४ सय ३८ पुगेको छ ।
यो भाइरसको संक्रमण दुई दर्जन बढी देशमा फैलिसकेको छ । चीनबाहिर १५० जनाभन्दा बढीमा यस भाइरसको संक्रमण देखिएको छ ।