सरकारलाई ढाँट्दै निजीमा काम गर्ने चिकित्सक वीपीको उपकुलपति हुने दाउमा
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
![](https://www.makalukhabar.com/wp-content/uploads/2021/01/nophoto.png)
माघ १९, काठमाडौं । असाधारण विदा लिएर निजी अस्पतालमा कार्यरत एक चिकित्सकलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति बनाउन प्रधानमन्त्री स्वयं लागेको खुलेको छ ।
सरकारी सेवामै रहेर लामो विदा लिएर झापा स्थित विएण्डसी अस्पतालमा काम गरिरहेका प्रा.डा. गेहनाथ बराललाई उपकुलपति बनाउन प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको मनसाय देखिएको छ ।
राज्यलाई नै धोका दिएर निजी अस्पतालमा काम गर्दै आइरहेका डा. बराललाई पूर्वकै रेफरल सेन्टर वीपी प्रतिष्ठानको उपकुलपति बनाउँदा प्रतिष्ठान झन रसातलमा पुग्ने सरोकारवालाहरुको भनाई छ । विराटनगर स्थित कोशी अञ्चल अस्पतालमा कार्यरत रहेका डा. बरालले स्वास्थ्य सेवा ऐन अनुसार आफ्नो जागिर अवधिभर पटक पटक गरी तीन वर्ष असाधारण घर बिदा लिन पाउँछन् । तर, उक्त विदामा निजी अस्पतालमा काम गर्न नपाउने प्रावधान हुँदा हुँदै बरालले सरकारी नियमलाई बेवास्ता गर्दै विएण्डसीमा जागिर खाइरहेका छन् ।
डा. बराल स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतका ११ औं तहका कर्मचारी हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कर्मचारीले पनि असाधारण विदा लिएर निजी अस्पतालमा काम गर्न नपाउने प्रावधान हुँदाहुँदै डा.बरालले विएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंको आड भरोसामा जागिर खाइरहेका छन् । विएण्डसीका सञ्चालक प्रसाईं र प्रधानमन्त्री ओलीको निकटताको फाइदा डा. बरालले लिएका छन् । उनलाई वीपी प्रतिष्ठानको उपकुलपति बनाउन दुर्गा प्रसाईंको समेत स्वार्थ लुकेको जानकारहरु बताउँछन् ।
विएण्डसीलाई मेडिकल कलेजको सम्बन्धन दिलाउन चिकित्सा शिक्षा आयोगका रजिष्ट्रार श्रीकृष्ण गिरीले २० करोड घुस मागेको भन्दै अभिब्यक्ति दिँदै चर्चामा आएका प्रसाईं विश्वविद्यालयको क्रममा रहेको वीपी प्रतिष्ठानमा आफु अनुकुलका ब्यक्ति ल्याउन चाहन्छन् ।
स्वास्थ्य मन्त्रालयले समेत बरालले निजी अस्पतालमा काम गरेको खोजविन गर्ने हिम्मत देखाएको छैन । ‘आफ्ना चिकित्सक को कहाँ के गरिरहेका छन्, राज्यले खोज्ने कुरा हो । डा. बरालले असाधारण विदा लिएर निजी अस्पतालमा काम गरेको भए त्यो नियमावली विपरित हुन्छ ।’ मन्त्रालयका उपसचिब तहका कर्मचारी भन्छन् ।
डा. बराललाई प्रतिष्ठानमा उपकुलपति बनाएर पठाउँदा वीपी प्रतिष्ठानमा अझ भ्रष्टाचार मौलाउने स्वयं प्रतिष्ठानका चिकित्सकहरु बताउँछन् । ‘उहाँको दक्षता आफ्नो ठाउँमा छ, तर राज्यलाई नै ढाँटेर निजीमा काम गर्ने चिकित्सकले प्रतिष्ठानको हित गर्न सक्दैनन् ।’ प्रतिष्ठानका एक सिनियर चिकित्सक भन्छन् ।
डा. बराल विवादित ब्यक्ति समेत हुन । उनी स्वयं सरकारी चिकित्सक भएपनि सरकारी अस्पतालहरुकै आलोचना गर्ने गर्छन् । गत महिना पनि उनले सरकारी अस्पतालको सेवा सुविधामा प्रश्न उठाउँदै आलोचना गरेका थिए ।
विएण्डसीले एक महिना अघि तीन सय वेडको क्यान्सर अस्पताल सञ्चालनमा ल्याउँदा डा. बरालले आयोजित कार्यक्रममा सार्वजनिक रुपमा नै काठमाडौं थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको आलोचना गरेका थिए । सरकारी चिकित्सक भएर निजी क्षेत्रमा काम गरेका डा. बरालको अभिब्यक्तिलाई कसैले नोटिस गर्न सकेनन् ।
पद र पैसाका लागि लागिपर्ने डा. बराल प्रधानमन्त्रीकै गृह जिल्लाका भएकाले त्यसको फाइदा लिन खोजिरहेका छन् । अहिले उपकुलपतिको लागि डा. बरालले नेकपाका झापा, मोरङका ठूला नेताहरुलाई अगाडी सारेका छन् । उनले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आवेदन दिइसकेका छन् । उपकुलपतिका लागि गठित सर्च कमिटीले सार्वजनिक सुचना प्रकाशित गरेरै आवेदन माग गरेपछि उनी वीपीको उपकुलपति हुन दौडिएका हुन् । यस अघि उनी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सको उपकुलपतिको दौडमा थिए ।
प्रधानमन्त्रीले न्याम्समा बराललाई ल्याउन चाहेपनि तत्कालित सत्ता साझेदार समाजवादी पार्टीका अध्यक्ष तथा तत्कालीन उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले अस्विकार गरेका थिए । पछि न्याम्समा उपेन्द्र यादवकै पक्षका डा. डिएन साहलाई नियुक्ति दिइएको थियो । वीपी प्रतिष्ठानको उपकुलपति हुन स्वास्थ्य मन्त्री भानुभक्त ढकालको संयोजकत्वमा गठित सर्च कमिटीले आवेदन माग गरेपछि डा. बरालसहित १६ जनाले निवेदन दिएका छन् ।
वीपी प्रतिष्ठानको उपकुलपति हुनका लागि वीपी प्रतिष्ठान भित्रबाट ८ जना र बाहिरबाट डा. बरालसहित ८ जनाको आवेदन परेको छ ।
वीपी प्रतिष्ठानका उपकुलपति डा. राजकुमार रौनियार आठ लाख घुस रकम सहित पक्राउ परेपछि निलम्वनमा छन् । प्रतिष्ठानका वहालवाला रजिष्ट्रार तुलबहादुर श्रेष्ठ सहित पूर्वपदाधिकारी र लेखा शाखाका कर्मचारीसमेत भ्रष्टाचारको मुद्दा खेपिरहेका छन् ।
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)