गाँउ पालिकाकाे ट्रयाक्टर प्रयोग बिहिन, ट्रयाक्टर चालक कार्यालय सहयाेगी

माघ १७ कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकाले खरिद गरेको ट्रयाक्टर प्रयोग बिहिन बनेको छ । फोहरमैला संकलन तथा ब्यवस्थापनका लागि गाउँपालिकाले गत आर्थिक बर्षमा १२ लाख लागतमा ट्रयाक्टर खरिद गरेको थियो । काम नहुँदा खरिद गरिएको ट्रयाक्टर ईलाका प्रहरी कार्यालय परिषर भित्र खुल्ला आकाश मुनी थन्काईएको छ । ट्रयाक्टरको सुरक्षाका लागि ट्रष्ट समेत निर्माण गरिएको छैन । 

ट्रष्ट नहुँदा ट्रयाक्टरमा पानीले समस्या निम्ताउने चिन्ता बढेको चालक अर्जुन ढुंगाना बताउँछन । ट्रयाक्टर थन्किएपछि चालक पदमा नियुक्त भएका ढुंगाना हाल कार्यालय सहयोगीको काम गरिरहेका छन । उनी सहित गाँउपालिकाको कार्यालयमा ५ जना कार्यालय सहयोगी छन् । स्थानीय तहको निर्वाचन भए सँगै सरसफाई लाई महत्व दिएकाे बताउँने गाँउपालिकाले तीन वर्षमा पनि फोहर ब्यवस्थापन गर्न सकेको छैन । सरकार तथा सरोकारवालाको लापर्वाहीका कारण बजार क्षेत्रको फोहर ब्यवस्थापन हुन सकेको छैन भने ब्यवस्थापनका लागि खरिद गरिएका यन्त्र समेत थन्किएका छन ।   

फोहर ब्यवस्थापनका लागि काम गर्न खोज्दा डम्पिङ साईड निर्माणका लागि जग्गा अभाव हुँदा समस्या भईरहेको गाउँपालिका प्रमुख बलिराम डगौरा थारुले बताए । हाल वडा नम्बर १ मा रहेको राजकुला सामुदायिक वन सँग फोहर संकलन केन्द्रका लागि जग्गा उपलब्ध गराउने बिषयमा छलफल चलिरहेकाले चाँडै समस्याको टुंगो लाग्ने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन सिंह कार्कीको भनाई छ । 

फोहर ब्यवस्थापनको अभावमा बिशेष गरी बौनिया र मुडा बजार क्षेत्र दुर्गन्धित बन्दै गएको छ । फोहर ब्यवस्थापनको नाममा सरोकारवालाले डस्बिन समेत बितरण नगरेको स्थानीय ब्यापारीहरु बताउँछन । फोहर ब्यवस्थापन नहुँदा ब्यापारीहरुले घर तथा पसल अगाडी संकलित फोहरहरु जलाएर नष्ट गर्ने गरेका छन । यसरी प्लाष्टिक र रबर जन्य फोहरहरु जलाउँदा बायुमण्डल तथा मानिसको स्वास्थ्यमा प्रतिकुल असर पार्ने भएपनि गाउँपालिका, बजार ब्यवस्थापन र सरोकारवालाहरु मौन छन । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *